एक वर्षमा सिंचाईं विभागका चार महानिर्देशक फेरिसकेका मन्त्री खड्काले भने, ‘लक्ष्य भेटिने गरी सिँचाइ क्षेत्रको विकासमा लागौं ।’
जलसरोकार
काठमाडौँ : हरेक दुई, तीन महिनामा सिंचाईं विभागका महानिर्देशक, उपमहानिर्देशक, आयोजना प्रमुख र कार्यालय प्रमुखहरु सरुवा गरेर कर्मचारी वृत्तमा आतंक मच्चाएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्य पूरा हुने गरी सिँचाइ क्षेत्रको विकासमा प्रतिबद्ध भएर लाग्नुपर्ने बताएका छन्।
जलस्रोत तथा सिँचाइ विभागको चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठीमा मंगलबार बोल्दै मन्त्री खड्काले स्थायी सरकारका रूपमा रहेका कर्मचारीहरू जनताप्रति उत्तरदायी भएर नतिजा दिनेगरी काममा जुट्नुपर्ने आवश्यकता औँल्याए।
"जनताप्रति उत्तरदायी भएर मुलुकलाई सम्झेर परिणाममुखी ढंगले काम गरौँ," मन्त्री खड्काले भने।
उनले वर्षेनि ठूलो ऋण लिएर राष्ट्रिय गौरवका आयोजना अघि बढाइँदा समयमै निर्माण सम्पन्न नहुँदा राज्यलाई थप आर्थिक बोझ पर्ने स्थिति सिर्जना भएको उल्लेख गर्दै, निर्धारित समयमा आयोजनाहरू सम्पन्न गर्नतर्फ विशेष ध्यान दिन आग्रह गरे।
मन्त्री खड्काले हालसम्म देशभर २५ लाख हेक्टर सिँचाइ योग्य क्षेत्रमध्ये १५ लाख ८६ हजार हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको जानकारी गराउँदै, हरेक वर्ष १४ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यले ढिलो हुने स्पष्ट पारे।
"कम्तीमा पनि हरेक वर्ष १ लाख हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्नुपर्छ," एक वर्षमा विभागका चारजना महानिर्देशक फेरिसकेका मन्त्री खड्काले जोड दिए।
उनले जिम्मेवार पदमा बसेकाहरूको कार्यप्रति प्रश्न उठ्नु स्वाभाविक भएकाले निर्धारित समयमा लक्ष्य प्राप्तिमा केन्द्रित हुन सबैलाई निर्देशन दिए।
समीक्षा गोष्ठीमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले विभागले दिगो र भरपर्दो सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले काम गरिरहेको उल्लेख गरे। उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा विभागले ८९.१५ प्रतिशत भौतिक प्रगति र ८१.२८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।
गत आर्थिक वर्षमा विभागको कुल बजेट ३३ अर्ब ५ करोड रुपैयाँमध्ये २६ अर्ब ८६ करोड रुपैयाँ खर्च भएको जानकारी दिइयो। सो अवधिमा ५० किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण र ४७० हेक्टर जग्गामा माटो उकास गरिएको विभागले जनाएको छ।
विभागअन्तर्गतका ६ वटा राष्ट्रिय गौरवका आयोजनाबाट दुई लाख ८७ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा र ८२.७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएकोमा हालसम्म ६६ हजार ७१० हेक्टरमा सिँचाइ सुविधा पुर्याइएको तथा ४.७१ मेगावाट विद्युत् उत्पादन भएको विवरण पनि सार्वजनिक गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
तामाकोशी-५ को ठेक्का टुंगियो: ५.३२ अर्बमै इलेक्ट्रो-मेकानिकल काम, आयोजना कार्यान्वयनतर्फ
-
ऊर्जा क्षेत्रमा तत्काल गर्नुपर्ने कामहरू
-
याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड
-
देशभर सामान्य मौसम, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
-
२२ अर्ब बढीको संस्थापक सेयर सूचीकृत गरिदिन इप्पानको माग