जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

एमसीसीको ठेक्का कालो सूचीमा परेको मुडभरी एण्ड जोशी कन्स्ट्रक्सनले पाउने

जलसरोकार
सोमबार, जेठ १४, २०८१ | १६:५८:२५ बजे

 

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रसुवागढी हाइड्रोपावरको विद्युत्गृहदेखि चिलिमे हबसम्म १० किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन पाँच वर्षमा पनि बनाउन नसकेर कालो सूचीमा परेको मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रा.लि.ले एमसीसीअन्तर्गतको एउटा ठेक्का पाउने भएको छ ।
एमसीसी अन्तर्गतको न्यू बुटबलदेखि भारतको सीमासम्म ४०० केभी डबल सर्किट १८ किलोमिटर प्रसारण लाइनको ठेक्का आज मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल) आज सोमबार साढे दुई बजे खोलेको थियो । 

यो ठेक्काको अनुमानित लागत एक करोड ३२ लाख ४० हजार अमेरिकी डलर (हालको मूल्यमा एक अर्ब ७५ करोड ९४ लाख ६३ हजार रुपैयाँ) मा एमसीए नेपालले सिंगल बिडिङ (समय थोरै भएकाले छिटो गर्न) प्रतिस्पर्धा गराएको थियो ।  

मुडभरी एण्ड जोशीले मलेसियाको एचजी पावर ट्रान्समिसन एसडीएन, बीएचडीसँगको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मा उक्त प्रसारण लाइनको एक करोड २७ लाख ९५ हजार ९ सय ६९ अमेरिकी डलरमा हालेको थियो । यो संयुक्त उपक्रमले कुल बिलमा १.५ प्रतिशत छुट पनि दिने कबोल गरेर अन्य प्रतिस्पर्धीको तुलनामा सबैभन्दा कम रकम कबोल गरेको हो । 

यो ठेक्कामा तीनवटा कम्पनीको आर्थिक प्रस्ताव खोलिएको थियो । मुडभरीपछि दोस्रो कममा भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडको परेको थियो । उसले एक करोड २९ लाख ५४ हजार अमेरिकी डलरमा हालेको थियो । त्यसैगरी नेपालका विभिन्न २२० केभीको प्रसारण लाइन बनाइरहेको भारतकै केइसी इन्टरनेशनलले एक करोड ३० लाख ९८ हजार अमेरिकी डलरमा ठेक्का हालेको थियो ।  

एमसीए नेपालले प्लान्ट डिजाइन, सप्लाई, डेलिभरी, टेस्टिङ र कमिसनिङका लागि प्रतिस्पर्धा गराएको थियो । पहिलोपटक प्रतिस्पर्धा गराउँदा अनुमानित लागतभन्दा बढीको आर्थिक प्रस्ताव परेकाले त्यसलाई रद्द गरिएको थियो । 
एमसीए नेपालले कुल ३१५ किलोमिटर प्रसारण लाइनका लागि २२ करोड ६ लाख अमेरिकी डलर लाग्ने अनुमान गरेको थियो । तर पहिलो प्याकेजको ११७ किलोमिटर प्रसारण लाइनको ठेक्का प्रस्ताव नै कुल लागतभन्दा बढी परेपछि रद्द गरिएको थियो ।  एमसीसीअन्तर्गत कुल ३१५ किलोमिटर ४०० केभी डबल सर्किटको प्रसारण लाइनभन्दा भारतीय सीमासँग जोडिने यो प्याकेजको पहिलो ठेक्का हुन लागेको हो । भारतीय खण्डमा निर्माण कार्य पूरा हुन लागेको तर नेपाली खण्डमा सुरु हुन नसकेकाले यसलाई छोटो विधि अपनाई ठेक्का गरिएको हो । 

एमसीसी अन्तर्गतका तीनवटा सवस्टेशनमध्ये भरतपुर सवस्टेशन उद्घाटन भइसकेको छ । अन्य सवस्टेशन र प्रसारण लाइनको ठेक्का हुन बाँकी छ । पहिलोपटक ठेक्का हुँदा अनुमानित लागतभन्दा धेरै दरमा हालेकाले एमसीए नेपालले ती सबै ठेक्का रद्द गरेको थियो ।  मुडभरी एण्ड जोशीलाई रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सिफारिसमा सार्वजनिक खरिद अनुगमनको कार्यालयले सन् २०२३ जनवरी २० देखि २०२५ जनवरी २० सम्म कालोसूचीमा राखेको छ । तर यो कम्पनीले अदालतबाट २०७९ चैत १० गते अन्तरिम आदेश जारी गराउन सफल भई कालो सूचीको निर्णय स्थगन गराएको थियो ।

त्यसैगरी मुडभरीसँग संयुक्त उपक्रम गरेको मलेसियन कम्पनी एचजी पावर ट्रान्समिसनको पनि नेपाल विद्युत् प्राधिकरणको एउटा प्रसारण लाइनको ठेक्का पाएर पनि सम्झौता गर्न नआएपछि उसको ठेक्का रद्द गरिएको थियो ।  नेपालमा काम गर्न नसकेको प्रमाणित भइकसेका कम्पनीको हातमा एमसीसीको ठेक्का पर्नुले निर्धारित लागत र समयमा यो ठेक्का पूरा हुनेमा आशंका गरिएको छ । 
 

प्रकाशित मिति : सोमबार, जेठ १४, २०८१ | १६:५८:२५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया