प्राधिकरण अन्तर्गतको आयोजना विकास विभागले देशभरि १ सय ५६ पम्प स्टोरेज आयोजनाको पहिचान गरेको थियो ।
त्यसमध्ये ४२ हजार मेगावाटका ३३ आयोजना छनोट र स्तरीकरण गरिएको छ । रुकुम (पश्चिम) स्थित स्यार्पु तालमा ३ सय ३२ मेगावाटको पम्प स्टोरेज आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिई सम्भाव्यता अध्ययन भइरहेको छ ।
६ सय ७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले पनि २ सय मेगावाटको पम्प स्टोरेज आयोजना अध्ययन गरिरहेको छ ।
काठमाडौं उपत्यका एवं विद्युत् भार केन्द्र नजिकै, पहुँच सडक, प्रसारण लाइन लगायत सम्पूर्ण पूर्वाधार सुगमता रहेको धादिङ बेनिघाट रोराङ र चितवन इच्छाकामना गाउँपालिकामा पर्ने हुग्दी र मोवा खोलामा करिब १ हजार ५ सय ९६ मेगावाटको हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । आयोजना विकास विभागले हाल आयोजनाको डेस्क अध्ययन गरिरहेको छ ।
आयोजनाका लागि हुग्दी (माथिल्लो क्षेत्र) र मोवा (तल्लो क्षेत्र) खोलामा क्रमशः करिब ४५ र १ सय ३ मिटर अग्लो बाँध बनाइ दुइटा जलाशय निर्माण गरिने छ । विद्युतगृह मोवा खोलामा रहने छ । हुग्दी खोलाको जलाशयमा भण्डार भएको पानी प्रयोग गरी विद्युत् उत्पादन गरिने छ ।
विद्युत् उत्पादनपछि मोवा खोला (तल्लो जलाशय) मा भण्डारण भएको पानीलाई पम्प गरी पुनः हुग्दी खोला (माथिल्लो जलाशय) मा खसालिने छ । आयोजनालाई विद्युत् बढी माग हुने समय (पिक) मा ६ घण्टा पूर्णक्षमतामा चलाउन सकिने गरी डिजाइन प्रस्ताव गरिएको छ ।
पम्प स्टोरेज आयोजनामा विद्युत् न्यूनतम माग भएको (अफ पिक) अथवा ऊर्जा न्यूनतम मूल्य भएको समयमा पानी पम्पले तानेर नदीको माथिल्लो भागमा बनाइएको जलाशयमा भण्डारण गरिन्छ ।
यसरी, भण्डार गरिएको पानीलाई पिक अथवा बढी मूल्य भएको समयमा प्रयोग गरी विद्युत् उत्पादन गरिन्छ ।
विद्युत् प्रणाली स्थिरता, पिक डिमान्ड एवं खपत गरी बढी भएको विद्युत् (सरप्लस इनर्जी) व्यवस्थापन र ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजनालाई महत्त्वपूर्ण मानिन्छ ।
अफ पिक समयमा पम्प गरी भण्डारण गरिएको पानी प्रगोगमार्फत पिक समयमा विद्युत् उत्पादन गरी आन्तरिक रूपमा खपत गर्ने र सरप्लस इनर्जीलाई भारततर्फ पिकमा महँगोमा बिक्री गर्न सकिन्छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विभागका निर्देशक नसिबमान प्रधान लगायत सहभागी टोलीले शनिबार धादिङ र चितवनमा पर्ने हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजना स्थलगत निरीक्षण गरी त्यस क्षेत्रको अवस्थाबारे जानकारी लिएको छ ।
कार्यकारी निर्देशक घिसिङले भौगोलिक अवस्थिति, वातावरणीय तथा समाजिक अवस्था, उक्त स्थलसम्म पुग्न आवश्यक पहुँच पूर्वाधारको सुगमता, उत्पादित विद्युत् प्रवाहका लागि प्रसारण लाइनको उपलब्धता र विद्युत् भार केन्द्रभन्दा नजिक रहेकाले प्रारम्भिक अध्ययनबाट अन्य आयोजनाका तुलनामा हुलिङटार–दुकिम आयोजना निर्माणका लागि आकर्षक देखिएको बताए ।
आयोजनालाई पहिलो चरणमा करिब ५ सय १० मेगावाटमा निर्माण गर्ने र क्रमशः बढाउँदै पूर्णक्षमताको बनाउन सकिने उनले उल्लेख गरे ।
‘यो आयोजना निर्माणलाई प्राथमिकतामा राखी सर्वेक्षण अनुमतिपत्र लिने प्रक्रिया तत्काल अगाडि बढाइने छ,’ उनले भने ।
आयोजनाबाट वार्षिक करिब ३ अर्ब ३६ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाको प्रतिमेगावाट लागत करिब ५ लाख ८७ हजार अमेरिकी डलर (करिब ७ करोड ७५ लाख रुपैयाँ) लाग्ने अनुमान छ ।
नेपालको निर्वाचित फासीवादी सरकारले क्रूरता प्रदर्शन गर्यो: गोली, अश्रुग्यास र संलग्नताले मौन बनाइएको राष्ट्र
उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह
सुनको मूल्य तोलामा १ लाख ८० हजार रुपैयाँ नाघ्यो
भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशत
काठमाडौँको आकाशबाट बादल फाट्न केही दिन लाग्ने
उद्योग वाणिज्य महासङ्घ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर