म्याग्दीमा सिँचाइको पक्की नहर स्तरोन्नति गरिँदै


म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्ची नहरलाई पक्की बनाउन थालिएको छ । साम्तुङ–सोता सिँचाइ आयोजनाको २०३८ मा निर्माण भएको कच्ची नहरलाई पक्कीमा रुपान्तरण गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पछिल्लो दुई आर्थिक वर्षयता एक किलोमिटरभन्दा बढी पक्की नहर निर्माण गरिएको उपभोक्ता समितिका उपाध्यक्ष सोमबहादुर आलेले जानकारी दिए ।
“४ किलोमिटर कुलोमध्ये गत वर्ष ५ सय ७० मिटर र चालु आर्थिक वर्षमा ५ सय ६५ मिटर पक्की नहर निर्माण भएको छ”, उनले भने, “सोताबाट मुहानतर्फ आगोवाङ भन्ने ठाउँसम्म पक्की नहर बनाइएको छ । थप तीन किलोमिटर बढी पक्की नहर बनाउन आवश्यक छ ।”
साम्तुङ–सोता सिँचाइ आयोजनालाई गण्डकी प्रदेश सरकारले आव २०७९/८० र २०८०/८१ का लागि २०–२० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । मङ्गला गाउँपालिकाको सिमाना भएर बग्ने अर्चेखोलाको मुहानबाट पठाएको पानी सोता पुग्दा सोसिएर थोरैमात्र पुग्ने समस्या भएपछि पक्की नहर बनाउन थालिएको सोतावासी सर्वलाल थापाले बताए ।
यो आयोजनाबाट अर्चेखोला, आगोवाङ, सोतामा एक सयजनाभन्दा बढी किसानको एक हजार रोपनी क्षेत्रफल जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने उनले बताए । गत फागुन महिनादेखि सुरु गरेको नहर निर्माणको सम्झौताअनुसारको काम सकेर सोमबार बिहानदेखि पानी चलाउन थालिएको उपभोक्ता समितिले जनाएको छ ।
पक्की नहर बनेपछि धानको ब्याड राख्न, मकै, गहुँमा सिँचाइ गर्न र समयमै रोपाइँ गर्न पाएको उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर रोकाले बताए । साम्तुङ–सोता सिँचाइ आयोजनालाई पञ्चवर्षीय योजनाका रूपमा पूर्णता दिन गण्डकी प्रदेश सरकारसँग बजेट व्यवस्थापनका लागि पहल गरेको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए ।
खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालू आवमा जिल्लामा ६० वटा सिँचाइ आयोजना सञ्चालन गरेको छ । अधिकांश आयोजनामार्फत कच्ची कुलोलाई पक्की बनाइएको र पाइप लाइन जडान भएको कार्यालय प्रमुख झलकमोहन ओझाले बताए ।
५८ योजना उपभोक्ता समिति र २ वटा बहुवर्षीय ठेक्कामार्फत कार्यान्यन्वयन गरिएको छ । उपभोक्ता समितिसँग सम्झौता भएका सबै योजना सम्पन्न हुने चरणमा रहेका कार्यालयका सबइन्जिनियर अञ्जन खत्रीले बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेकेदारसँग कार्यतालिका मागेर सुनकोशी-मरिनको काम द्रुत गतिमा अगाडि बढाइने
-
यस्तो थियो दोस्रो योजना (२०१९–२०२३) कालमा नेपालको विद्युत् अवस्था
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुअल फण्ड सार्वजनिक निष्कासनमा
-
राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल
-
यस्तो रहनेछ आजको मौसम, (मौसम शब्दावलीका अर्थसहित)
-
पहिलो आवधिक योजना (२०१३–२०१८) मा विद्युत् : देशको जडित क्षमता २० मेगावाट पुर्याउने लक्ष्य