सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

विपद्ले आयोजना ध्वस्त, ऋणले प्रवर्द्धकलाई कालोसूचीमा पार्ने जोखिम; राष्ट्र बैंकसँग तत्काल राहत माग

पुनर्निर्माणका लागि ऋण चाहिने आयोजना खराब कर्जामा वर्गीकृत भए थप वित्तीय स्रोत जुटाउन नसक्ने; ऋण पुनर्संरचना, किस्ता स्थगन, कालोसूची रोक्न र सहुलियतपूर्ण पुनर्वित्त उपलब्ध गराउन सिफारिस

जलसरोकार
बुधबार, मंसिर ०९, २०८३ | १५:४७:४४ बजे

काठमाडौं : प्राकृतिक विपद्‌‌ले जलविद्युत् आयोजना ध्वस्त पारेपछि पुनर्निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउनुपर्ने प्रवर्द्धकहरू बैंकको ऋण, ब्याज र खराब कर्जा वर्गीकरणको अर्को संकटमा फस्न सक्ने जोखिम देखिएको छ। विपद्‌‌ प्रभावित आयोजनालाई तत्काल नियामकीय राहत उपलब्ध नगराए पुनर्निर्माण गर्नुपर्ने कम्पनी नै खराब कर्जामा वर्गीकृत हुने र प्रवर्द्धक कालोसूचीमा पर्ने अवस्था आउन सक्ने भन्दै सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (SEEN) ले नेपाल राष्ट्र बैंकसँग विशेष व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ।

भोटेकोशी-त्रिशूली करिडोरमा आएको विपद्‌‌पछि जलविद्युत् आयोजनाको पुनरुत्थान र दीर्घकालीन जोखिम न्यूनीकरणसम्बन्धी सिफारिस प्रतिवेदनमा SEEN ले प्रभावित आयोजनाका लागि ऋण वर्गीकरण तथा Provisioning मा राहत, ऋणको पुनर्संरचना, किस्ता तथा भुक्तानी स्थगन (Moratorium), कालोसूचीमा राख्ने प्रक्रिया रोक्ने व्यवस्था र सहुलियतपूर्ण पुनर्वित्त सुविधा उपलब्ध गराउनुपर्ने प्रस्ताव गरेको हो।

प्रतिवेदनले नेपाल राष्ट्र बैंकबाट जारी हुनुपर्ने निर्देशनलाई सबैभन्दा तत्काल आवश्यक नियामकीय हस्तक्षेपमध्ये एक मानेको छ। विपद्‌‌ले उत्पादन र आम्दानी बन्द भएका आयोजनालाई सामान्य ऋण भुक्तानी नियमअनुसार व्यवहार गर्दा पुनर्निर्माणको प्रयास नै अवरुद्ध हुन सक्ने यसको चेतावनी छ।

SEEN ले केही दिनअघि ऊर्जा मन्त्रालयलाई आफ्नो अध्ययन-प्रतिवेदन बुझाएको थियो।

पुनर्निर्माण गर्न खोज्दा नै खराब कर्जामा पर्ने जोखिम

विपद्‌‌बाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द वा घटेको छ। आम्दानी गुमे पनि बैंकको ऋण, ब्याज तथा अन्य वित्तीय दायित्व यथावत् रहन्छन्। पुनर्निर्माणमा थप ठूलो रकम लगानी गर्नुपर्ने अवस्थामा प्रवर्द्धकहरूले विद्यमान ऋणको किस्ता तिर्न र नयाँ पूँजी जुटाउन दुवैतर्फ कठिनाइ सामना गर्न सक्छन्।

SEEN को प्रतिवेदनअनुसार, नियामकीय राहत नआए प्रभावित आयोजना खराब कर्जामा वर्गीकृत हुन सक्छन् र प्रवर्द्धक कालोसूचीमा पर्ने जोखिम रहन्छ। यस्तो अवस्था आए पुनर्निर्माणका लागि आवश्यक थप ऋण जुटाउने बाटोसमेत बन्द हुन सक्छ।

प्रतिवेदनले यसलाई गम्भीर वित्तीय चक्रका रूपमा औंल्याएको छ– विपद्‌‌ले आयोजना ध्वस्त पार्छ, उत्पादन र आम्दानी रोकिन्छ, ऋण भुक्तानी प्रभावित हुन्छ, खराब कर्जाको जोखिम बढ्छ, प्रवर्द्धक कालोसूचीमा पर्न सक्छन् र पुनर्निर्माणका लागि आवश्यक वित्तीय स्रोतसमेत प्राप्त गर्न कठिन हुन्छ।

ऋणको किस्ता स्थगनदेखि सहुलियतपूर्ण पुनर्वित्तसम्म

SEEN ले नेपाल राष्ट्र बैंकले तत्काल विशेष नियामकीय निर्देशन जारी गर्नुपर्ने सुझाव दिएको छ। त्यसमा प्रभावित आयोजनाको ऋण वर्गीकरण र Provisioning सम्बन्धी राहतदेखि पुनर्निर्माण अवधिका लागि भुक्तानी स्थगन तथा ऋण पुनर्संरचनासम्मका व्यवस्था समेट्नुपर्ने उल्लेख छ।

प्रतिवेदनमा प्रस्तावित प्रमुख राहतहरू:

  • ऋण वर्गीकरणमा राहत: विपद्‌‌ प्रभावित आयोजनालाई सामान्य ऋण वर्गीकरणको कठोर व्यवस्था लागू गर्दा उत्पन्न हुने संकट सम्बोधन गर्ने।
  • Moratorium: पुनर्निर्माण र आम्दानी पुनःस्थापना नहुँदासम्म ऋणको किस्ता वा भुक्तानी स्थगनको व्यवस्था।
  • ऋण पुनर्संरचना तथा Rescheduling: आयोजनाको वास्तविक वित्तीय अवस्था र पुनर्निर्माण समयअनुसार ऋणको भुक्तानी तालिका मिलाउने।
  • कालोसूची रोक्ने व्यवस्था: विपद्‌‌का कारण भुक्तानी प्रभावित भएका प्रवर्द्धकलाई कालोसूचीमा राख्ने प्रक्रिया रोक्ने।
  • सहुलियतपूर्ण पुनर्वित्त: प्रभावित आयोजनालाई पुनर्निर्माणका लागि सहुलियत ब्याजदरमा थप वित्तीय स्रोत उपलब्ध गराउने।

यी व्यवस्था सामान्य ऋण मिनाहा होइनन्। विपद्‌‌ले असामान्य रूपमा प्रभावित आयोजनालाई पुनः सञ्चालनयोग्य बनाउने उद्देश्यले ऋणको समय, वर्गीकरण र वित्तीय स्रोतको व्यवस्थापन सहज बनाउने प्रस्ताव हुन्।

बैंकको आधार दरभन्दा कम ब्याजमा ऋण दिन नसक्ने समस्या पनि उठाइयो

प्रतिवेदनले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रस्तावसँगै बैंकको आधार दर (Base Rate) सम्बन्धी व्यवस्थाले राहतको प्रभाव सीमित गर्न सक्ने विषय पनि उठाएको छ।

हालको ढाँचामा बैंकले आफ्नै आधार दरभन्दा कम ब्याजदरमा ऋण उपलब्ध गराउन नसक्ने अवस्थामा प्रभावित आयोजनालाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन खोज्दा बैंकिङ नियमनकै कारण कठिनाइ हुन सक्छ। त्यसैले SEEN ले नेपाल राष्ट्र बैंकको निर्देशनमा आधार दरसम्बन्धी विषयसमेत सम्बोधन गर्नुपर्ने प्रस्ताव गरेको छ।

अर्थात्, ऋणको किस्ता स्थगन वा पुनर्संरचना मात्र पर्याप्त नहुन सक्छ। पुनर्निर्माणका लागि थप ऋण उपलब्ध गराउँदा ब्याजदर नै असहज हुने अवस्था भए राहत प्याकेज प्रभावकारी नहुने प्रतिवेदनको आशय छ।

बीमा रकम पहिले, त्यसपछि आफ्नै स्रोत र सरकारी पुनर्निर्माण कोष

SEEN ले पुनर्निर्माणको वित्तीय स्रोत जुटाउने क्रमसमेत नीतिगत रूपमा निर्धारण गर्नुपर्ने प्रस्ताव गरेको छ। प्रतिवेदनअनुसार बीमा रकम पहिलो स्रोत हुनुपर्छ। त्यसपछि आयोजना आफ्नै स्रोत तथा पूँजीगत बजेट पुनःप्राथमिकता, सरकारी पुनर्निर्माण कोष र अन्त्यमा सहुलियतपूर्ण तथा जलवायु वित्तको प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ।

छिटो पुनःस्थापना गर्न सकिने संरचनाका लागि बीमा रकम र आफ्नै स्रोत प्रयोग गर्ने तथा पूर्ण पुनर्निर्माणका लागि सरकारी पुनर्निर्माण कोष र सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने प्रस्ताव छ।

यसले पुनर्निर्माणको सबै लागत बैंक ऋणमा निर्भर हुने अवस्था घटाउने र प्रत्येक वित्तीय स्रोत कुन प्रयोजनमा प्रयोग गर्ने भन्ने स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

२०२४ मा स्वीकृत आकस्मिक ऋण सुविधा प्रयोग भए/नभएको यकिन गर्न आग्रह

प्रतिवेदनले अक्टोबर २०२४ मा स्वीकृत Contingent Credit Facility पनि उल्लेख गरेको छ। त्यस्तो सुविधा यस प्रकारको विपद्‌‌का लागि तयार गरिएको भए पनि त्यसको उपयोग अवस्था, कहाँ खर्च भएको र कति रकम बाँकी छ भन्ने विषय अर्थ मन्त्रालयसँग तत्काल यकिन गर्न ऊर्जा मन्त्रालयलाई सुझाव दिइएको छ।

SEEN ले उक्त सुविधाबाट उपलब्ध रकम पुनर्निर्माणका लागि उपयोग गर्न सकिने अवस्था भए त्यसको परिचालन र बाँकी स्रोतबारे स्पष्ट निर्णय लिनुपर्ने उल्लेख गरेको छ।

जलविद्युत् क्षेत्रका लागि छुट्टै जोखिम बाँडफाँट संयन्त्र आवश्यक

विपद्‌‌को सबै लागत आयोजना प्रवर्द्धक, बैंक वा विद्युत् उपभोक्तामाथि मात्र थोपर्ने वित्तीय संरचना दीर्घकालीन रूपमा उचित नहुने प्रतिवेदनको अर्को महत्त्वपूर्ण निष्कर्ष छ।

SEEN ले जलविद्युत् क्षेत्रका लागि Risk-sharing Model आवश्यक रहेको उल्लेख गर्दै सरकारको नेतृत्वमा विपद्‌‌को लागत बाँडफाँट गर्ने व्यवस्था विकास गर्न सुझाव दिएको छ। निजी क्षेत्रका आयोजनाका लागि परियोजनाको अवस्था (सञ्चालनमा रहेको, निर्माणाधीन, पूर्वनिर्माण चरणमा वा अध्ययनकै क्रममा रहेको) अनुसार फरक राहत प्याकेज बनाउनुपर्ने प्रस्ताव गरिएको छ।

यसमा पूँजी व्यवस्थापन र स्रोत परिचालन सहज बनाउने, सहुलियतपूर्ण ऋण, उत्पादन अनुमतिपत्रको अवधि थप गर्ने र पुनःस्थापनाका लागि आयात गरिने उपकरणमा राहत दिने विषयसमेत समेटिएका छन्।

पुनर्निर्माणको लागत विद्युत् महसुल वा प्रवर्द्धकको वासलातमा मात्र नराख्न आग्रह

प्रतिवेदनले नयाँ जोखिमअनुसार जलविद्युत् आयोजना पुनर्निर्माण गर्दा पुरानो डिजाइनभन्दा उच्च सुरक्षा मापदण्ड लागू गर्नुपर्ने भएकाले अतिरिक्त लागत उत्पन्न हुने उल्लेख गरेको छ। यस्तो अतिरिक्त लागत जलवायु वित्तबाट जुटाउनुपर्ने र विद्युत् महसुल वा प्रवर्द्धकको वासलातमा मात्र भार पार्न नहुने SEEN को सिफारिस छ।

सहुलियतपूर्ण पुनर्भरणयोग्य जलवायु वित्त पुनर्निर्माणका लागि ठूलो स्रोत हुन सक्ने प्रतिवेदनले उल्लेख गरेको छ। जोखिमअनुसार बीमा प्रिमियम तथा नयाँ सुरक्षा मापदण्ड लागू गर्दा लाग्ने अतिरिक्त खर्चसमेत जलवायु वित्तमार्फत सम्बोधन गर्न प्रस्ताव गरिएको छ।

पुनर्निर्माणमा ढिलाइ भए बैंक, प्रवर्द्धक र ऊर्जा प्रणाली तीनै पक्ष संकटमा

भोटेकोशी-त्रिशूली करिडोरमा १३ जलविद्युत् आयोजना प्रभावित भएका छन्। करिब ७५९ मेगावाट क्षमता प्रभावित भएको प्रतिवेदनको समग्र विवरणमा उल्लेख छ भने प्रारम्भिक क्षति ८२ अर्ब रुपैयाँभन्दा बढी अनुमान गरिएको छ।

यी आयोजनाको पुनर्निर्माण लामो समयसम्म अनिश्चित रहँदा बैंकको लगानी जोखिममा पर्ने, प्रवर्द्धकको वित्तीय दायित्व बढ्ने र विद्युत् उत्पादन पुनःस्थापना ढिलाइ हुने अवस्था सिर्जना हुन सक्छ।

SEEN ले त्यसैले पुनर्निर्माणको प्राविधिक योजना स्वीकृत गर्नुअघि प्रत्येक आयोजनाको बीमा अवस्था स्पष्ट गर्न, वित्तीय स्रोतको क्रम निर्धारण गर्न र नियामक निकायहरूले तत्काल आवश्यक निर्देशन जारी गर्न आग्रह गरेको छ।

विपद्‌‌ले आयोजना ध्वस्त बनाएको अवस्थामा प्रवर्द्धकलाई ऋण तिर्न नसकेको दोषीका रूपमा व्यवहार गर्नुको सट्टा पुनर्निर्माण गर्न सक्ने वित्तीय वातावरण तयार गर्नु आवश्यक छ। अन्यथा, पुनर्निर्माणका लागि आवश्यक पूँजी जुटाउनुपर्ने कम्पनी नै बैंकिङ संकटमा फसेर आयोजना पुनः सञ्चालन गर्ने क्षमताबाट वञ्चित हुन सक्छ।

त्यही जोखिम रोक्न नेपाल राष्ट्र बैंकको तत्काल निर्णय आवश्यक रहेको SEEN को प्रतिवेदनले औंल्याएको छ।

प्रकाशित मिति : बुधबार, मंसिर ०९, २०८३ | १५:४७:४४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया