सिँचाइ अभावले किसान चिन्तित
जलसरोकार
महेन्द्रनगर, : मनसुन सक्रिय हुन ढिलाइ हुनुका साथै खडेरीको अवस्था देखिएकाले कञ्चनपुरमा असार मध्यसम्म पनि धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन। सिँचाइ सुविधाको अभाव र पर्याप्त वर्षा नहुँदा जिल्लामा हालसम्म करिब ४५ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष असार १५ सम्म जिल्लामा करिब ६५ प्रतिशत धान रोपाइँ सकिएको थियो। तर यस वर्ष वर्षा ढिलो सुरु भएकाले रोपाइँ प्रभावित भएको हो।
कृषि ज्ञान केन्द्रका प्रमुख धर्म साउँदका अनुसार कञ्चनपुरमा वार्षिक रूपमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। जिल्लामा केही क्षेत्रमा सिँचाइ सुविधा पुगे पनि अधिकांश किसान अझै आकाशे पानीकै भरमा खेती गर्न बाध्य छन्।
उनका अनुसार यस वर्ष वर्षा कम भएकाले रोपाइँमा ढिलाइ भइरहेको छ भने पछिल्ला केही दिनको अत्यधिक गर्मीका कारण जेनतेन रोपिएको धान पनि सुक्न थालेको छ। पर्याप्त वर्षा नहुँदा जमिनमुनिको पानीको सतह घटेकाले बोरिङबाट पानी तानेर सिँचाइ गर्नसमेत कठिनाइ भइरहेको उनले बताए ।
“जमिनमुनि पनि पानीको तह घटिरहेको छ। सिँचाइ सुविधा नहुँदा किसानले धान रोप्न पाएका छैनन्,” प्रमुख साउँदले भने ।
हाल कञ्चनपुरमा महाकाली सिँचाइ आयोजनाको पहिलो र दोस्रो चरणमार्फत भीमदत्त, बेदकोट, बेल्डाँडी र बेलौरी क्षेत्रमा करिब ११ हजार ६०० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध रहेको छ।
यस्तै, राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माणाधीन महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण सम्पन्न भएपछि कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रसम्म गरी करिब ३३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना