वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले प्राधिकरणले विद्युत् कटौती गरेसँगै कोरिडोरका उद्योगले आफ्नो क्षमताअनुसार उत्पादन गर्न नसकेको बताएका छन् । “पछिल्लो एक महिनादेखि नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज-पथलैया औद्योगिक कोरिडोरमा अवस्थित उद्योग प्रतिष्ठानमा विनासूचना विद्युत् कटौती गर्दै आएको छ,” उनले भने,“पर्सा-बारा औद्योगिक कोरिडोरका उद्योगहरुले विभिन्न समस्या खेपिरहेकै बखत विद्युत् कटौतीको समस्या झेल्नु पर्दा उद्योगीहरु मर्कामा परेका छन् ।”
यसैबीच, सङ्घले आज प्रेस विज्ञप्ति जारी गरेर अघोषित लोडसेडिङका कारणले उद्योगधन्दा सञ्चालनमा अप्ठेरो परेको जनाएको छ । “विद्युत् कटौतीको बेला डिजेल प्लान्टबाट उद्योग सञ्चालन गर्नुपर्दा उत्पादन लागत बढ्न गई उद्योगहरुले आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै गएका छन् । त्यस्तै साना उद्योगहरुले विद्युत् कटौतीको बेला डिजी सञ्चालन गर्न सक्ने अवस्था नभएकाले उद्योग नै बन्द राख्नुपर्ने अवस्था रहेको छ”, विज्ञप्तिमा उल्लेख छ ।
सङ्घले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित औद्योगिक फिडरमा २४ घण्टामा १४/१५ पटकसम्म ट्रिपिङ भइरहेको कारण औद्योगिक उपकरण बिग्रनाका साथै कच्चापदार्थ नोक्सान भएको जनाएको छ । अध्यक्ष अग्रवालले विद्युत्को समस्यालाई तत्कालै सम्बोधन गर्न प्राधिकरणसँग माग गरे, ।
“हिउँदे याममा प्रत्येक वर्ष विद्युत् आपूर्तिमा समस्या आएकाले यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ,” अध्यक्ष अग्रवालले भने, “अहिले औद्योगिक कोरिडोरमा भएको लोडसेडिङको समस्यालाई तत्कालै समाधान गर्न वैकल्पिक व्यवस्था गर्न माग गर्दछौँ ।”
नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले साँझको पिकआवरको समयमा केही समय विद्युत् कटौती हुँदै आएको जानकारी दिए । “साँझको पिकआवरको समयमा दुई/चार घण्टा विद्युत् कटौती हुँदै आएको छ,” उनले भने,“हामीले सकेसम्म विद्युत् कटौतीको समस्यालाई सम्बोधन गर्ने प्रयास गरिरहेका छौँ ।”
वीरगञ्ज-पथलैया औद्योगिक कोरिडोरमा गर्मीयाममा दैनिक तीन सय मेगावाट विद्युत्को माग हुने गर्छ । तर अहिले घरासयी ग्राहकको विद्युत्को माग घटे पनि औद्योगिक क्षेत्रमा केही समयका लागि कटौती गर्नुपर्ने बाध्यता छ । अहिले यो कोरिडोरमा दैनिक दुई सय मेगावाट विद्युत्को माग छ । (रासस)
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्ने गरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
एक सातामै सुन तोलामा ५४ सय रुपैयाँ बढ्यो
नेपाल– बङ्गलादेश व्यापार : आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित वर्षा हुने
२८,५०० मेगावाट उत्पादनको बाटोमा हिंडिसकेपछि 'टेक एण्ड पे' ल्याउनु गम्भीर त्रुटी : ऊर्जामन्त्री खड्का
‘टेक एण्ड पे’ विद्युत् खरिदबारे अर्थसँग समन्वय गरी आवश्यक निर्णय लिइने : ऊर्जा मन्त्री