रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्
जलसरोकार
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना जनशक्ति अझै बेपत्ता अवस्थामा रहेका छन् ।
रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलका अनुसार केन्द्रका प्रमुख सन्तोष अधिकारीसहित ५१ जना कर्मचारी र ४२ जना मजदुर बाढीपछि सम्पर्कविहीन भएका हुन् ।
इन्जिनियर पौडेलले बाढीमा आफ्नी श्रीमतीसहित अधिकांश सहकर्मी गुमाउनुपरेको पीडा सुनाए ।
विनाशकारी बाढी आउनुभन्दा दुई दिनअघि काठमाडौंमा अध्ययनरत छोरीको उपचारका लागि काठमाडौं आएका कारण आफू भने जोगिएको पौडेलले बताए । तर, श्रीमतीसहित आफूले काम गरेका अधिकांश सहकर्मी गुमाउनुपर्दाको पीडा अकल्पनीय रहेको उनले बताए ।
बिहान कार्यालय समयभन्दा अघि नै एक्कासि बाढी आएकाले अधिकांश कर्मचारी तथा उनीहरूका परिवार टिमुरेस्थित आवासगृहबाटै बेपत्ता भएको हुनसक्ने पौडेलको भनाइ छ । बाढी आएको समयमा रसुवागढी जलविद्युत् केन्द्रभित्र भने तीन जना कर्मचारी मात्रै रहेको उनले जानकारी दिए ।
त्यस्तै, चिलिमे जलविद्युत् केन्द्रमा पनि त्यसबेला जम्मा छ जना कर्मचारी रहेको जानकारी प्राप्त भएको उनले बताए ।
आयोजनाको सुरुङमा खोजी गर्दा पनि कोही भेटिएनन्
यसैबीच, बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र नेपाली सेनाको उद्धार टोलीले खोजी पूरा गरेको छ । तर, सुरुङभित्र कुनै व्यक्ति फेला नपरेको नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार करिब २५० मिटर लामो सुरुङमा उद्धार टोली २२५ मिटरसम्म प्रवेश गरेर खोजी गरेको थियो । सुरुङभित्र ड्रोनसमेत प्रयोग गरी खोजी गरिए पनि कोही फेला नपरेपछि टोली बाहिरिएको हो ।
बाढीपछि आयोजनास्थलमा ठूलो क्षति पुगेको छ भने आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरसहित ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्
-
राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै