माथिल्लो म्याग्दी निर्माण स्थल पहुँचमार्गले जोडियो
जलसरोकार
म्याग्दी,: माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण स्थल पहुँचमार्गले जोडिएको छ । ३७ मेगावाट क्षमताको उक्त आयोजनाको हाइड्रो इम्पायर प्रालिको प्रवद्र्धक रहेको छ । बाँध, विद्युुत्गृह र सुरुङको अडिट निर्माण स्थल जोड्ने सडक निर्माण भएको हो ।
मालिका गाउँपालिका–७ बिमको भारबाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगर गाउँ नजिकैसम्म करिब २१ किलोमिटर पहुँच निर्माण गर्न सो क्षेत्रमा निर्माणका क्रममा रहेका माथिल्लो म्याग्दी, अपर म्याग्दी १, म्याग्दीखोला जलविद्युत आयोजनाले साझेदारी गरेका छन् ।
माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक जीतबहादुर घर्तीले पहुँचमार्गमा पर्ने म्याग्दी नदीमाथि ५० र ३० मेट्रिकटन क्षमताको दुई वटा बेलिब्रिज जडान भइसकेको जानकारी दिए । पहुँचमार्ग, आवास र सैनिक क्याम्पको भवन, जेनेरेशन लाइन निर्माण सकिएको आयोजनाको सुरुङ, बाँध र विद्युत्गृह निर्माणको तयारी गरेको उनले बताए ।
निर्देशक घर्तीका अनुसार अबको दुई वर्ष छ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सिभिल ठेकेदार परिचालित भइसकेको छ । धवलागिरि गाउँपालिका–४ मा पर्ने सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध, म्याग्दी खोलाको बाँया किनारमा भूमिगत बालुवा थिग्रयाउने पोखरी, हेडरेस सुरुङ बन्ने आयोजनाको विद्युत्गृह म्याग्दी खोला र मुदी खोलाभन्दा एक किलोमिटर माथि प्रस्ताव गरिएको छ ।
तीन किलोमिटर पाँच सय ५३ दशमलव ३३ मिटर लामो सुरुङबाट ल्याइने पानी तीन सय दशमलव ८८ मिटर अग्लो हेडबाट विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिने भएको छ । आउटलेटदेखि विद्युत्गृहसम्म सात सय ९७ दशमलव ९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ ।
आयोजनाका लागि आवश्यक एक दशमलव ६९ हेक्टर निजी जग्गा खरिद गरिएको र तीन दशमलव ६९ हेक्टर सरकारी जग्गा प्रयोग गरेबापत शोधभर्नाको प्रक्रिया अगाडि बढाएको छ । आयोजनाका लागि आवश्यक विष्फोटक पदार्थ खरिदका लागि सम्बन्धित निकायबाट स्वीकृति लिई प्रक्रिया अगाडि बढाइएको प्रबन्ध निर्देशक घर्तीले बताए ।
लगानी जुट्यो
माथिल्लो म्याग्दी निर्माणका लागि सिद्धार्थ बैंक, नेपाल एसबिआइ, सिटिजन्स बैंक, एभरेष्ट बैंक र नवील बैंकले रु पाँच अर्ब ३४ करोड ८८ लाख ९८ हजार लगानी गर्ने सम्झौता भएको छ । बैंकको ब्याजबाहेक आयोजनाको कूल लागत रु छ अर्ब ६९ करोड ९४ लाख ९५ हजार अनुमान गरिएको छ । ब्याजसहित रु सात अर्ब ६३ करोड २९ लाख १४ हजार लागत अनुमान गरिएको आयोजनाकाले १२ वर्षको अवधिमा ऋण तिरिसक्ने योजना बनाएको छ ।
सत्तरी प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहने आयोजना पूरा भएपछि दुई सय १५ दशमलव सात सय १४ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युतगृहदेखि १० दशमलव दुई किलोमिटर दूरीको एक सय ३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत डाडाखेत सबस्टेसनमा जोडिनेछ ।
धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट थप चार वटा आयोजनाले निर्माणको अनुमति पाएका छन् । ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी पहिलोको निर्माण सुरु भएको छ । १४.७० मेगावाट क्षमताको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजना पहुँचमार्ग निर्माणको चरणमा छन् । धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको पाँच वर्षअघि शिलान्यास गरे पनि गति लिन सकेको छैन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एडीबीको आपत्तिले रोकिएको सिँचाइ आयोजना अघि बढाउन मन्त्रालयको नयाँ पहल
-
सिंहदरबारबाट लखेटिएको जल तथा ऊर्जा आयोगलाई ‘नलेज सेन्टर’ बनाइने
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो