कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

आर्थिक वर्षको पहिलो त्रैमासमा मेची भन्सारको उल्लेखनीय राजस्व वृद्धि

जलसरोकार
सोमबार, कात्तिक ०३, २०८२ | ०९:३३:५७ बजे

 

काठमाडौं: मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिमा राजस्व असुलीको लक्ष्यको ९५ प्रतिशत प्राप्त गरेको छ । पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले साउन, भदौ र असोज महिनामा कुल चार अर्ब ३६ करोड २८ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । उक्त अवधिमा कार्यालयले चार अर्ब १५ करोड २० लाख आठ हजार रुपैयाँ राजस्व असुली गर्न सफल भएको सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी राजस्व आयातित वस्तुको भन्सार महसुलतर्फबाट आएको छ। सो शीर्षकमा एक अर्ब ८० करोड ५३ लाख ७९ हजार ५४९ रुपैयाँ असुली भएको छ। त्यसपछि आयातित सामानको मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ४९ करोड २३ लाख ६४ हजार ३९३, सडक मर्मत तथा सुधार दस्तुरतर्फ १३ करोड १७ लाख १२ हजार, आयात अन्तःशुल्कतर्फ ११ करोड तीन लाख ५९ हजार ९३, निर्यात भन्सार महसुलतर्फ १० करोड ६२ लाख १० हजार १२४ र पूर्वाधार करतर्फ ३९ करोड ५३ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

जेनजी आन्दोलनको असरका बीच पनि भन्सारले असोज महिनामा राजस्व लक्ष्यभन्दा बढी असुली गरेको छ । असोज महिनाको लक्ष्य एक अर्ब ५० करोड ४९ लाख २४ हजार रुपैयाँ रहेकोमा भन्सारले एक अर्ब ५२ करोड २४ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरी लक्ष्यको १०१ प्रतिशत प्राप्त गर्न सफल भएको छ ।

भन्सार कार्यालयका अनुसार राजस्व असुलीमा निरन्तर सुधार देखिएको छ र आगामी महिनाहरूमा पूर्ण लक्ष्य हासिल गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : सोमबार, कात्तिक ०३, २०८२ | ०९:३३:५७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया