काठमाडौँसहित अधिकांश स्थानमा मौसम बदली हुने, सावधानी अपनाउन अनुरोध
जलसरोकार
काठमाडौँ,: आज देशभरका अधिकांश क्षेत्रमा मौसम बदली हुनुका साथै तराईसहित पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।
तराईमा केही दिनदेखि शीतलहरले जनजीवन प्रभावित भइरहेको भन्दै जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ ।
चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले चिसोबाट बच्न विशेष सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।
मौसमविद् लामिछानेले हुस्सु र कुहिरो लागेका बेलामा स्वास्थ्य, कृषि, यातायातलगायत क्षेत्रमा असर पर्ने भएकाले सबैले सावधानी अपनाउनुपर्ने उल्लेख गरे । यस्तो बेलामा न्यानो भएर बस्नुपर्ने, गाडी गुडाउँदा हेडलाइट बालेर हिँड्ने, तातो खानेकुरा खाने, चिसोमा धेरै नहिँड्ने, न्यानो कपडा लगाएर बस्नेलगायत उपाय अपनाउनुपर्ने उनले बताए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार विगत केही दिनदेखि तराईका धेरै स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लागेको र केही स्थानमा दिउँसोसमेत घाम नलागेका कारण तापक्रम घट्न गई चिसो बढेको छ ।
चिसोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव परेको भन्दै यसका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सावधानीका उपायहरू तथा सतर्कता अपनाउन अनुरोध महाशाखाले गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले हुस्सु कुहिरो नियमित अनुगमनसँगै दैनिक बुलेटिन जारी गरिरहेको जनाएको छ ।
आज काठमाडौँसहित मुलुकका अधिकांश स्थानमा मौसम बदली हुँदा हवाई उडानसमेत प्रभावित भइरहेको छ । भोलि र पर्सी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहनुका साथै तराईमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी र उच्च हिमाली क्षेत्रका साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् लामिछानेले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा
-
नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँ नाघ्यो
-
एमएसएमईको पुनरुत्थानका लागि बिमा, कर्जा र नीतिगत सुधार आवश्यक : पूर्वअर्थमन्त्री खनाल