जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

प्राकृतिक खेतीमा माटोभित्र र बाहिरको जैविक विविधताको पनि वढाउनुपर्ने अनिवार्यता

ई. रामेश्वर यादव
सोमबार, वैशाख ०१, २०८२ | ०७:००:०० बजे

माटोको उर्बरता बढाउनेबारे यो लेखभन्दा पहिलाको लेखहरुमा विशेष चर्चा गरेको छु । माटोभित्रको जैविक विविधता बढाउनुको साथै माटो बाहिरको जैविक विविधता पनि प्राकृतिक खेतीको लागि बढाउनुपर्छ । प्रकृतिलाई पुनर्जीवित गर्न माटो र बाहिरको जैविक विविधता अनिवार्य रूपले बढाउनुपर्छ ।

 

माटोबाहिरको जैविक विविधता बढाउन गर्नुपर्ने कार्यहरूः
माटोको जैविक विविधता बढाउनुको साथसाथै माटो बाहिरको जैविक विविधता बढाउनु प्राकृतिक खेतीको प्रमुख अंगहरूमध्ये आउँछ । योभन्दा पहिलाका लेखहरुमा हामीले प्राकृतिक खेतीमा सबै रासायनिक विषादि हाल्न बन्द गर्ने छलफल गरिसक्यौं । फसलमा लाग्ने ८० प्रतिशत अनऐरोविक रोग माटोको जैविक विविधता बढाएर नियन्त्रण गर्न सकिन्छ । अन्य २० प्रतिशत एरोबिक रोगलाई दुई प्रकारले नियन्त्रण गर्न सकिन्छ । पहिला कुनै वायो पेष्टिसाइड प्रयोग गरेर र दोस्रो चराचुरुंगीबाट रोग लगाउने कीराहरू खुवाएर बाह्य मित्र कीट पनि हानिकारक कीटलाई मार्ने गर्छ ।
 

अर्गेनिक बुस्टरः 
फसलमा रोग लगाउने बाह्य हानिकारक किटहरुलाई आउन नदिनको लागि अर्गानिक बुस्टरले पनि कार्य गर्दछ । यसको एउटा सफल प्रयोग पनि गरिसकेको छु । 
अर्गानिक बुस्टर बनाउनको लागि गाई, गोरु वा भैंसीको करिब १५ केजी मलमूत्र र १५ केजी निमको पात वा नीमको पात उपलब्ध नभए १० केजी निमको बीऊ (निमौली) वा सो नभए ५ केजी तम्बाकु काटेर पनि २०० लिटरको प्लास्टिकको ड्रममा १५० लिटर राखिएको पानीमा मिसाउनुपर्छ । योसँगै पाँच केजी भेली पनि मिसाउनुपर्छ । प्रत्येक दिन यसलाई एक दुई पटक तल माथि गरि हलाउनु पर्छ । एक हप्तापछि सडेर फर्मन्टेसन भएर उक्त बुस्टर तयार हुन्छ । यो काम किसानहरु सजिलै गर्न सक्नुहुन्छ । यी गाढ़ा द्रव्यबाट एक मग निकाली १५ लिटर पम्पको लागि चाहिने पानीमा मिसाई घोलेर स्थिरिकरण गरि माथिको भाग लाई फिल्टर गरी पम्पमा हाल्नुपर्छ र स्प्रे गर्नुपर्छ यो स्प्रेले कुनै किट मर्दैन तर यी द्रव्य स्प्रे गरेको ठाउँमा यसको गन्धले कुनै पनि किट आउँदैन, तर एकपटक रोग लागिसकेपछि यसबाट रोग नियन्त्रणमा आउँदैन । तसर्थ खासगरी तरकारी फसलमा १५–२० दिनमा स्प्रे गरिराख्नुपर्छ । यी द्रव्य एक महिनाभित्र प्रयोग गरेमा उत्तम मानिन्छ । वायो पेस्टिसाइड बनाउने अनेक विधिहरु छन् । किसानहरुले मनपर्ने बायोपेस्टिसाइड बनाउन सक्नुहुन्छ । यो द्रव्य किटनाशक द्रव्य नभई किट भगाउने द्रव्य हो । आफूले गरिरहेको खेतीअनुसारको अर्गेनिक वुस्टरको मात्रा वनाउनुपर्छ । यी द्रव्यमा पशुको मलम्रत्र ‘फर्मनटेशन’ भएकोले यसको प्रयोग फसलमा गर्दा ह्यूमिक एसिड प्रयोग गरेसरह पनि हुन्छ । जुन फसलको लागि चाहिने आवश्यक पौष्टिक तत्व हो । भारतका कृषि वैज्ञानिक डा. विनोद सचानले यसलाई संजीवनी मलको सज्ञा दिएका छन् ।

 

प्राकृतिक खेतीमा चराचुरंगी र मित्र कीटको आकर्षण र बाह्य जैविक विविधतामा वृद्धि ः 
हाम्रो खेतको माटोमा जैविक विविधता ठीक हुने कारण र रसायनिक विषादिको प्रयोग बन्द भएको कारण एरोविक मित्र कीटहरुको आकर्षण वढ्न थाल्छ । त्यसमा पनि प्रर्याप्त रुख विरुवाको कारण रमणीय वातावरणको कारण मित्र कीटहरु फसलमा आउने शत्रुकीटलाई भोजनको रुपमा ग्रहण गर्दछ । पुतली, भ्रमरा र माहुरीजस्ता मित्र जीव परागशेचनको काम गर्दै फसल उत्पादनमा वृद्धि गर्दछ ।

आफ्नो खेतको किनारमा लगाएको बोट बिरुवामा रंग बिरंगी चराहरुको आकर्षण वढ्न थाल्छ । यस्तो अवस्थामा चराचुरंगी बोटबिरुवामाथि बस्न थाल्छ । आफ्नो घर गुडसमेत बनाउन थाल्छ । 


रंगी बिरंगी चराहरुको आकर्षण, पुतली र माहुरीजस्ता मित्र कीटहरु
चराचुरंगीहरु खेतमा आउने कीटहरु तथा फसलमा रोग सार्ने कीटलाई भोजनको रुपमा ग्रहण गर्दछ । यसबाट फसलमा लाग्ने एरोविक रोगको नियन्त्रणमा सहयोग पुग्दछ । आसपासको सीमसार वा सानो जलाशयलाई चराहरुले खानेपानीको रुपमा प्रयोग गर्दछ ।

 

यी चराचुरंगीको मलले खेतमा फास्फोरस वृद्धि गर्छ । प्राकृतिक खेतीमा खेतको किनारमा ठाउँ भए पीपल, वर, पाखड, नीम, गुलर, वकाइनो, अर्जुन, जामुनजस्तो बोटहरु लगाउनुपर्छ । यी रुखका फल खान चराहरु आकर्षित हुन्छ । नीम तथा बकाइनोको पात अग्र्यानिक बुस्टर वनाउने काम आउँछ । कतिपय बोटबिरुवाहरु प्रकृतिको वातावरणमा हुने नाइट्रोजनको माटो स्थिरीकरण गर्दछ । खेतमा लगाएको बोटबिरुवाको जराहरु माटोको विभिन्न सतहलाई तोड्दै तलसम्म जान्छ । यसले कम्प्याक्ट माटो सतहलाई तोडेको हुन्छ । वर्षातको समयमा वा अन्य समयमा सिंचाईं गर्दा पानीलाई बोटबिरुवाको जराहरुले तल पठाई भूजल स्तरमा वृद्धि गर्दछ ।

बोटबिरुवाका पातहरु खेतमा कार्वनिक पदार्थमा वृद्धि गरी ह्युमशमा वृद्धि गर्दछ । यसबाट उत्पादनमा वृद्धि भएर जान्छ । फलफूलको बोटबिरुवा भए फलफूल र काठसम्बन्धी बोटबिरुवा भए काठदाउराबाट लाभ लिन सकिन्छ । यसको छहारीको कारण हुने उत्पादन ह्रास भन्दा बढी लाभ लिन सकिन्छ । 
    
 


खेतको किनारमा हुने बोटबिरुवाले गर्दा खेतको जीवाणुहरु गर्मी समयमा ४० डिग्री सेल्सियसमाथिको तापक्रम सहन नसकी बोटबिरुवाको छहारीमा पुग्छन् । वर्षातको मौसम आउनेबित्तिकै सबै जीवाणु खेतमा चारैतिर फैलिने गर्दछ । यसरी बोटबिरुवाले भूजल स्तरमा वृद्धि, ह्युमशमा वृद्धि र माटोको जीवाणुलाई सहज वातावरण प्रदान गर्दछ । 
यसरी माटो भित्र र बाहिर जैविक विविधता ठीक हुनासाथ माटोको तापक्रमको साथै वातावरणीय तापक्रममा पनि कमी आउँछ । यसले गर्दा गर्मी लहरमा पनि न्यूनीकरण हुन्छ । बोटबिरुवाबाट वातावरणमा अक्सिजनको मात्रा बढ्ने गर्छ र कार्बनडायक्साइडजस्ता हरित गृह ग्यास अवशोषणमा सहयोग पुग्छ । त्यसैले प्राकृतिक खेतीलाई प्रकृति अनुकुलको खेती पनि भनिन्छ । यस्तो खेतीमा ग्लोबल वार्मिङ्गको असर न्यून हुन्छ । यसलाई दीगो खेती पनि भन्ने गरिन्छ ।

 

प्राकृतिक खेतीसम्बन्धी आम किसानको धारणाः 
प्राकृतिक खेतीबाट हुने उत्पादन रासायनिक खेतीबाट हुने उत्पादन जति उत्पादन हुँदैन भनी आमकिसानको धारणा रहेको देखिन्छ । प्राकृतिक खेतीबाट खाद्य सुरक्षा तथा पोषण सुरक्षा दुबै हुन्छ भन्ने विषयमा किसान अनभिज्ञ छन् । प्राकृतिक खेतीमा माटोभित्र र बाहिर माथि उल्लेख गरिएअनुसार जैविक विविधता ठीक पार्नुपर्छ । यसमा कुनै खासै लगानीको आवश्यकता देखिंदैन । सिर्फ प्रकृतिलाई बुझनुपर्छ । यी व्यवस्थाहरुको साथै उत्पादनमा कमी हुन नदिनको लागि युरियाको प्रयोगपूर्व नै प्रयोग गरेअनुसार नै गर्नु पर्छ । जति–जति कार्वनिक पदार्थ जीवांश र लाभदायक जीवाणुमा वृद्धि हुन्छ । युरियाको प्रयोगमा कमी ल्याउँदै जानुपर्छ । युरिया घटाउने प्रयोग सानो–सानो क्षेत्रमा गरी किसान आफै अनुभव बटुल्दै जाने हुन्छन् । अन्य रासायनिक मलको प्रयोग गर्नु पर्दैन । युरियाको प्रयोगले पूर्व भएको उत्पादनमा कमी आउँदैन । अर्थात् रासायनिक मल प्रयोगअन्तर्गत युरियाबाहेक अन्य रासायनिक मलमा कमी ल्याए पनि खाद्य सुरक्षामा कमी आउँदैन । डिएपीको प्रयोगको आवश्यकता प्राकृतिक खेतीमा पर्दैन । खेतीमा प्रयोग गरिने फोस्फेटको ३० प्रतिशत मात्र घुलनशील फोस्फोरस बनेर फसलले प्रयोग गर्दछ । बाँकी अघुलनशील फोस्फोरसको रुपमा खेतमा नै वस्ने गर्दछ । पचासौ वर्षदेखि फोस्फेटको प्रयोग गरिरहेको अवस्था छ । खेतमा अहिले प्रर्याप्त रुपमा अघुलनसिल फोस्फोरस छ । यसलाई लाभदायक जीवाणुले घुलनशील फोस्फोरस बनाउने गर्दछ । फसललाई चाहिने सबै पौष्टिक तत्व लाभदायक जीवाणुहरुको जीवांशमा हुन्छ । वैज्ञानिकहरुले १७ प्रकारका पौष्टिक तत्व पत्ता लगाए पनि त्योभन्दा धेरै कढी पौष्टिक तत्वहरु हुन सक्दछन् जुन अहिलेसम्म पत्ता लागेको छैन । प्राकृतिक खेतीको वास्तविक स्वरुप खेतमा एक प्रतिशतभन्दा बढी जीवांश कार्बन भएपछि आउँछ । एक हेक्टर जग्गाको ६ इन्च माटोको तौल करिब २० हजार क्विन्टल हुन्छ । २० हजार क्विनटलको एक प्रतिशत २०० क्न्टिल हुन आउँछ । अर्थात एक हेक्टर जग्गामा २०० क्विन्टल जीवांश कार्बन हुनुपर्छ । यी जीवांश कार्बनको १० प्रतिशत अर्थात् २० क्विन्टल जीवांश कार्बन एक वर्षमा फसलको प्रयोगमा आउँछ । यी कुरा सी एन रेसियोको अध्ययनबाट पनि आउँछ । यस विषयमा पछि लेख्नेछु । रासायनिक मलहरु करीव ३–४ क्विन्टल वा त्योभन्दा केही बढी पनि एक हेक्टर जग्गामा प्रयोग गरिरहेको पाइन्छ । तर प्राकृतिक खेतीमा एक प्रतिशत जीवांश कार्बन भएमा बीस क्विन्टल प्रतिहेक्टर जीवांश कार्बन अनेकन पौष्टिकसहितको प्राकृतिक मल प्रयोग हुने अवस्था देखिन्छ । तसर्थ यसले प्राकृतिक खेतीमा कम पैदावार हुन्छ भन्ने तथ्यलाई खण्डित गर्दछ । प्राकृतिक खेतीमा रासायनिक खेतीभन्दा कम उत्पादन हुने तथ्यमा पनि कुनै दम छैन । प्राकृतिक खेतीमा रासायनिक खेती बराबर वा त्योभन्दा बढी उत्पादनको सफलतम प्रयोग भै सकेको छ । सिर्फ धैर्य र बुद्धिको आवश्यकता छ ।

 

किसानहरु प्रकृतिक खेती शुरु गरी रासायनिक खेती तर्फ फर्किने गरेको कारणहरु ः 
क     लाभदायक जीवाणु उत्पादन गर्न संग्रह गरेको माटो जीवाणुविहीन हुन सक्छ वा न्यून मात्रामा हुन सक्छ । यसले गर्दा खेतबारी अमृत घोलमा लाभदायक जीवाणुको संख्या प्रर्याप्त नहुन सक्छ । 
ख.     खेतवारी अमृत बनाउँदा त्यसमा चाहिने सामानको उचित प्रबन्ध नगरेको हुनसक्छ । 
ग.     युटयुवमा वैज्ञानिक आधार र तर्कबिना छ्यापछ्याप्ती यस्ता घोल बनाउने विधिहरुबारे बताउने गरेको हुन्छ । सोको देखासिकी गरी खेतबारी अमृतको लागि सटिक विधि नअपनाएको हुन सक्छ । 
घ.     किसानहरु एकै पटक सवै जग्गामा आवश्यक प्रबन्धविना प्राकृतिक खेती आरम्भ गरेको हुन सक्छ । शुरुदेखि नै रासायनिक मलको प्रयोग बन्द गरेको कारण उत्पादन कम भई उत्पादन लागत बढेको हुन सक्छ । 
ङ.     जैविक विविधतामा ध्यान नदिई सिर्फ उत्पादनतर्फ मात्र आकर्षित भएको हुनसक्छ । 
च.     जीवाणु तथा कार्बनिक पदार्थको संतुलन नमिलेको हुनसक्छ । 
छ.     खेतबारी अमृत घोल वर्षात नभएको बेला अन्य समयमा आवश्यक विधि नअपनाई प्रयोग गरेको हुनसक्छ । 
ज.     अर्गेनिक बुस्टर बनाउने विधिमा कमी कमजोरी भएको हुनसक्छ । 
झ.     अर्गेनिक बुस्टर फसलमा रोग लागिसकेपछि कीट मार्न र बिमारी हटाउन प्रयोग गरेको हुनसक्छ । जबकि अर्गेनिक वुस्टर कीट मार्न वा बिमारी हटाउनको लागि प्रयोग नभई कीटलाई आफ्नो खेतमा आउन नदिनको लागि वा रोग लाग्न नदिनको लागि प्रयोग गरिन्छ । 
उपरोक्त कारणहरुले गर्दा उत्पादनमा कमी आउन स्वभाविक हो । उत्पादनमा कमी आउना साथ किसानहरु रासायनिक खेतीतर्फ पुनः फर्किने गरेको पाइन्छ । 
धैर्यता साथ विभिन्न लेखहरुमा बताएअनुसार माटोलाई उर्बर बनाउने, माटोभित्र र बाहिर जैविक विविधता कायम गर्ने, रासायनिक औषधिको प्रयोग बन्द गर्ने, कार्बनिक पदार्थ र माइक्रोवको संतुलन राखी माटोमा जीवांश कार्बन एक प्रतिशत नभएसम्म युरिया मलको उचित प्रयोग गर्नुपर्छ । जीवांश कार्बन एक प्रतिशतभन्दा बढी हुने भए पछि रासायनिक मलको प्रयोग पनि बन्द गर्ने अवस्था आउँछ । धैर्यता साथ अगाडि बढयो भने निश्चित रुपले सफलता प्राप्त हुनेछ ।

 

निष्कर्षः 
अहिले प्राकृतिक खेती सरकारको नीतिमा आएन भने र किसानहरु यसतर्फ आकर्षित भएनन् भने भविष्यमा राष्ट्रले चुक्ता गर्न नसकिने मूल्य चुकाउनुपर्ने हुनसक्छ ।

 

प्रकाशित मिति : सोमबार, वैशाख ०१, २०८२ | ०७:००:०० बजे

लेखकको बारेमा

ई. रामेश्वर यादव
यादव, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् । उनले प्राकृतिक स्राेत व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

प्रतिक्रिया