सुनकोशी मरिणको सुरुङ ‘ब्रेक थ्रू’ एक महिनाभित्र गरिने
जलसरोकार
काठमाडौं– राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब सात सय ९० मिटर मात्र खन्न बाँकी छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक चन्द्रबहादुर ओलीलगायतको टोलीले आज सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटारमा रहेको आयोजनास्थलमा निरीक्षण गरेका छन् ।
निरीक्षण अवलोकनपछि ऊर्जामन्त्री बस्नेतले तोकिएको समयभित्र काम सम्पन्न गर्न आयोजनाका लागि स्रोत साधनको अभाव हुन नदिने बताए । ‘यो आयोजना सरकारको विशेष प्राथमिकतामा छ । आयोजनामा स्रोत साधनको कुनै समस्या आउन दिँदैनौँ’, उनले भने । अहिलेसम्मको कामको प्रगति सन्तोषजनक रहेको बताउँदै उनले तोकिएको समयभित्रै काम सक्न निर्देशन दिए।
ऊर्जामन्त्री बस्नेतसहितको उच्चस्तरीय टोलीले शुक्रबार आयोजनाको बाँधस्थल निरीक्षण गरेको थियो । यसअघि ऊर्जामन्त्री बस्नेतले आयोजना प्रमुखलगायत अधिकारीलाई आयोजनास्थल नछाड्न र हरेक १५ दिनमा आयोजनाको प्रगति अवस्थाबारे मन्त्रालयलाई जानकारी दिन निर्देशन दिएका थिए ।
तराई मधेसमा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको उक्त आयोजनालाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको छ । सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएको खण्डमा एक महिनाभित्र ‘ब्रेक थ्रू’ भइसक्ने आयोजना प्रमुख बरालले जानकारी दिए।
आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरिरहेको छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इन्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको उक्त आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन । सो आयोजनाको ‘कफर ड्याम’ निर्माण भइरहेको जनाइएको छ ।
निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति देखिँदैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सकिएको छ । त्यो स्वीकृतिको अन्तिम चरणमा छ । यस्तै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको काम पनि अगाडि बढाउन लागिएको आयोजना प्रमुख बरालले जानकारी दिए ।
सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । आगामी वैशाखसम्म बाँध निर्माणलाई एउटा स्तरमा पु¥याउने लक्ष्य राखिएको छ । वैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ । यस्तै, विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ ।
आयोजनाका लागि सुनकोशी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा पथान्तरण गरिनेछ । सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।
विसं २०७९ असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरेर खनिएको छ । यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अप्पर सोलुको नाफा ८४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४६ पैसा
-
देशभर बदली र वर्षा, कोशी-बागमती-गण्डकीसहित लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
-
रु. ४५८ को सेयर रु. १०० मा किन्न पाइने प्रस्ताव, सगरमाथा जलविद्युत्को १:१ हकप्रदमा लगानीकर्ताको आकर्षण
-
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
-
घाटा अहिलेको वास्तविकता, आयोजना भविष्यको आशा : सीमित सेयर आपूर्तिले पनि बलियो बनाउँदै त्रिशूली जलविद्युत्को आकर्षण
-
सुन–चाँदीको मूल्यमा भारी वृद्धि, सुन प्रतितोला ३ लाख नाघ्यो