भेरी–बबई आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न १३२ केभी प्रसारण लाइन निर्माण हुने
जलसरोकार
सुर्खेत : राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। आयोजनाबाट उत्पादन हुने विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माण गरिएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोडिनेछ।
यसका लागि करिब १.७ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने योजना रहेको छ। भेरी नदीको पानी डाइभर्सन गरी बबई नदीमा झार्ने र त्यसबाट करिब ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाले राखेको छ।
प्रस्तावित प्रसारण लाइनमा नौवटा टावर निर्माण गरिनेछन्। तीमध्ये तीनवटा टावर बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रमा तथा बाँकी छवटा टावर निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जनाइएको छ। प्रसारण लाइनको क्षेत्राधिकार १८ मिटर रहनेछ भने यसबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५ र बर्दिया राष्ट्रिय निकुञ्ज प्रभावित हुनेछन्।
आयोजनाले प्रसारण लाइन निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन तयार पार्ने प्रक्रिया अघि बढाएको छ। यस सम्बन्धमा सरोकारवालासँग आवश्यक सुझाव तथा राय माग गरिएको छ।
आयोजनाको प्रगति ७० प्रतिशत
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत भेरी नदीको पानी १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा खसालिनेछ। आयोजनाबाट बाँके र बर्दियाका झण्डै ५१ हजार हेक्टर जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५७ प्रतिशत पुगेको छ। बाँकी निर्माण कार्य सम्पन्न गर्न अझै करिब तीन वर्ष लाग्ने अनुमान गरिएको छ।
अपेक्षित गतिमा काम अघि नबढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले केही दिनअघि आयोजना स्थलको निरीक्षण गरी निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
आयोजनाको मुख्य सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको छ भने सिभिल, हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल संरचनाको निर्माण कार्य जारी रहेको छ। प्रसारण लाइन निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन तथा पूर्वस्वीकृति प्राप्त गर्ने प्रक्रिया पनि अघि बढाइएको आयोजनाले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना