इन्धन अभावका कारण ग्रामीण क्षेत्रमा गुइँठाको बढ्दो प्रयोग, वैकल्पिक ऊर्जाका रूपमा स्थापित हुँदै
जलसरोकार
रौतहट: इन्धन अभाव र आर्थिक अवस्थाका कारण जिल्लाका ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाका रूपमा गोबरबाट बनेको गुइँठाको प्रयोग बढ्दै गएको छ । यहाँका ग्रामीण भेगका नागरिकले खाना पकाउनका लागि परम्परागत चुलोमा गुइँठा प्रयोग गर्दै आएका छन् । विशेषगरी आर्थिक अवस्था कमजोर भएका, विपन्न तथा दलित समुदायका परिवारले गुइँठालाई भरपर्दो इन्धनका रूपमा प्रयोग गर्दै आएका हुन् ।
वनजङ्गल घट्दै जाँदा दाउराको अभाव बढेको र ग्यास महँगो भएको कारण गुइँठाको प्रयोग बढेको बृन्दावन नगरपालिका–१ का स्थानीय अदित्यकुमार रजकले बताए । उनका अनुसार ग्यास महँगो भएकाले धेरै परिवारले गाईभैँसीको गोबरबाट गुइँठा बनाएर दैनिक रूपमा प्रयोग गर्दै आएका छन् ।
त्यसैगरी बृन्दावन–३ का प्रमोद यादव ले गुइँठाको आगोले खाना छिटो पाक्ने र धुवाँ कम निस्कने भएकाले तराई–मधेसका गाउँघरमा यसको प्रयोग बढी भएको बताए । गोबरमा भुस, पराल तथा मकैको ठठेरो मिसाएर सुकाएर गुइँठा बनाइने र यो सस्तो तथा सहज इन्धनका रूपमा लोकप्रिय बन्दै गएको उनले बताए ।
गढीमाई नगरपालिका–८ का अशोक यादवका अनुसार दाउराको अभाव र बढ्दो इन्धन संकटका कारण गुइँठा भरपर्दो विकल्प बनेको छ । उनले गुइँठालाई दिगो वैकल्पिक ऊर्जा स्रोतका रूपमा व्यवस्थित रूपमा प्रवद्र्धन गर्न सकिए ग्रामीण भेगमा ग्यास र दाउरामा निर्भरता घटाउन सकिने धारणा राखे ।
स्थानीय तहहरूले ग्यास चुलो वितरण गरे पनि व्यवहारमा धेरै परिवारले गुइँठाकै प्रयोग गरिरहेका छन् । मौलापुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, कटहरिया नगरपालिका, गुजरा नगरपालिका र परोहा नगरपालिका लगायतका स्थानीय तहले ग्यास चुलो वितरण गरे पनि अधिकांश घरमा अझै गुइँठाको प्रयोग कायम छ ।
त्यस्तै, चन्द्रपुर नगरपालिका ले करिब दुई हजारभन्दा बढी विद्युतीय चुलो वितरण गर्ने तयारी गरेको छ । नगरप्रमुख सञ्जयकुमार काफ्ले का अनुसार प्रतिवडा रु दुई सयको दरले विद्युतीय चुलो वितरण गर्ने योजना छ र त्यसका लागि आवेदन संकलन समेत भइसकेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य