म्याग्दीमा सिँचाइको पक्की नहर स्तरोन्नति गरिँदै
जलसरोकार
म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्ची नहरलाई पक्की बनाउन थालिएको छ । साम्तुङ–सोता सिँचाइ आयोजनाको २०३८ मा निर्माण भएको कच्ची नहरलाई पक्कीमा रुपान्तरण गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पछिल्लो दुई आर्थिक वर्षयता एक किलोमिटरभन्दा बढी पक्की नहर निर्माण गरिएको उपभोक्ता समितिका उपाध्यक्ष सोमबहादुर आलेले जानकारी दिए ।
“४ किलोमिटर कुलोमध्ये गत वर्ष ५ सय ७० मिटर र चालु आर्थिक वर्षमा ५ सय ६५ मिटर पक्की नहर निर्माण भएको छ”, उनले भने, “सोताबाट मुहानतर्फ आगोवाङ भन्ने ठाउँसम्म पक्की नहर बनाइएको छ । थप तीन किलोमिटर बढी पक्की नहर बनाउन आवश्यक छ ।”
साम्तुङ–सोता सिँचाइ आयोजनालाई गण्डकी प्रदेश सरकारले आव २०७९/८० र २०८०/८१ का लागि २०–२० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । मङ्गला गाउँपालिकाको सिमाना भएर बग्ने अर्चेखोलाको मुहानबाट पठाएको पानी सोता पुग्दा सोसिएर थोरैमात्र पुग्ने समस्या भएपछि पक्की नहर बनाउन थालिएको सोतावासी सर्वलाल थापाले बताए ।
यो आयोजनाबाट अर्चेखोला, आगोवाङ, सोतामा एक सयजनाभन्दा बढी किसानको एक हजार रोपनी क्षेत्रफल जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने उनले बताए । गत फागुन महिनादेखि सुरु गरेको नहर निर्माणको सम्झौताअनुसारको काम सकेर सोमबार बिहानदेखि पानी चलाउन थालिएको उपभोक्ता समितिले जनाएको छ ।
पक्की नहर बनेपछि धानको ब्याड राख्न, मकै, गहुँमा सिँचाइ गर्न र समयमै रोपाइँ गर्न पाएको उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर रोकाले बताए । साम्तुङ–सोता सिँचाइ आयोजनालाई पञ्चवर्षीय योजनाका रूपमा पूर्णता दिन गण्डकी प्रदेश सरकारसँग बजेट व्यवस्थापनका लागि पहल गरेको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए ।
खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालू आवमा जिल्लामा ६० वटा सिँचाइ आयोजना सञ्चालन गरेको छ । अधिकांश आयोजनामार्फत कच्ची कुलोलाई पक्की बनाइएको र पाइप लाइन जडान भएको कार्यालय प्रमुख झलकमोहन ओझाले बताए ।
५८ योजना उपभोक्ता समिति र २ वटा बहुवर्षीय ठेक्कामार्फत कार्यान्यन्वयन गरिएको छ । उपभोक्ता समितिसँग सम्झौता भएका सबै योजना सम्पन्न हुने चरणमा रहेका कार्यालयका सबइन्जिनियर अञ्जन खत्रीले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् निर्माण सरकारकाे प्राथमिकतामा : मन्त्री श्रेष्ठ
-
अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
हेटौँडा औद्योगिक क्षेत्रमा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने