कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइए
जलसरोकार
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर, कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा फ्लडलाइटका सबै ६ वटै टावर ठड्याउने काम सम्पन्न गरिएको छ । फ्लडलाइट निर्माण व्यवसायीले आइतबार एकैदिन दुईवटा पोल उठाएपछि कुल ६ वटा पोल ठड्याउने काम पूरा भएको हो ।
रंगशालामा ४५ मिटर र ६० मिटर उचाइका गरी ३०÷३० टनका हाइमास्ट लाइट जडान गरिएका छन्। पोल नम्बर १, ४, ५ र ६ मा फ्लडलाइट आंशिक रूपमा जडान भइसकेको छ भने बाँकी दुई पोलमा अब लाइट जडानको काम सुरु हुने आयोजना प्रमुख चक्रवर्ती कण्ठले जानकारी दिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले गत २३ असोजमा रंगशालाको निर्माण प्रगति अनुगमन गर्नुभएको थियो। दुवै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपिएल) सुरू हुनु अगावै प्यारापेट र फ्लडलाइट जडान पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । हाल प्यारापेट निर्माण कार्य पूरा भइसकेको छ। एनपिएल आगामी १ मंसिरदेखि सुरु हुने तय भएको छ ।
यससँगै सरकारले रंगशालाको गुरुयोजना स्वीकृत गर्दै यस आयोजनालाई राष्ट्रिय प्राथमिकता परियोजना घोषणा गरेको छ । मन्त्रिपरिषद्को ३० असोजको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा गुरुयोजना स्वीकृत गर्दै करिब १० अर्ब रुपैयाँको बजेट सुनिश्चित गरेर दोस्रो चरणको निर्माण अघि बढाउने निर्णय गरेको हो ।
कीर्तिपुरस्थित यो रंगशाला पूर्ण रूपमा सम्पन्न भएपछि नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको खेलकुद आयोजना गर्न सक्ने क्षमतायुक्त मुख्य खेलस्थलका रूपमा विकसित हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली