मोटरबाटोको लागि १० करोड नदिएपछि १० महिनादेखि रोकियो मध्यभोटेकोशीको काम
जलसरोकार
चौतारा – सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग गरेको पैसा दिन नसकेपछि मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकिएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताल, मोटरबाटोको लागि स्थानीयले रु १० करोड रकम आयोजनासँग माग गरेका छन् । आयोजनाले यति ठूलो रकम उपलब्ध गराउन नसक्ने बताउँदै आइरहेको छ ।
यही कारण प्रसारण लाइनको तार तान्ने काममा अवरोध भएपछि मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाले बाह्रबिसे नगरपालिकालाई रु एक करोड १० लाख र भोटेकोशी गाउँपालिकालाई रु ७० लाख रकम प्रत्येक वर्ष उपलब्ध गराउँदै आएको छ ।
आयोजना कार्यालयबाट आर्थिक वर्ष २०७०/७१ देखि २०८०/८१ सम्म सामाजिक उत्तरदायित्व कार्यक्रममा रु ३२ करोड १८ लाख ९५ हजार एक सय ६५ रकम खर्च भएको जनाइएको छ । १०२ मेगावाटको विद्युत् शक्ति राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने काम अन्तिम चरणमा पुगेका बेला जग्गाधनीबाट विभिन्न माग राखी तार तान्ने काममा अवरोध भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटी बताउँछन् ।
राष्ट्रिय आयोजनामा यसरी अवरोध हुँदा एक महिनामा रु १२ करोड बराबरको घाटा बेहोर्नु परेको सिवाकोटीको भनाइ छ । सामाजिक उत्तरदायित्वको कामका लागि बजेट नदिएपछि स्थानीयवासीले मुआब्जासमेत लिएका छैनन् । आयोजनाको टावरमुनिको जग्गाधनीलाई मुआब्जा वितरण नहुँदा पनि काममा ढिलाइ भएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले कानुन अनुसार मुआब्जा निर्धारण भएकाले प्रभावित जग्गा धनीले मुआब्जा रकम बुझ्नुको विकल्प नरहेको बताए ।
यदि प्रभावितले मुआब्जा रकम नबुझेमा स्वतः राज्य कोषमा रकम दाखिला हुने प्रचलित ऐनमा उल्लेख गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ ।
मध्यभोटेकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत सिवाकोटीले अब मुआब्जा बुझ्न अन्तिम सूचना प्रकाशनको तयारीमा आयोजना पुगेको बताउदै आवश्यक परेको अवस्थामा सुरक्षा स्रोत परिचालन गरेर भए पनि काम अघि बढ्ने दाबी गरे ।
विसं २०८० को चैत मसान्तसम्म मध्यभोटेकोशी जलविद्युत् आयोजनाको निर्माण अवधिको ब्याजसहित रु १९ अर्ब ७५ करोड १९ लाख ५३ हजार खर्च भएको छ । हाल आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ ।
पुस २७ शुक्रबारबाट मध्य भोटेकोशी आयोजनाको परीक्षण सुरु हुने
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा