काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलस्थित पर्यटकीय क्षेत्र नगरकोट पुग्ने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हिले जलजले सामुदायिक ‘ख’ वनमा शून्य दशमलव ४९ हेक्टर क्षेत्रफलमा ताल निर्माण गरिएको हो । निर्माण कम्पनी विजय–लोटस–तेजस्वी जेभीका गणेश मोक्तानका अनुसार ओखरे र थुम्की खोला मिसिएर बग्ने स्युरो खोलामा यस तालको बाँध निर्माण गरिएको छ । तालको भौतिक पूर्वाधार निर्माण सकेर ताल वरपर पर्खाल निर्माण गरी पानी जम्मा गरिएको छ ।
ताल निर्माणका लागि निर्माण कम्पनीसँग रु पाँच करोड ८९ लाख ५१ हजारमा ठेक्का सम्झौता भएको थियो । तालसहितका अन्य संरचना निर्माण गर्न रु १६ करोड ९४ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ । निर्माणाधीन पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ र एक सय ८२ मिटर लम्बाइको छ । हाल सम्झौताअनुसार पहिलो चरणको निर्माण सकिएको हो ।
बागमती प्रदेशस्थित पर्यटन मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको थियो । डिपीआरमा तालमा डुङ्गा सञ्चालन तथा ताल आसपासका क्षेत्रमा मनोरञ्जन पार्क, पर्खाल, उद्यानका साथै प्राकृतिक सौन्दर्यीकरण सजावटका काम हुने जनाइएको छ । यस्तै तालमा परिसरमा चराचुरुङ्गी र वन्यजन्तुको संरक्षण गर्ने गरी तालको संरक्षण गर्ने योजना बनाइने छ । ताल क्षेत्र वरपरका रुखमा ‘ट्रि हाउस, ट्रि सेन्टर’ निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्याउने संरचना निर्माण गर्न सकिने जनाइएको छ ।
प्रदेश सरकारले प्राथमिकतामा राखेको उक्त ताल निर्माणपछि दोस्रो चरणमा पार्किङ, होटल तथा पसल सञ्चालनका लागि संरचना, टिकट घरलगायतका अन्य पूर्वाधार निर्माण गरिने गुरुयोजनामा उल्लेख छ । ताल निर्माणपछि सङ्घीय राजधानी काठमाडौँको नजिकको एक पर्यटकीय गन्तव्य तथा धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने अपेक्षा गरिएको छ ।
जिल्लाको उत्तरी पहाडी क्षेत्रमा अवस्थित वनको प्राकृतिक सौन्दर्यलाई कायमै राखी ताल निर्माणका लागि स्थानीय तहलाई तत्कालीन अवस्थामा गुरुयोजना तयार गर्न लगाएको थियो । हाल बहुउद्देश्यीय परियोजनाका रुपमा सञ्चालन हुने उक्त योजनालाई क्रमागतरुपमा लगिएको काभ्रेपलाञ्चोकका सांसद गोकुल बाँस्कोटाले बताउनुहुन्छ । उहाँका अनुसार बनेपाको वासुकी क्षेत्र र हिले–जलजलेलाई पर्यटकीय तथा समृद्धिको आधारको प्रमुख गन्तव्य बनाउन संरचना निर्माण गर्न लागिएको हो ।
सानो पोखरीमा अवस्थित हिले–जलजलेको धार्मिक तथा सांस्कृतिक रुपले पनि महत्वपूर्ण छ । नगरकोटस्थित महादेव पोखरी र हिले जलजले क्षेत्रमा ‘हलाहल विष पिएर आएका महादेव’ चोपलिएको किंवदन्ती छ । यस्तै वासुकी नाग हिले–जलजले क्षेत्रबाट पनौतीको मकर मेलाका लागि जाने विश्वास छ । हरेक वर्ष घुम पूर्णिमा (ज्याःपुन्ही)को दिन पनौतीमा लाग्ने जात्रामा हिले–जलजले क्षेत्रबाट वासुकी नाग जाने क्रममा पानी पर्ने र हावाहुरी चल्छ भन्ने मान्यता छ ।
वासुकी नाग जाँदा हावाहुरीबाट लडेको मकै तथा अन्य खाद्यबाली नाग फर्कंदा पहिलाकै अवस्थामा आउने किंवदन्ती पनि रहेको पाइन्छ । वासुकी नागले पनौतीको भ्रमणका क्रममा पूजाअर्चना गर्दा ‘मागेको पुग्ने’ विश्वास गर्दै आइएको छ । (रासस)
‘चिनियाँ साझेदार’ ऊर्जा मन्त्री खड्काले भारतीय विद्युत् मन्त्री खट्टरसँग कसरी बात मार्लान् ?
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
नेपाल विद्युत् प्राधिकरणले रद्द गर्यो एक अर्बभन्दा बढीको ठेक्का
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
गभर्नर नियुक्ति हुने निश्चित भएपछि निर्देशक डा.गुणाकर भट्टले दिए राजीनामा