बिजुलीको लाइन तानियो, बत्ती बल्ने सुरसार छैन


कालीकोट– कालीकोटका ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि लाइन विस्तार भए पनि बिजुली बल्ने सुरसार छैन । जिल्लाका नौ वटै स्थानीय तहमा विद्युत् पुर्याउने लक्ष्यका साथ काम भएको भए पनि हालसम्म बिजुली जोड्ने सुरसार देखिएको छैन । नेपाल विद्युत् प्राधिकरणले कालीकोटका पाँच ठाउँमा सबस्टेसन राख्ने योजना अनुसार काम भइरहेको बताएको छ । कालीकोट वितरण केन्द्रका प्राविधिक जयाप्रसाद पाण्डेले पलाँता र पचालझरनामा विद्युत् लाइन विस्तारको काम भइरहेको बताए ।
उनले अहिले रास्कोट र नाग्मको सबस्टेसनको काम भइरहेको र अन्य ठाउँमा लाइन मर्मत, विस्तार, पोल गाड्ने काम जारी रहेको जानकारी दिए । जिल्ला सदरमुकाम मान्म, रास्कोट, सबस्टेसन नाग्म, रास्कोट, पलाँता गाउँपालिकाको थिर्पु, तिलागुफा नगरपालिकाको धनडा र नाग्म गरी पाँच ठाउँमा सबस्टेसन निर्माण गरिने बताए ।
पचालझरना र पलाँता गाउँपालिका जाने लाइन विस्तार भएको पाँच वर्ष बिते पनि अहिलेसम्म बिजुली आएको छैन । कार्यालयले लाइन विस्तारको काम भएका अन्य ठाउँमा पनि विद्युत् नपुगेकाले सबस्टेसन निर्माणसँगै प्रसारण लाइन निर्माण गर्ने योजना बनाएको थियो ।
२०७८ सालमा राष्ट्रिय प्रसारण लाइन कालीकोट पुगे पनि गाउँमा बिजुली बाल्न पाएका छैनन् । रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र मान्म सदरमुकाममा मात्र सेवा दिन सुरु भएको राष्ट्रिय प्रसारणले लाइन गत वर्षदेखि नरहरिनाथ गाउँपालिका–१, तिलागुफा नगरपालिका–६ र शुभकालिका गाउँपालिकाभित्रका केही बस्तीमा विस्तार गरेको थियो ।
पलाँता गाउँपालिकाका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बमले तत्काल राष्ट्रिय प्रसारण लाइनभन्दा पनि स्थानीय सरकारले जीर्ण रहेका गाउँका ससाना लघु जलविद्युत् आयोजनाको मर्मत गर्नुपर्ने बताउँछन् । पचालझरना गाउँपालिका–७ का कृष्णबहादुर बमले समयमा विद्युत् प्रसारण लाइन सुचारु नहुँदा तानिएका लाइनमा खिया लाग्ने हो कि भन्ने चिन्ता भएको बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
-
खोलामा पर्याप्त पानी हुन थालेसँगै लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
Reinvigorating the Bagmati River-What is Bagmati
-
२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच