आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुबिधा पुर् याउन चुनौती
जलसरोकार
काठमाडौं : ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ आज सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
तत्कालीन सरकारले विसं २००९ सालमा नहर विभाग स्थापना गरी कृषि जमिनमा सिँचाइ व्यवस्थाको सुरुआत गरेपछि त्यसैको सम्झनामा हरेक वर्ष सिँचाइ दिवस मनाउने गरिएको हो। सिँचाइ क्षेत्रको संस्थागत विकास हुँदै नहर विभाग, सिँचाइ तथा खानेपानी विभाग र सिँचाइ तथा जलवायु विज्ञान विभाग हुँदै विसं २०४४ मा सिँचाइ विभाग स्थापना गरिएको थियो।
विसं २०७२ मा नेपालको संविधान जारी भएपछि सिँचाइ विभाग र जलउत्पन्न प्रकोप व्यवस्थापन विभागलाई खारेज गरी विसं २०७५ मा जलस्रोत तथा सिँचाइ विभाग स्थापना गरिएको हो।
नेपालमा सरकारीस्तरबाट निर्माण भएको पहिलो आधुनिक सिँचाइ प्रणालीका रूपमा विसं १९७९ मा सुरु भई १९८५ मा सम्पन्न ‘चन्द्र नहर’लाई लिइन्छ। तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेर जवराको पहलमा निर्माण गरिएको उक्त नहरको प्राविधिक नेतृत्व शाही सेनाका महासेनानी डिल्लीजङ्ग थापाले गर्नुभएको थियो। उदयपुरको त्रियुगा नदीलाई मुख्य स्रोत बनाएर निर्माण गरिएको यो नहरबाट २८ किलोमिटर मूल नहर र विभिन्न शाखा नहरमार्फत सप्तरी जिल्लाका करिब १० हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ भने करिब ३५ हजार किसान परिवार लाभान्वित भएका छन्। जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा नहरका ३२ प्रमुख संरचनाको पुनर्निर्माण तथा सुदृढीकरण समेत भइसकेको छ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर मित्र बरालका अनुसार नेपालमा करिब २५ लाख ३६ हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म करिब १५ लाख ८७ हजार ९१० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भइसकेको छ। अझै करिब १० लाख हेक्टर जमिनमा सिँचाइ पहुँच पुर्याउनुपर्ने अवस्था रहेको उनले बताए ।
नेपालमा कुल कृषियोग्य जमिन ३५ लाख ५७ हजार ७०० हेक्टर रहेको र करिब ६२ प्रतिशत जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा संलग्न रहेको उल्लेख गर्दै महानिर्देशक बरालले दिगो र भरपर्दो सिँचाइ प्रणाली कृषि आधुनिकीकरण, उत्पादन वृद्धि र खाद्य सुरक्षाका लागि अत्यावश्यक रहेको बताए ।
राष्ट्रिय गौरवका आयोजनामा प्रगति
विभागअन्तर्गत हाल छ वटा राष्ट्रिय गौरवका सिँचाइ आयोजना सञ्चालनमा छन्। तीमध्ये कञ्चनपुरको महाकाली सिँचाइ आयोजना, कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजना, बर्दियाको बबई सिँचाइ आयोजना, सुर्खेतको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, बाँकेको सिक्टा सिँचाइ आयोजना र सिन्धुलीको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना रहेका छन्।
ती आयोजनामध्ये केहीमा उल्लेख्य प्रगति भएको विभागले जनाएको छ। सिक्टा सिँचाइ आयोजनाबाट हालसम्म २२ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ संरचना विस्तार भएको छ भने यसको लक्ष्य ४२ हजार ७६६ हेक्टर क्षेत्र सिँचाइ गर्ने रहेको छ। बबई सिँचाइ आयोजनाबाट २७ हजार ३३० हेक्टर क्षेत्रमा सिँचाइ संरचना विस्तार भइसकेको छ भने यसको लक्ष्य ३६ हजार हेक्टर रहेको छ।
त्यसैगरी रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट हालसम्म १४ हजार ३०० हेक्टर क्षेत्रमा सिँचाइ संरचना विस्तार भएको छ भने यसको लक्ष्य ३८ हजार ३०० हेक्टर रहेको छ। महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम पनि अगाडि बढिरहेको विभागले जनाएको छ।
भूमिगत सिँचाइ कार्यक्रम विस्तार
तराई तथा भित्री मधेसका करिब तीन लाख १८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित विभागले तराई–मधेस भूमिगत जल सिँचाइ कार्यक्रम सञ्चालन गरिरहेको छ। उक्त कार्यक्रम तराईका १९ जिल्ला तथा भित्री मधेसका उदयपुर, मकवानपुर, सुर्खेत, चितवन र दाङसहित इलाम र सिन्धुलीमा कार्यान्वयनमा रहेको विभागले जनाएको छ।
भूमिगत सिँचाइ प्रणाली सञ्चालनसम्बन्धी प्राविधिक ज्ञानको अभावका कारण किसानले समस्या भोग्नुपरेको उल्लेख गर्दै विभागले त्यसको समाधानका लागि आवश्यक तालिम र सहजीकरण गरिरहेको जनाएको छ।
गत वर्ष मधेस प्रदेशमा सुक्खा संकट देखिँदा धानबाली जोगाउन विभागले भूमिगत जल सिँचाइमार्फत तत्काल राहत उपलब्ध गराउने प्रयास गरेको थियो। सरकारले गत साउन ६ गते मधेस प्रदेशलाई तीन महिनाका लागि सुक्खा विपद् क्षेत्र घोषणा गरेपछि विभागले आपत्कालीन कार्यक्रम अघि बढाएको थियो।
जलस्रोत संरक्षण र नदी नियन्त्रण
विभागले एकीकृत नदी बेसिन सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यक्रममार्फत २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ। साथै नदी नियन्त्रण, जलस्रोत संरक्षण तथा जलउत्पन्न प्रकोप व्यवस्थापनका काम पनि योजनाबद्ध रूपमा सञ्चालन गरिरहेको जनाएको छ।
हालसम्म विभागले एक हजार ४७७ किलोमिटर तटबन्ध निर्माण, १३ हजार ६७१ हेक्टर जग्गा उकास तथा ६३५ वटा चेकड्याम निर्माण सम्पन्न गरिसकेको जनाएको छ। विभागले निर्माण सम्पन्न भएका सिँचाइ प्रणालीहरूको सञ्चालन तथा व्यवस्थापनमा पनि निरन्तर काम गर्दै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से २८ सय नाघ्यो, कारोबार रकम ८ अर्बभन्दा बढी
-
तत्काल गर्नुपर्ने कामको ‘चेकलिस्ट’ तयार गर्न मन्त्री श्रेष्ठले दिए निर्देशन
-
सिँचाइ आयोजनाहरू अब अलपत्र अवस्थामा नछोडिने : सिँचाइमन्त्री श्रेष्ठ
-
राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
-
नेप्सेले शेयर कारोबारको नयाँ कार्यतालिका सार्वजनिक
-
सुन–चाँदीको मूल्यमा वृद्धि,