डोल्पामा ३२८ मेगावाट क्षमताको जलाशययुक्त भारबुङ जलविद्युत् आयोजना निर्माण हुने
जलसरोकार
काठमाडौँ, : डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल ३२८ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया अगाडि बढाएको छ ।
डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा आयोजना निर्माण हुने र भारबुङ नदी तथा तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ । जलाशययुक्त प्रकृतिको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको छ ।
विवरणअनुसार भारबुङ नदीमा ३२५ मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण हुनेछ भने तातु खोलाको १.१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीमार्फत प्रयोग गरी थप ३.१० मेगावाट क्षमताका दुईवटा प्रणालीबाट विद्युत् उत्पादन गरिनेछ ।
आयोजनाबाट डोल्पाको छार्का ताङसोङ गाउँपालिका–४ र ५ तथा काईके गाउँपालिका–१ का भूभाग प्रभावित हुनेछन् । छार्का ताङसोङ गाउँपालिका–४ मा १६९ मिटर अग्लो बाँध, ७६६ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक संरचना र करिब १६ किलोमिटर लामो हेडरेस सुरुङ निर्माण गरिनेछ । सोही गाउँपालिका–४ र काईके गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह तथा पानी निकास नहर निर्माण हुने जनाइएको छ ।
आयोजनाको जलाशयका कारण छार्का ताङसोङ गाउँपालिका–५ का केही भूभाग डुबानमा पर्नेछ । आयोजनाका दुवै प्रणालीबाट वार्षिक ९३३.१९ गिगावाट–घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । आयोजनास्थल डोल्पाको जुफाल विमानस्थलबाट करिब १२ किलोमिटर दूरीमा रहेको छ ।
आयोजनाबाट उत्पादित विद्युत् प्रस्तावित दुनै सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । आयोजनाको कुल लागत करिब १ खर्ब ३ अर्ब ३१ करोड ९ लाख ३१ हजार रुपैयाँ रहने अनुमान गरिएको छ । प्रतिमेगावाट लागत २८ करोड ५० लाख ९३ हजार ९८० रुपैयाँ रहेको छ ।
कास्कीमा ३२ मेगावाटको करुवा सेती आयोजना
यसैबीच, कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ३२ मेगावाट क्षमताको करुवा सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । भ्यामोलोङ्गा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रवद्र्धन गर्न लागेको उक्त आयोजनाका लागि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले सार्वजनिक सूचनामार्फत आवश्यक सुझाव र सल्लाह माग गरेको छ ।
हेडरेस सुरुङको लम्बाइ घट्नु, पेनस्टक पाइपको लम्बाइ बढ्नु तथा विद्युत्गृह क्षेत्र स्थानान्तरण भएपछि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अगाडि बढाइएको हो । आयोजना अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्नेछ ।
यसअघि स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजनाअनुसार अन्नपूर्ण संरक्षण क्षेत्रभित्र ९.६५ हेक्टर वन क्षेत्र र ०.९५ हेक्टर निजी स्वामित्वको जग्गा प्रयोग गर्न स्वीकृति दिइएको थियो । थप जमिन आवश्यक परेकाले मन्त्रालयले सरोकारवालाबाट सुझाव माग गरेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम र सवारी आयातमा निर्भर, छ महिनामा रु १ खर्ब १६ अर्ब सङ्कलन
-
मनाङमा ३० मेगावाटको म्यार्दी जलविद्युत् आयोजना बन्ने
-
देशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना, तराईमा हुस्सु रहने पूर्वानुमान
-
आगामी आव २०८३/८४ को बजेट तयारी सुरु, चालू खर्च नियन्त्रणमा जोड
-
साताको पहिलो दिन सेयर बजार १०.२५ अंकले घट्यो
-
काठमाडौँ उपत्यकाको वायु प्रदूषण ‘अस्वस्थ’ तहमा