धान रोप्न आधुनिक मेसिनले कृषि कार्य सहज बन्दै
जलसरोकार
काठमाडौं– धान रोप्ने आधुनिक मेसिनले कृषि कार्य सहज हुन थालेको छ । आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन् ।
मेसिनद्वारा धान रोपाइँ गर्न ट्रेमा बीउ उमार्ने काम भइरहेको हो । धानको उत्पादन वृद्धि गरी किसानको आयस्तरमा वृद्धि गर्न ध्रुवतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले प्रधानमन्त्री आधुनिकीरण परियोजना एकाइ कार्यालय कञ्चनपुरसँग सहकार्य गरी ५० प्रतिशत अनुदानमा मेसिनद्वारा धान रोपाइँ गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।
सहकारीका अध्यक्ष लालबहादुर ऐरका अनुसार २५ बिघा जग्गामा ‘राइस ट्रान्सप्लान्ट’ मेसिनको प्रयोग गरी धान रोपाइँ गर्नका लागि बीउ राख्नसँगै खेत तयार गर्ने काम भइरहेको छ । 'पहिलोपटक आधुनिक मेसिनको प्रयोग गरी धान रोपाइँ गर्न लागेका छौँ', अध्यक्ष ऐरले भने, 'पन्तनगरको सर्जु ५२ जातको धानको बीउ प्लाष्टिको ट्रेमा तयार गरेका छौँ ।'
मेसिनद्वारा धान रोपाइँ गर्ने किसानलाई धानको बीउसँगै पाँचवटा पावरटिलर, पाँचवटा मिनीटिलर, विषादी, जिङ्क, जाइम, पोषकतत्व, चारवटा रिपर, चारवटा हिलेचक्कालगायत ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको उनले बताए ।
परियोजनाअन्तर्गत रु १२ लाख र सहकारीको रु १२ लाख गरी रु २४ लाख रकममा लागत साझेदारी गरिएको छ । स्थानीय किसान केशव जोशीले नौलो अनुभवसहित मेसिनद्वारा धान रोपाइँ गर्ने कार्य गर्न लागेको बताए । 'मेसिनले धान रोपाइँ गर्दा लागत खर्चमा निकै कमी आउने अपेक्षा गरेका छौँ', उनले भने, 'धान रोपाइँका लागि रोपाहा खोज्ने झन्झट हुँदैन, सहज रूपमा धान रोपाइँ गरी उत्पादनमा वृद्धि हुने विश्वास छ ।'
बीउ तयार गर्न भने केही मेहनत गर्नुपरेको उनले उल्लेख गरे । नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले नगरपालिका क्षेत्रमै पहिलोपटक मेसिनको सहायताले धान रोपाइँ हुन लागेको बताए । 'किसानले आधुनिक तरिकाले धानखेती गरे उत्पादन बढ्ने निश्चित छ', उनले भने, 'धानखेतीमा लाग्दै आएको लागत खर्च घट्ने भएकाले किसानलाई फाइदा पुग्छ ।'
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै