सिंचाईंको महशुल नबुझाउने पालिकाको प्राधिकरणले काट्यो लाइन, मर्कामा किसान
कृषि मिटरको बाँकी बक्यौता करोड भन्दा माथि
जलसरोकार
सिरहा: सिरहाको धनगढीमाई नगरपालिकाले किसानले प्रयोग गरेका कृषि मिटरको विद्युत महशुल समयमा नबुझाउँदा नेपाल विद्युत प्राधिकरणले लाइन काट्न सुरु गरेको छ । गहुँ सिंचाई गर्ने मुख्य समयमा कृषि मिटरको लाइन काटिएछि किसान समस्यामा परेका छन् ।
नगरपालिकाले दुई वर्षअघिदेखि नगरका किसानको विद्युत महशुल तिर्ने जिम्मा लिएको थियो । तर, लामो समयदेखि पालिकाले महशुल नतिरेपछि बाध्य भएर ठूला मिटरको लाइन काट्न सुरु गरिएको नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख अवधेश गुप्ताले बताए । उनले भने,“हामीले अहिले तीनओटा ठुला कृषि मिटरको लाइन काटेका छौँ । नगरको सम्पूर्ण कृषि मिटरको बाँकी बक्यौता करोड भन्दा माथि छ । महशुल उठाउनको लागि लाइन काट्नुको विकल्प हामीसँग छैन ।”
सिंचाई मिटरको लाईन काटिँदा वडा नं. ८ का सयौं किसान मर्कामा परेका छन् । “किसानले लगाएको गहुँमा सिंचाई गर्नु पर्ने समयमा विद्युतको लाईन काटियो । अहिले सिंचाइँ गर्न समस्या भईरहेको छ”, स्थानीय किसान योगेश सिंहले भने,“नगरपालिकाले विद्युतको महशुल तिर्न सक्दैन भने जिम्मा लिनु हुन्न थियो । विनाकारण किसानले दुःख पाईरहेका छन् ।”
उनले यहाँ रहेको सामुहिक कृषि सिंचाई मिटरको रु दुई हजार दुई सय महशुल पुगेपछि प्राधिकरणले लाईन काटेको जानकारी दिए । उनले भने,“पालिकाले जिम्मा नलिएको भए हामी नियमित रुपमा महशुल बुझाउँथ्यौं । अहिले २२ हजार महशुलमात्र हैन, त्यसमा लाग्ने जरिवाना र पुनः जडान खर्च समेत किसानले बेहोर्नु पर्ने अवस्था आयो ।” एउटै मोटरले यस क्षेत्रका ५० विगहाभन्दा धेरै जमिन सिंचाई गर्दै आइरहेका उनले जानकारी दिए ।
समयमा विद्युतको महशुल नबुझाउँदा किसानमात्र हैन पालिका पनि आर्थिक मारमा परेको नगर कृषि संयोजन समितिका संयोजक समेत रहेका वडा नम्वर १ का अध्यक्ष सूर्यनारायण यादवले बताए । “पालिकाले किसानको विद्युत महशुल तिर्ने जिम्मा लिएपछि समयमा तिर्नु पर्ने हो । समयमा महशुल नतिर्दा जरिवाना बेहोर्नु पर्ने अवस्था भएको छ । त्यसोहुँदा नगरले विनियोजन गरेको बजेटभन्दा महशुल रकम धेरै उठेकोले शुल्क बुझाउन समस्या भएको हो ।”अध्यक्ष यादवले पालिकाले चालु आर्थिक वर्षमा कृषि विद्युत महशुल बुझाउन ४५ लाख विनियोजन गरेको छ । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा पालिकाले २० लाख रुपैयाँ विद्युत प्राधिकरणमा बुझाएको थियो ।
विनियोजित बजेट र उठेको महशुल रकमको तालमेल नमिल्दा समस्या भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ्गले बताए । उनले भने,“नगरसभाले योजना बनाएरमात्र भएन, त्यसमा कति बजेट विनियोजन भएको छ भन्ने मुख्य कुरा हुन्छ । बजेट र भुक्तानी गर्नुपर्ने महशुलको तालमेल मिलिरहेको छैन । आजै बस्ने कार्यपालिका बैठकमा यस विषयमा छलफल गरि निकास निस्कन्छ ।” (रासस)
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साना तथा मझौला व्यवसायको वित्तीय पहुँच विस्तारका लागि विश्व बैंकको १३ अर्ब ७७ करोड रुपैयाँ सहयोग
-
सुनको मुल्य फेरि उकालो, तोलामा २ लाख ९० हजार नाघ्यो
-
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
-
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण
-
काठमाडौं उपत्यकामा एलपी ग्यास अभावको हल्ला निराधार, आपूर्ति पर्याप्त रहेको निगमको प्रष्टीकरण
-
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पहाड-हिमालमा वर्षा र हिमपातको सम्भावना