पर्यटकीयस्थल हम्पालमा विद्युतीकरण
जलसरोकार
पर्वत, : धार्मिक एवम् पर्यटकीयस्थल कालाञ्जर हम्पाल लेकमा विद्युतीकरण गरिएको छ । जिल्लाको सबैभन्दा उच्च स्थानमा अवस्थित जलजला गाउँपालिका–५ र ६ को सिमानामा रहेको यस क्षेत्रमा सोमबार विद्युत् जडान गरिएको हो ।
जलजला र मोदी गाउँपालिकाको संयुक्त लगानी तथा नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रको प्राविधिक सहयोगमा विद्युत् जडान गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिएका छन् ।
जलजला गाउँपालिकाका उपाध्यक्ष आचार्यले बत्ती बालेर विद्युतीकरणको शुभारम्भ गरेका हुन् । हम्पाल क्षेत्रको अन्य भागमा पनि विद्युतीकरण भइरहेको उनले बताए । समुद्री सतहदेखि तीनहजार तीन सय मिटरको उचाइमा अवस्थित कालञ्जर हम्पाल क्षेत्र धार्मिक एवं प्राकृतिक रुपमा सुन्दर पर्यटकीयस्थलको रुपमा परिचित छ । पछिल्लो समय यहाँ पर्यटन पूर्वाधारसमेत निर्माण गर्न थालिएको छ । हम्पाल क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सङ्घीय, प्रदेश र गाउँपालिकाले संयुक्त रुपमा पूर्वाधार निर्माण थालेका हुन् ।
पर्यटकका लागि आश्रयस्थल, भ्यूप्वाइन्ट, खानेपानी, शौचालय निर्माण र सडक स्तरोन्नति गरिएको हो । विद्युत् सुविधा पुगेपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि हुने यहाँ होटल सञ्चालन गर्दै आउनुभएका टीकाबहादुर पुनले बताए । “विद्युत नहुँदा पर्यटक बास बस्न मान्दैन थिए, अब हम्पालमै पर्यटकलाई बास राख्न सकिन्छ”, उनले भने, ।
हम्पाल र जलजलालाई पर्यटकीयस्थलका रुपमा विकास गर्न करिब रु एक अर्ब लागत अनुमानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले हम्पाल लेकमा भ्यूप्वाइन्ट, शौचालय, सन्त बस्ने कुटी निर्माण गरेको थियो । सङ्घ र प्रदेशबाट विनियोजित रु २०/२० लाखबाट उक्त पूर्वाधार निर्माण भएका हुन् ।
यसैगरी गत आवमा निर्माणधीन भवन बनाउन गाउँपालिकाबाट रु १४ लाख ५० हजार विनियोजन गरी भवनलाई पूर्णता दिइएको पालिकाका इन्जिनियर सुनिल बाँनियाले जानकारी दिए । यहाँबाट हिमशृङ्खला, सूर्योदय, सूर्यास्त र मनोरम पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ । धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, पुथा, माछापुच्छ«े मनास्लुलगायत १६ भन्दा बढी हिमालका साथै पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ सम्मको भूगोल अवलोकन गर्न सकिन्छ ।
यस क्षेत्रमा नीरमसी, पाँचआँैलो सतुवालगायत बहुमूल्य जडीबुटीका साथै कालो मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपक्षी पाइन्छ । लालीगुराँसको जङ्गल रहेको हम्पालमा ठूलो मैदान छ । सोही मैदान सम्याएर तलाउ बनाउने योजना गाउँपालिकाको छ । मोदी गाउँपालिकाले पनि यहाँ पदमार्ग र पर्यटकीय पूर्वाधार निर्माण थालेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारबाट लखेटिएको जल तथा ऊर्जा आयोगलाई ‘नलेज सेन्टर’ बनाइने
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो
-
आर्थिक वर्ष २०८२/८३ मा ३,२११ मेगावाट क्षमताका ९९ जलविद्युत् आयोजनाले पाए सर्वेक्षण अनुमति