जेनजी युवामाथि गोली प्रहार भइरहेकै बेला ऊर्जा मन्त्री खड्काले गरे सिंचाईमा मनोमानी सरुवा
जलसरोकार
काठमाडौं : हिजो सोमबार जेनजी युवामाथि सरकारले गोली प्रहार गरी हत्या गरिरहेकै बेला ऊर्जा तथा सिंचाई मन्त्री दीपक खड्काले सिंचाई सचिव नभएको मौका छोपी नियमविपरीत ऊर्जाका निमित्त सचिव लगाएर सिंचाई विभागमा अनियमित तवरमा व्यापक सरुवा गरेका छन् ।
मन्त्री खड्काले सिंचाई सचिव सरिता दवाडी मलेसियामा आयोजित ‘इन्टरनेशनल कमिसन अन इरिगेशन एण्ड ड्रेनेज’ सम्मेलनमा भाग लिन गएको मौका छोपी व्यापक सरुवा गरेका हुन् ।
मन्त्री खड्काले बबई सिंचाई आयोजनामा राम्रो काम गरेका राजपत्रांकित प्रथम श्रेणीका सुशील देवकोटालाई सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजनामा ललितपुरमा दस दिनअघि सरुवा गरेका थिए । फेरि देवकोटाको ठाउँमा आफ्नो मान्छे राख्न देवकोटालाई विभागको पुलमा राखिएको छ ।
सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना ललितपुरमा प्रथम श्रेणीको दरबन्दी रहेको ठाउँमा सचिव नभएको फाइदा उठाउँदै मन्त्री खड्काले आफ्नो मान्छे राख्न द्वितीय श्रेणीको दरबन्दी कायम गरेका हुन् ।
दस दिनअघि मात्र देवकोटाको सरुवा बबई सिंचाईमा भएको थियो । यसरी सिंचाई सचिव नभएका बखत दरबन्दी नै तलमाथि गर्नुलाई नीतिगत भ्रष्टाचार मानिन्छ ।
हरेक सात दिन, १५ दिन, दुई महिनामा सिंचाईका कर्मचारीहरुलाई यताउता मिल्काउँदै अस्थिरता उत्पन्न गराउँदै आएका मन्त्री खड्काले विभागको नदी तथा जल उत्पन्न विपद व्यवस्थापन महाशाखाका उपमहानिर्देशक डा. सन्तोष कैनीलाई सिंचाई मन्त्रालय तानेका छन् । डा. कैनीको ठाउँमा महाकाली सिंचाई आयोजनामा काम गर्न नसकेको भन्दै तानिएका कुसाङ शेर्पालाई लगेका छन् ।
सात दिनअघि मात्र बागमती सिंचाईंमा पुर्याएका सन्तोष चौधरीलाई हटाएर मन्त्री खड्काले नारायणप्रसाद सुवेदीलाई लगेका छन् । यसैगरी बुटबल सिंचाई तथा जलस्रोत व्यवस्थापनका शम्भु पण्डितलाई हटाई उनको ठाउँमा दिनेश पौडेललाई लगिएको छ ।
सिंचाईं तथा जलस्रोत व्यवस्थापन आयोजना चितवनका चक्रविक्रम सिंह थमौती भएका छन् ।
हाल ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालय सचिवविहीन छ । ऊर्जा सचिव सुरेश आचार्य गत भदौ १४ गते सेवा निवृत्त भएपछि ऊर्जामा निमित्त सचिव चिरञ्जीवी चटौतलाई दिइएको छ । निजामती सेवा ऐन र नियमावलीअनुसार द्वितीय श्रेणीको कर्मचारीको सरुवा सचिवले गर्ने गर्छ । तर निमित्त सचिवलाई कुनै पनि कर्मचारीको सरुवा गर्ने अधिकार हुँदैन ।
मन्त्री खड्काले एक वर्षको अवधिमा सिंचाई विभागको महानिर्देशक चारपटक फेरिसकेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना