सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अलपत्र पारिएका सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

जलसरोकार
मंगलबार, पुस ०१, २०८२ | ०९:३०:३७ बजे

 

काठमाडौं : ठेक्का सम्झौता गरे पनि काम नगरी वर्षौँदेखि आयोजना अलपत्र पारिएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएका छन् । ती ठेक्काको कुल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

तोडिएका ठेक्कामध्ये बबई सिँचाइ आयोजनाका ६ वटा, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम (धनुषा) अन्तर्गतका १५ वटा र सुनकोशी मरिन आयोजनाको १ वटा ठेक्का रहेका छन् । यस्तै, भेरी–बबई आयोजनाअन्तर्गत १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ भने जनकपुरधाम कार्यालयअन्तर्गत १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का रद्द गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने र आयोजनालाई रुग्ण बनाउने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई समस्याग्रस्त ठेक्का तोड्न निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि सम्बन्धित कार्यालयहरूले वर्षौँदेखि अलपत्र परेका ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका हुन् ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालका अनुसार हाल विभागअन्तर्गत २१५ वटा चालू ठेक्का छन् । तीमध्ये ३३ वटा ठेक्का समस्याग्रस्त रहेकोमा हालसम्म २२ वटा ठेक्का तोडिसकिएको छ ।

सिँचाइतर्फको सबैभन्दा ठूलो ठेक्का राष्ट्रिय गौरवको आयोजना मानिने सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पनि तोडिएको छ । आयोजनाको बाँध (हेडवक्र्स), विद्युतगृहलगायत सिभिल संरचना, गेट तथा हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडानका लागि निर्माण व्यवसायी पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँग गरिएको ठेक्का सम्झौता रद्द गरिएको हो ।

उक्त आयोजनाका लागि पटेल–रमण जेभीसँग करसहित १४ अर्ब ८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । काममा प्रगति नहुँदा आयोजना लामो समयदेखि अलपत्र अवस्थामा रहेको थियो ।

प्रकाशित मिति : मंगलबार, पुस ०१, २०८२ | ०९:३०:३७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया