जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुट्यो
जलसरोकार
काठमाडौं- निर्माणमा जान लागेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाका लागि वित्तीय स्रोत जुटेको छ । बुधवार एक समारोहबीच परियोजना प्रवर्द्धक जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र नबिल बैंकले नेतृत्व गरेको बैंक तथा वित्तीय संस्थाहरूबीच ऋण सम्झौता भएको छ ।
करीब २३ अर्ब रुपैयाँ अनुमानित लागत रहेको परियोजनाका लागि नबिल बैंकले नेतृत्व गरेको वित्तीय संस्थाहरूको समूहले १५ अर्ब ९० करोड रुपैयाँको ऋण स्वीकृत गरेको छ । जसमा नबिल बैंकले ४ अर्ब ४० करोड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ४ अर्ब, कर्मचारी सञ्चय कोषले ४ अर्ब, लक्ष्मी सन्राइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।
यसमा इक्विटीको अंश भने ७ अर्ब १० करोड रहनेछ । कर्णाली प्रदेशको डोल्पास्थित जगदुल्ला नदीमा बन्न लागेको यो परियोजना नेपालको पानी जनताको लगानी अवधारणामा नेपाली जनताको लगानीमा पहिलोपटक बन्न लागेको हो । ऋण सम्झौता सम्पन्न भएसँगै चालू आर्थिक वर्षदेखि नै आयोजना निर्माणको काम अघि बढ्ने र आगामी ५ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।
यो आयोजना निर्माणका लागि विद्युत् उत्पादन कम्पनीको २६, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को १०, विद्युत् प्राधिकरणको ९, कर्णाली प्रदेश सरकारको ५, जगदुल्ला र मुड्केचुला गाउँपालिकाको १ प्रतिशत गरी ५१ प्रतिशत शेयर रहनेछ । त्यसैगरी सर्वसाधारण नागरिकको ३३, आयोजना प्रभावितको १०, प्रसारण लाइन प्रभावित बासिन्दाको ३ र आयोजनाका कर्मचारीको ३ गरी ४९ प्रतिशत शेयर रहने भएकाले शतप्रतिशत जनताकै लगानीमा बन्न लागेको पहिलो जलविद्युत् हुने आयोजनाले जानकारी दिएको छ ।
बुधवार ऋण सम्झौता कार्यक्रममा बोल्दै आयोजनाका कार्यकारी अधिकृत सञ्जय सापकोटाले यो आयोजना कर्णाली प्रदेशका लागि ऊर्जा विकासको मेरूदण्ड हुने विश्वास व्यक्त गरे । आगामी ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएकाले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्थानीयलाई जलविद्युत् सेयर अंकित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह
-
माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि सुझाव माग
-
पञ्चेश्वर : कसको हितको आयोजना?
-
साहस ऊर्जाको नाफा ५२ प्रतिशतले बढ्यो, एक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ खुद आम्दानी
-
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
नीतिगत तथा प्रक्रियागत अवरोध ऊर्जा क्षेत्रको मुख्य चुनौती : मन्त्री श्रेष्ठ