तिहारमा देशभर लोडसेडिङ हुदैन, ढुक्कसँग बत्ती बालेर उज्यालोको पर्व मनाउनुहोस् : प्राधिकरण
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा देशभर लोडसेडिङ नहुने र उपभोक्ताले ढुक्कसँग जति पनि बत्ती बालेर उज्यालोको पर्व मनाउन सक्ने जनाएको छ ।
प्राधिकरणले तिहारमा बिजुली आपूर्तिको कुनै समस्या नहुनेमा आम उपभोक्तालाई विश्वस्त रहन आग्रह गरेको हो ।
प्राधिकरणका अनुसार तिहारको समयमा उद्योगधन्दा बन्द हुने भएकाले औद्योगिक क्षेत्रमा खपत हुने ठूलो मात्रामा विद्युत् बचत हुन्छ, जसलाई घरायसी प्रयोजनका लागि सहजै आपूर्ति गर्न सकिन्छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार तिहारमा विद्युत् आपूर्तिमा कुनै समस्या आउँदैन । उनले भने, “पहिले तिहारको लक्ष्मी पूजाको समयमा सबैभन्दा बढी लोड हुन्छ भन्ने बुझाइ थियो, तर उद्योगहरू बन्द हुँदा समग्र प्रणालीमा लोड घट्छ । अहिले विद्युत् खेर जाने अवस्था छ, त्यसैले जति पनि प्रयोग गर्न सक्नुहुन्छ।”
ढकालका अनुसार तिहारमा उद्योगहरू बन्द हुँदा दैनिक करिब २०० देखि ३०० मेगावाट बिजुली बचत हुनेछ। उक्त बिजुली सिधै घरायसी उपभोक्तालाई उपलब्ध गराइने भएकाले माग बढे पनि आपूर्तिमा कमी नहुने उनले जानकारी दिए।
प्राधिकरणले प्राविधिक समस्या बाहेक अन्य कारणले बत्ती नजानेमा ढुक्क रहन आग्रह गर्दै, आपूर्तिमा कुनै गडबडी नआओस् भनेर उच्च सतर्कता अपनाइएको जनाएको छ। कुनै स्थानमा फल्ट वा अवरोध देखिए तत्काल मर्मतका लागि विशेष टोलीहरू तयारी अवस्थामा रहने प्राधिकरणले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा