४ हेक्टरमा छ वटा सिँचाइ सुविधा विस्तार
जलसरोकार
तनहुँ: जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा थप चार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ । कार्यालयका प्रमुख मोहनराज आचार्यका अनुसार सो अवधिमा छ वटा सिँचाइ आयोजना सम्पन्न भएका छन् ।
हालसम्म तनहुँ जिल्लामा १३ हजार ५८३ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । त्यसमध्ये छ हजार ३४७ हेक्टर क्षेत्रमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख आचार्यले बताएअनुसार जिल्लाको कुल एक लाख ५४ हजार ६०० हेक्टर क्षेत्रफलमध्ये ६५ हजार ६१ हेक्टर खेतीयोग्य जमिन रहेको छ । तर, त्यसमध्ये ५१ हजार ५१० हेक्टरमा मात्रै खेती हुने गरेको र अझै सबै क्षेत्रमा सिँचाइ सुविधा पुग्न बाँकी रहेको छ ।
गत आर्थिक वर्षमा कार्यालयले चार वटा इन्टेक निर्माण, ७ हजार २३३ मिटर क्यानल लाइनिङ, ९ हजार ३१४ मिटर पाइपलाइन विस्तार गरेको छ । साथै, सङ्घीय सरकारमार्फत ४०० मिटर र प्रदेश सरकारमार्फत १९० मिटर तटबन्धन गरिएको छ, जसका कारण १३ हेक्टर जमिन सुरक्षित भएको कार्यालयले जनाएको छ । सो अवधिमा १ हजार ३९० मिटर ग्याविन वाल पनि निर्माण गरिएको छ ।
कार्यालयले सिँचाइ तथा नदी नियन्त्रणका लागि विभिन्न बजेट खर्च गरेको छ । प्रदेश सरकारमार्फत नदी नियन्त्रणका लागि रु ४ करोड ३२ लाख १२ हजार, पहिरो संरक्षणका लागि रु ३३ लाख ८२ हजार, सँचाइ आयोजना निर्माणका लागि रु ८ करोड ९९ लाख ९१ हजार र आपत्कालीन बाढीपहिरो तथा जलस्रोतसम्बन्धी क्षतिग्रस्त संरचना पुनःस्थापनाका लागि रु ३२ लाख २८ हजार खर्च भएको आचार्यले जानकारी दिए ।
यस्तै, विभिन्न आयोजना मार्फत स्थानीयस्तरमा रोजगारी सिर्जना भएको कार्यालयले जनाएको छ । घिरिङ गाउँपालिका–३ स्थित फदुवा छबिसे सिँचाइ आयोजनामा २५ जना, घिरिङ गाउँपालिका–१ स्थित गडीझौरीटार सिँचाइ आयोजनामा ४० जना, म्याग्दे गाउँपालिका–७ स्थित रानीटारी सिँचाइ आयोजनामा १५ जना, ऋषिङ गाउँपालिका–४ स्थित मनादी खोला भिरकोट सिँचाइ आयोजनामा २५ जना, व्यास नगरपालिका–६ स्थित मदीखोला ठूलो कुलो मर्मतमा २० जना गरि यसरी तनहुँमा सिँचाइ सुविधा विस्तारसँगै खेतीमा सहजता पुगेको कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?