कालीगण्डकी बाँधको छायाँमा माझी-बोटे समुदाय
जलसरोकार
स्याङ्जा : स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माणपछि परम्परागत रूपमा माछा मारेर जीविकोपार्जन गर्दै आएको माझी तथा बोटे समुदायको पेसा संकटमा परेको छ। बाँधपछि बनेको जलाशयमा माछाको मात्रा घट्दै गएपछि र जलयात्रा व्यवसायमा समेत यात्रु अभाव देखिएपछि उनीहरूको आम्दानीको स्रोत कमजोर बन्दै गएको हो।
पहिले कालीगण्डकी र आँधीखोलाको सङ्गम क्षेत्रमा माछा प्रशस्त पाइने र जाल थापेपछि भरिभराउ माछा पाउने अवस्था रहे पनि अहिले बाँध निर्माणसँगै माछाको आवागमन रोकिँदा अवस्था उल्टिएको स्थानीयको भनाइ छ। १४४ फिट उचाइको बाँध बनेपछि तल्लो र माथिल्लो भागबीच प्राकृतिक आवागमन अवरुद्ध हुँदा माछा घटेको उनीहरूको दाबी छ।
मिर्मीका दिलबहादुर बोटेका अनुसार पहिले माछा मारेर घर चल्ने अवस्था भए पनि अहिले जाल थाप्दा खाली हात फर्किनुपर्ने बाध्यता छ। “पहिला माछाले घर चल्थ्यो, अहिले त जाल थाप्दा पनि केही पाइँदैन,” उनले भने, । जीविकोपार्जन संकटपछि उहाँ जलयात्रा (स्टिमर) चालक बने पनि पछिल्लो समय यात्रु घटेकाले त्यो पेसा पनि अस्थिर बनेको उनकाे गुनासो छ।
कालीगण्डकी जलयात्रा मिर्मीदेखि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गम हुँदै सेतीबेनी क्षेत्रसम्म सञ्चालन हुने भए पनि कालीगण्डकी करिडोर तथा आसपासका सडक विस्तारपछि यात्रुहरू जलमार्गको सट्टा सडकमार्ग प्रयोग गर्न थालेका छन्। यसले स्टिमर व्यवसायमा प्रत्यक्ष असर परेको स्थानीय चालकहरूको भनाइ छ।
२०६२ सालदेखि स्टिमर चलाउँदै आएका दिलबहादुर बोटेले अहिले यात्रु अभावका कारण रोजगारी नै संकटमा परेको बताए । उनका अनुसार माछा मार्ने पेसा पनि छैन र स्टिमर व्यवसाय पनि कमजोर भएकाले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था सिर्जना भएको छ।
अर्का स्टिमर चालक मोहन बोटेका अनुसार एउटै स्टिमरमा दुई जना चालक भए पनि यात्रु अभावले आम्दानीमा ठूलो गिरावट आएको छ। “माझी समुदायको उत्थानका लागि राज्यले सोच्नुपर्छ,” उनले भने, ।
स्थानीय जनप्रतिनिधि प्रेमबहादुर बोटेका अनुसार मत्स्य अनुसन्धान केन्द्रले वार्षिक तीन लाखभन्दा बढी माछाका भुरा जलाशयमा छोड्ने गरे पनि वर्षाको बाढीले ती सबै बगाएर लैजाँदा समस्या समाधान हुन सकेको छैन। कालीगण्डकी गाउँपालिका–७ मा मात्र ३८ घरपरिवार माझी र बोटे समुदाय माछा मार्ने पेसामा निर्भर रहेको बताइएको छ।
पालिकाले सो क्षेत्रमा प्राङ्गारिक मल उत्पादन गर्ने योजना बनाइरहेको जनाएको छ। तर स्थानीय समुदायले भने डुङ्गा सयर तथा जलपर्यटनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न दिएमा घरमै बसेर जीविकोपार्जन गर्न सकिने भन्दै सरकारसँग माग गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
झिनो अंकले बढ्याे नेप्से, कारोबार रकममा भने गिरावट
-
कालीगण्डकी बाँधको छायाँमा माझी-बोटे समुदाय
-
समृद्ध नेपाल निर्माणमा जलविद्युत् मुख्य आधार : अध्यक्ष ढकाल
-
सुन प्रतितोला १२ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो
-
माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ आजदेखि खुला, १४ लाख २७ हजार कित्ता शेयर बिक्रीमा
-
नेपाल राष्ट्र बैंकले ल्यायो नयाँ ५०० रुपैयाँको नोट, आजदेखि चलनचल्तीमा आउने