बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
जलसरोकार
काठमाडौँ : नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यमाथि द्विपक्षीय छलफल गर्ने उच्चस्तरीय संयुक्त सञ्चालन समिति (Joint Steering Committee–JSC) को सातौँ बैठक बंगलादेशको ढाकामा सम्पन्न भएको छ। बैठकको सह-अध्यक्षता नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र बंगलादेश सरकारका ऊर्जा मन्त्रालयकी सचिव फराहना ममताले गरेका थिए।
यसअघि मंसिर १० गते बसेको संयुक्त कार्यदल (Joint Working Group–JWG) ले तयार पारेका प्रस्ताव तथा सिफारिसहरूमा बैठकले विस्तृत छलफल गर्यो। कार्यदलको बैठक नेपालका सहसचिव सन्दीपकुमार देव र बंगलादेशका अतिरिक्त सचिव के.एम. असल रेफाले सह-अध्यक्षता गरेका थिए।
बैठकमा विद्युत् व्यापार, जलविद्युत् आयोजना विकास, अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा व्यवस्थापनलगायत विषयमा व्यापक छलफल हुँदा विभिन्न महत्त्वपूर्ण सहमति बनेकाे ऊर्जा मन्त्रालयले बैठकपश्चात बिहीबार जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मुख्य सहमतिहरू
१) विद्युत् व्यापार विस्तार
- बंगलादेशले हाल नेपालबाट आयात गरिरहेको ४० मेगावाट विद्युत् मा थप २० मेगावाट जोड्ने निर्णय।
- आवश्यक आन्तरिक प्रक्रिया पूरा गरी छिट्टै आयात सुरु गर्ने सहमति।
२) सुनकोशी–३ जलविद्युत् आयोजनामा लगानी प्रक्रिया अघि बढाउने
- आयोजना मूल्यांकनका लागि बंगलादेशले विशेषज्ञ समिति गठन गर्ने।
- संयुक्त लगानी सम्झौता (JVA) छिटो टुंग्याउने तयारी।
३) नेपाल-भारत-बंगलादेश त्रिदेशीय विद्युत् व्यापार
- नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशका बरापुकुरिया, पञ्चगढ/ठाकुरगाँउ, भेरामारा र कोमोल्ला सम्म विद्युत् निर्यात सम्भावनाबारे अध्ययन गर्ने सहमति।
४) नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतामा एमओयू
- दुवै देशले आन्तरिक प्रक्रिया पूरा गरी समझदारीपत्रमा चाँडै हस्ताक्षर गर्ने।
- एमओयूअन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा संरक्षण, इभी चार्जिङ, रुफटप सोलार लगायत क्षेत्रमा प्राविधिक सहायता उपलब्ध गराउने।
५) क्षमता अभिवृद्धि कार्यक्रम सुरु
- पहिलो चरणको क्षमता अभिवृद्धि कार्यक्रम काठमाडौंमा सञ्चालन हुने।
- दोस्रो चरण बंगलादेशमा आयोजना हुने।
६) नेपाल-भारत-बंगलादेश त्रिदेशीय एमओयू अघि बढाउने प्रयास
- ऊर्जा सहकार्यमाथि त्रिदेशीय एमओयू मा भारतको सहमति जुटाउन दुवै देशले संयुक्त पहल गर्ने।
बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ। दुवै देशका प्रतिनिधिहरूले दीर्घकालीन ऊर्जा साझेदारीलाई अझ सुदृढ बनाउन निरन्तर सहयोग र संवाद जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी