जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तामाकोशी पाँचौको ठेक्का सिनो हाइड्रोलाई

चार वर्षमा पूरा गर्ने लक्ष्य

जलसरोकार
सोमबार, पुस २३, २०८० | १४:२९:०० बजे

 

काठमाडौं : ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यास्केड आयोजनाको रुपमा रहेको तामाकोशी पाँचौ (९९.८ मेगावाट) को सिभिल तथा हाइड्रो मेकानिकलको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ । यसअघि अनुमानित लागतभन्दा बढी मूल्य परेपछि रद्द भएको ठेक्का प्रक्रियामा सिनो हाइड्रो बाजी मारेको हो ।

हाइड्रो मेकानिकल र सिभिलको कार्यका लागि अनुमानित लागत १२ अर्ब ९९ करोड रुपैयाँ लागतमा सिनोले करिब ६ प्रतिशत कम रकम कबोल गरेको तामाकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले बताए । ‘अनुमानित लागतभन्दा करिब ६ प्रतिशत कममा लागत प्रस्ताव पेश गरेपछि सिनो हाइड्रोले निर्माणको ठेक्का पाउने निश्चित भएको हो,’ भण्डारीले सोमबार जलसरोकारलाई बताए ।

‘यसअघि निकालेको टेण्डरमा लागतभन्दा बढी मूल्य परेपछि पुनः आव्हान गरेको बिडिङमा सिनो हाइड्रो र स्थानीय साझेदार कुमार श्रेष्ठ निर्माण सेवाले सबैभन्दा कम प्रस्ताव पेश गरेको छ,’ उनले भने, ‘यो हामीले गरेको अनुमानित लागतभन्दा करिब ६ प्रतिशतले कम हो । ’ कम्पनीले पहिलो चरणमा हाइड्रो मेकानिकल र सिभिलको कामका लागि ठेक्का आब्हान गरिएको थियो । हाइड्रो मेकानिकल र सिभिलका लागि सिनो हाइड्रो र चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सीडब्लूई)ले प्रस्ताव पेश गरेका थिए ।

पहिलो चरणमा आयोजनाको लागि पठाएको लागतको मूल्याकंन भइरहेको र सिनो हाइड्रोको लागत कम देखिएको हुँदा उसैले ठेक्का पाउने निश्चित भएको भण्डारीले बताए । यद्यपि प्रक्रिया पुरा गर्न बाँकी रहेको उनको भनाइ छ ।

तामाकोशी पाँचौैं आयोजनाका लागि हाइड्रो मेकानिकल, सिभिल तथा इलेक्ट्रोमेकानिलक तथा ट्रान्समिसन लाइन गरी दुई भागमा विभाजन गरिएको छ । पहिलो चरणअन्र्तगत हाइड्रो मेकानिकल र सिभिलको प्रक्रियापश्चात इलेक्ट्रो मेकानिलकल र प्रसारण लाइनको लागि बोलपत्र आब्हान गर्ने तयारी भइरहेको भण्डारी बताए ।
तामाकोशी पाँचौ आयोजनाको लागि जर्मनको ट्रयाक्टबेल इन्जिनियरिङ जीएमवीएच (ल्यामेयर इन्टरनेशनल) ले साढे दुई वर्ष लगाएर आयोजनाको विस्तृत इन्जिनियरिङ गरेको थियोे ।

तामाकोसी पाँचौं ४५६ मेगावाटको माथिल्लो तामाकोसीको क्यास्केड आयोजना समेत रहेको हुँदा यसको लागत कम छ । तामाकोसी पाँचौले बाँध, बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकोले आयोजनालाई कम लागत आकर्षक मानिएको हो । माथिल्लो तामाकोसीको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युतगृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नुपर्ने छ ।

विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) स्वीकृत भइसकेको आयोजनाले विद्युत उत्पादनको अनुमति ०७४ को जेठमा प्राप्त गरेको थियो ।
चीनको अगुवाइमा स्थापना भएको एसियन इन्फ्रास्ट्रक्चर लगानी बैक (एआईआईबी) को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ । आयोजनाको अहिले निर्माण पूर्वका कामहरु सम्पन्न भइसेको प्रमुख भणडारीले जानकारी दिए । आयोजनाको निर्माण २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजनाको लागि २०७८ साउनमा लगानी सम्बन्धी सम्झौता एमओयू भइसकेको छ ।

नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच एमओयूमा ०७८ साउनमा हस्ताक्षर भएको थियो ।
करिब १६ अर्ब १९ करोड रुपैयाँ (१३ करोड ७२ लाख अमेरिकी डलर) अनुमानित लागत रहेको आयोजनामा कोषले ७० प्रतिशत (करिब ११ अर्ब ३३ करोड) रुपैयाँ ऋण लगानी गर्ने प्राधिकरणले जनाएको छ । आयोजनाको बाँकी रकम सर्वसाधारणलाई समेत सेयर निश्कासन गरी स्वपुँजी (इक्विटी) बाट जुटाइने योजना छ ।

यो आयोजना हात पार्न स्वदेशी तथा विदेशी प्रवद्र्धकहरुले निकै ‘मेहेनत’ गरेका थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उच्च राजनीतिक तहको दबाब थेगेर यो आयोजना जोगाएका थिए । तामाकोसी पाँचौंमा बाँध र मुहान बनाउनु नपर्ने भएकाले करिब चार अर्ब रुपैयाँ त्यसै सस्तो पर्न जाने हुँदा स्वदेशी तथा विदेशी प्रवर्द्धक लालायित थिए । तत्कालीन नेकापा एमालेको सरकारले कुलमानलाई दोस्रोपटक कार्यकारी निर्देशकमा नियुक्ति नगर्नुको धेरै कारणमध्ये तामाकोसी पाँचौं पनि प्रमुख थियो ।

आयोजनाले अधिकांश जग्गा अधिग्रहण भइसेकेको छ । माथिल्लो तामाकोसीले बिजुली उत्पादन गरी निसृत हुने पानी सुरुङमा हुल्न (इन्टरकनेक्सन सिष्टम) पूर्वाधार तयार भइसकेको भइसेकेको छ । माथिल्लो तामाकोसीले मुलुकको विद्युत् प्रणालीमा उच्चतम माग (पिक) भएका बेला दैनिक ६ घण्टा ४५६ मेगावाटै बिजुली उत्पादन गर्ने भएकाले तामाकोसी पाँचौंले पनि ६ नै घण्टा जडित क्षमताअनुसार उत्पादन गर्ने सक्नेछ ।

बिहान २ घण्टा र बेलुकी ४ घण्टा पिकिङ ऊर्जा उपलब्धता हुने हुनाले मुलुकको विद्युत् प्रणालीमा समेत यसको ठूलो महत्व हुनेछ । तामाकोसी पाँचौंले वार्षिक ५ करोड २९ लाख युनिट बिजुली उत्पादन गर्छ । यसको निर्माण अवधि चार वर्ष अनुमान गरिएको छ ।

प्रकाशित मिति : सोमबार, पुस २३, २०८० | १४:२९:०० बजे

प्रतिक्रिया