बाढीले माडीबास सिँचाइ आयोजना क्षतिग्रस्त
जलसरोकार
काठमाडौं– केही दिनयताको अविरल वर्षापछि आएको बाढीका कारण जिल्लाका विभिन्न ठाउँमा निर्माणाधीन योजनामा क्षति पुर्याएको छ। यसै क्रममा चौदण्डीगढी नगरपालिका–२ माडीबासस्थित निर्माणाधीन सिँचाइ कुलोमा पनि बाढीले क्षति पुर्याएको छ।
असार सुरुदेखि भएको लगातारको वर्षापछि आएको बाढीले माडीबास खोला मुहान गरेर निर्माणाधीन ‘देवीथान–माडीबास–जोरबाटो सिँचाइ आयोजना’ मा क्षति पुर्याएको हो। उपभोक्ताका अनुसार बाढीले देवीथानमुनि मुहान थापेर निर्माण भइरहेका सिँचाइ कुलोको तार जाली बाँध भत्काउनुका साथै ढुंगा, गिटी बालुवा बगाएको हो।
निरन्तर २४ घन्टा लामो वर्षापछिको बाढीले गत ६ गते राति मुहानको बाँध भत्काउनुका साथै निर्माणाधीन कुलो पुरेर क्षति पुर्याएको आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक राईले बताए। उनका अनुसार बाँध भत्काउँदा ८० टिप ढुंगा बगाएर भरेको जालीसमेत बगाएको छ भने कुलो ढलानका लागि जग खनेर जाली भर्दै गरेको दुई सय मिटर कुलो (नाला) पनि पुरेको छ। त्यसैगरी कामका लागि राखिएको गिटी, बालुवा, ढुंगालगायत बन्दोबस्तीका सामग्री पनि बाढीले बगाएको राईले बताए।
वैशाख ६ गतेको योजना सम्झौताअनुसार असार मसान्तभित्र सक्ने गरी द्रूत गतिमा निर्माण भइरहेको काममा बाढीले क्षति पुर्याएपछि राज्य र उपभोक्ता दुवैलाई नोक्सान पुगेको छ। समितिका अनुसार बाढीले पाँच लाख ६० हजार मूल्यबराबरको ढुंगा गिटी, बालुवा र जाली बगाएको छ भने कामदार जनशक्तिलाई दिनुपर्ने पारिश्रमिक ज्यालासमेत गरी १० लाख बढी नोक्सान भएको छ।
स्थानीयले वर्षौंदेखि माग गर्दै आएअनुसार प्रदेश सांसद राजन किराती (बासु) को पहलमा सो क्षेत्रका किसानको खेतमा सिँचाइ गर्ने उद्देश्यले योजना सञ्चालनमा ल्याइएको हो, तर निर्माणको अन्तिम चरणमा आइपुग्दा बाढीले भत्काएर नष्ट गरेपछि उपभोक्ता किसान हिस्सिन पुगेको उपभोक्ता राजेन्द्र चामलिङले बताए।
स्थानीय युवा तथा नेकपा ९माओवादी केन्द्र० चौदण्डीगढी नगर अध्यक्ष दिनेश बायुङका अनुसार सो आयोजनाअन्तर्गत मुहानमा ७० मिटर बाँधसहितको कुलो तथा चार सय ७० मिटर लामो पक्की कुलोको संरचना बनाउनुपर्ने सम्झौता छ। प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमातहत सिँचाइ विकास डिभिजन कार्यालय उदयपुरको रेखदेखमा भइरहेको सो योजना ४५ लाख लागत मूल्यको हो।
निर्माणाधीन बाँध भत्काएपछि पुनर्निर्माणका लागि स्थानीयले प्रदेश सरकारसँग थप बजेट माग गरेका छन्। असार मसान्त (साल तमामी) नजिक आइसकेका कारण योजना सम्पन्न गरिहाल्नुपर्ने चटारोमा बाढीको बितण्डाले योजना निर्माणमा समस्या परेपछि सरकारसँग फेरि हारगुहार माग्नुपरेको उपभोक्ताले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साना तथा मझौला व्यवसायको वित्तीय पहुँच विस्तारका लागि विश्व बैंकको १३ अर्ब ७७ करोड रुपैयाँ सहयोग
-
सुनको मुल्य फेरि उकालो, तोलामा २ लाख ९० हजार नाघ्यो
-
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
-
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण
-
काठमाडौं उपत्यकामा एलपी ग्यास अभावको हल्ला निराधार, आपूर्ति पर्याप्त रहेको निगमको प्रष्टीकरण
-
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पहाड-हिमालमा वर्षा र हिमपातको सम्भावना