चार वर्षको घाटापछि माथिल्लो तामाकोसी नाफामा, सीइओ रञ्जित भन्छन्– अब ‘ब्रेक–इभन’ टाढा छैन
जलसरोकार
काठमाडौं : लगातारको हाइड्रोलोजी पेनाल्टी, चर्को ब्याजदर र अर्बौं रुपैयाँ ऋणको दबाब झेलिरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना अन्ततः वित्तीय सुधारतर्फ उन्मुख भएको छ । उत्पादन स्थिर हुनुका साथै ऋणको ब्याजदर घटाउने वित्तीय पुनर्संरचनाबाट राहत पाएपछि आयोजना सञ्चालनमा आएको चार वर्षपछि पहिलोपटक नाफामा गएको हो ।
माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) पूर्ण गोपाल रञ्जितका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले करिब ४० करोड रुपैयाँ नाफा कमाएको छ । उनका अनुसार यसअघि आर्थिक वर्ष २०७७/७८ देखि आयोजना निरन्तर हाइड्रोलोजी पेनाल्टीको मारमा पर्दै आएको थियो ।
“चैत–वैशाखमा कन्ट्र्याक्टेड इनर्जी कहिल्यै पुग्दैनथ्यो, जम्मा ५०–६० प्रतिशत मात्रै उत्पादन हुन्थ्यो,” रञ्जितले भने, “यसपालि भने कन्ट्र्याक्टेड इनर्जी बराबरकै उत्पादन भयो । त्यसैले कुनै पेनाल्टी लागेन ।”
उनका अनुसार आयोजनाले विगत चार वर्षमा मात्रै करिब १ अर्ब रुपैयाँ हाइड्रोलोजी पेनाल्टी तिरेको थियो । वार्षिक औसत २५ करोड रुपैयाँ पेनाल्टी तिर्दै आएको कम्पनीलाई यसपालिको उत्पादन सुधारले ठूलो राहत दिएको उनले बताए ।
नेपालकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना मानिने माथिल्लो तामाकोसी २०७८ सालदेखि व्यावसायिक सञ्चालनमा आएको हो । नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा स्थापना भएको कम्पनीमा प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थान लगायतको लगानी रहेको छ । कम्पनीको बहुमत स्वामित्व सार्वजनिक संस्थानहरूसँग छ ।
तर आयोजना सञ्चालनमा आएपछि अपेक्षित वित्तीय प्रतिफल आउन सकेको थिएन । ठूलो ऋणभार, उच्च ब्याजदर, उत्पादन अस्थिरता र विदेशी विनिमय जोखिमका कारण कम्पनी लगातार घाटामा थियो । कम्पनीको सञ्चित घाटा अझै करिब १२ अर्ब रुपैयाँ रहेको र कुल ऋण दायित्व ७१ अर्ब रुपैयाँ पुगेको रञ्जितले बताए । त्यसमध्ये ऋणदाता संस्थाहरूको मात्रै करिब ५० अर्ब रुपैयाँ बाँकी छ भने नेपाल विद्युत् प्राधिकरणमार्फत सरकारबाट लिइएको ऋण २१ अर्ब रुपैयाँ रहेको छ ।
उनका अनुसार कम्पनीको अधिकांश आम्दानी अझै सावाँ र ब्याज तिर्नमै खर्च भइरहेको छ । चालु आवमा आयोजनाको वार्षिक आम्दानी करिब १० अर्ब रुपैयाँ पुगे पनि ऋण व्यवस्थापन नै प्रमुख चुनौती बनेको छ ।
यद्यपि, कम्पनीले पछिल्लो समय वित्तीय पुनर्संरचनामा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेको छ । रञ्जितका अनुसार ऋणदाता संस्थाहरूसँगको निरन्तर छलफलपछि वार्षिक ब्याजदर ८.२५ प्रतिशतबाट घटाएर ६.७५ प्रतिशतमा झारिएको छ । उक्त ब्याजदर आर्थिक वर्ष २०८२/८३ देखि २०८४/८५ सम्म तीन वर्षका लागि स्थिर गरिएको उनले बताए ।
“सुरुमा त ब्याजदर ११ प्रतिशतसम्म पुगेको थियो,” उनले भने, “अहिले ब्याजदर घट्दा मात्रै वार्षिक करिब ७५ करोड रुपैयाँ बचत भइरहेको छ । तीन वर्षमा यसबाट करिब २ अर्ब ५० करोड रुपैयाँ जोगिनेछ ।”
कम्पनीले सार्वजनिक गरेका वित्तीय विवरणहरूमा पनि पछिल्ला महिनामा सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनी नाफामा गएको र विद्युत् बिक्री आम्दानी उल्लेख्य बढेको विवरण सार्वजनिक भइसकेको छ ।
रञ्जितका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ मा कम्पनीले करिब २ अर्ब रुपैयाँ नाफा कमाउनेछ भने अबको चार वर्षभित्र ‘ब्रेक–इभन’ अवस्थामा पुग्ने लक्ष्य राखिएको छ ।
उनले २०.६६ मेगावाटको रोल्वालिङ आयोजना समयमै सम्पन्न भए माथिल्लो तामाकोसीको वित्तीय अवस्थामा थप सुधार आउने बताए । उनका अनुसार उक्त आयोजना सञ्चालनमा आएपछि कम्पनीले वार्षिक थप २ अर्ब ५० करोड रुपैयाँ आम्दानी गर्नेछ ।
रोल्वालिङ समयमै सम्पन्न भयो र प्राधिकरणबाट कम्पनीमा कुशल नेतृत्व कायम रह्यो भने चार वर्षभित्र कम्पनी पूर्ण रूपमा नाफामा जान सक्ने देखिन्छ।
वार्षिक १० अर्बको बिजुली बिक्री, तर किन सधैं घाटामा ?
माथिल्लो तामाकोसीले चालु आर्थिक वर्ष २०८२/८३ मा करिब १० अर्ब रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको छ । नेपालकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएकाले आम्दानी पनि ठूलो देखिन्छ । तर त्यही आम्दानीका बाबजुद कम्पनी वर्षौंसम्म घाटामा रहनुको मुख्य कारण अत्यधिक ऋणभार, चर्को ब्याज लागत, हाइड्रोलोजी पेनाल्टी र विदेशी विनिमय जोखिम रहेको देखिन्छ ।
कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार हाल कुल ऋण दायित्व करिब ७१ अर्ब रुपैयाँ छ । त्यसमध्ये दीर्घकालीन ऋण मात्रै ६७ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी रहेको छ । आयोजनाको कुल इक्विटी भने ९ अर्ब ८८ करोड रुपैयाँमा सीमित छ । अर्थात् कम्पनी अझै अत्यधिक ‘डेब्ट–हेभी’ संरचनामा सञ्चालन भइरहेको छ ।
वित्तीय विवरणअनुसार चालु आवको चैत मसान्तसम्म कम्पनीले वित्तीय लागत (फाइनान्स कस्ट) शीर्षकमा मात्रै ४ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको छ । जबकि विद्युत् बिक्रीबाट भएको आम्दानी ७ अर्ब ७१ करोड रुपैयाँ छ । अर्थात् बिक्रीबाट आएको आम्दानीको ठूलो हिस्सा ऋणको सावाँ–ब्याज तिर्नमै खर्च भइरहेको अवस्था छ ।
यसैगरी आयोजनाको निर्माण अवधि लम्बिनु र लागत बढ्नुले पनि कम्पनीको वित्तीय अवस्था कमजोर बनाएको देखिन्छ । कम्पनीले वित्तीय विवरणमै आयोजना निर्माण अवधि लम्बिँदा लागत वृद्धि भएको र त्यसले वित्तीय दायित्व थप चुलिएको उल्लेख गरेको छ ।
विदेशी विनिमय दरको उतारचढाव पनि कम्पनीका लागि अर्को ठूलो चुनौती बनेको छ । वित्तीय विवरणमा विदेशी विनिमय लाभ/हानि शीर्षक राखिनुले ऋण व्यवस्थापनमा मुद्रा जोखिमसमेत असरकारी रहेको देखिन्छ ।
यद्यपि पछिल्लो समय ब्याजदर घटाइनु, उत्पादन स्थिर हुनु र हाइड्रोलोजी पेनाल्टी हट्नुले कम्पनीलाई राहत दिएको छ । कम्पनीका निमित्त सीइओ पूर्ण गोपाल रञ्जितका अनुसार वार्षिक ब्याजदर ८.२५ प्रतिशतबाट घटाएर ६.७५ प्रतिशतमा झारिएपछि मात्रै वर्षमा करिब ७५ करोड रुपैयाँ बचत हुन थालेको छ ।
ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार माथिल्लो तामाकोसीको समस्या ‘उत्पादन’ भन्दा बढी ‘वित्तीय संरचना’ सँग जोडिएको छ । ठूलो ऋणमा बनेको आयोजना भएकाले सुरुआती दशक कम्पनीका लागि सबैभन्दा कठिन हुने र ऋणको दायित्व क्रमशः घट्दै जाँदा मात्रै वास्तविक नाफा देखिन थाल्ने अवस्था रहेको उनीहरूको विश्लेषण छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चार वर्षको घाटापछि माथिल्लो तामाकोसी नाफामा, सीइओ रञ्जित भन्छन्– अब ‘ब्रेक–इभन’ टाढा छैन
-
जलविद्युत् तथा प्रसारण लाइनतर्फका ठूला आयोजना कछुवागतिमा, बुढीगण्डकी अझै निर्माणको प्रतीक्षामा
-
ठूला सिँचाइ आयोजनाको प्रगति मिश्रित, बबईमा ७९ प्रतिशत काम सम्पन्न, महाकालीमा २८ प्रतिशत मात्रै
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल
-
आर्थिक सुधारको संकेत, तर उत्पादन क्षेत्र अझै दबाबमा
-
बैंकिङ क्षेत्रमा जोखिम बढ्दो, खराब कर्जा २२ प्रतिशतले उकालो : राष्ट्र बैंक प्रतिवेदन