यसकारण असफल भयो प्रधानमन्त्रीको भारत भ्रमण
नेपालको दीर्घकालीन ऊर्जा हित सुनिश्चित गर्ने कुनै ठोस उपलब्धि हासिल भएन।
विकास थापा
अरु सरकार र अरु प्रधानमन्त्रीभन्दा यो सरकार र हाम्रा प्रधानमन्त्री बालेन शाहसँग नेपाली जनताको पृथक् अपेक्षा थियो। करिब दुई तिहाईको सरकार, स्वच्छ छवि, देश र जनताका लागि केही गरौं भन्ने हुटहुटी, पुराना दलका नेताहरुका कृत्यबाट वाक्कदिक्क भएका जनता। यस्तो अवस्थामा निकै लामो अन्तरलापछि नेपाल सरकार प्रमुखको भारत भ्रमणलाई अर्थपूर्ण, अपेक्षापूर्ण रुपमा हेरिनु स्वाभाविक थियो। विशेष गरेर भारतसँग ऊर्जा व्यापार, जलस्रोतको उपयोग, भारतले अड्काएका परियोजना, उसले गरिदिनुपर्ने तर नगरिदिएका लगायत समग्र रुपमा ऊर्जा तथा जलस्रोत क्षेत्रका दृष्टिले हेर्दा बालेन सरकारको यो भ्रमण असफल रह्यो।
प्रधानमन्त्री शाहको भारत भ्रमणले केही आयोजना र पूर्वाधार अघि बढाउने सहमति जुटाए पनि विद्युत् बजारको सुनिश्चितता, जलस्रोतको लाभ बाँडफाँट, निर्यात अवरोध र नेपालको रणनीतिक ऊर्जा हितका विषयमा ठोस परिणाम खोज्न सकेन। नेपाल–भारत ऊर्जा सहकार्य आयोजनाको सूचीमा होइन, दीर्घकालीन राष्ट्रिय लाभमा केन्द्रित हुनुपर्थ्यो।
प्रधानमन्त्री शाहको भारत भ्रमणमा ऊर्जा क्षेत्रका केही आयोजना अघि बढाउने सहमति भए। ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन टुंग्याउने निर्देशन, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको अध्ययनलाई गति दिने सहमति तथा दुई ठूला सीमापार प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठनमा भएको प्रगतिलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।
तर, नेपाल–भारत ऊर्जा सम्बन्धको वास्तविक समस्या केही आयोजना अघि बढ्नु वा प्रसारण लाइन बन्नु मात्रै होइन। नेपालले आगामी वर्षहरूमा ठूलो परिमाणमा विद्युत् उत्पादन गर्दै जाँदा त्यसलाई कहाँ, कसरी, कुन मूल्यमा र कति समयसम्म बिक्री गर्ने भन्ने सुनिश्चितता बढी महत्त्वपूर्ण हुँदै गएको छ। नेपालको ऊर्जा उत्पादन क्षमता बढ्दै जाँदा बजारको अनिश्चितता, भारतको विद्युत् व्यापारसम्बन्धी स्वीकृति प्रक्रिया र सीमापार प्रसारण क्षमतामा निर्भरता अझ संवेदनशील विषय बन्नेछ।
प्रधानमन्त्रीको भ्रमण यही बदलिँदो ऊर्जा परिस्थितिलाई ध्यानमा राखेर भारतसँग नयाँ चरणको ऊर्जा सहकार्य स्थापित गर्ने अवसर थियो। तर, भ्रमणले आयोजना र पूर्वाधारको निरन्तरताभन्दा माथि उठेर नेपालका ऊर्जा हितलाई दीर्घकालीन रूपमा सुरक्षित गर्ने रणनीतिक समझदारी स्थापित गर्न सकेन।
विद्युत् व्यापारमा बजारको सुनिश्चितता खोज्नुपर्थ्यो
नेपाल र भारतबीच ऊर्जा सहकार्यको सबैभन्दा महत्त्वपूर्ण विषय विद्युत् व्यापार हो। नेपालले भारतलाई विद्युत् निर्यात गर्दै आएको छ र आगामी दिनमा निर्यातयोग्य ऊर्जा थपिँदै जाने अपेक्षा छ। तर भारतीय बजारमा सहज प्रवेश पाउनु र त्यहाँ दीर्घकालीन रूपमा व्यापार गर्न सक्ने सुनिश्चितता हुन सकेन।
नेपालका आयोजनाले भारतीय बजारमा विद्युत् बिक्रीका लागि विभिन्न स्वीकृति र बजारसम्बन्धी प्रावधानहरूको सामना गर्नुपर्छ। अर्थात् पटके अनुमति। दर्जनौं जलविद्त् आयोजनाबाट उत्पादन बिजुली 'बेची पाउँ' भनी नेपालले निवेदन हालेको वर्षौं भइसकेको छ। कतिखेर भारतको फोक्सो फुल्छ अनि त्यति बेला एउटा आयोजनाले उसको ऊर्जा विनिमय बजारमा पटके अनुमति पाउँछ। हरेक वर्ष नवीकरण गर्नुपर्ने बाध्यताले बिजुली लिइदिन्छ कि लिइदिंदैन भन्ने संशय नेपाल विद्युत् प्राधिकरणलाई हमेसा हुने गर्छ।
गत अक्टोबर ३० सम्म नेपालले भारतको बिहार, उत्तर प्रदेश र हरियाणालाई द्विपक्षीय सम्झौतामार्फत अल्पकालीन रुपमा बिजुली बेचेको थियो। प्राधिकरणले गत अगष्टमै ३० अक्टोबरपछि उक्त बिजुली भारतीय ऊर्जा विनिमय (आईईएक्स) मा बेची पाउँ भनी निवेदन हाल्यो, भारतले वास्तै गरिदिएन र गत कात्तिक र अस्तिसम्म नेपालले बिजुली खेर फाल्नु पर्यो। जबकी भारतले आफ्नो देशमा करिब ६५ प्रतिशत बिजुली कोइला बालेर उत्पादन र खपत गर्दै आएको छ। पाँच-छ सय मेगावाट नवीकरणीय तथा स्वच्छ ऊर्जा लिइदिएको भए भारतको केही बिग्रनेवाला थिएन। यसले भारतको नियत उजागर गर्छ।
कुनै आयोजनाले विद्युत् उत्पादन गर्न थालेपछि मात्रै बजार खोज्ने अवस्था रहनु लगानीका दृष्टिले जोखिमपूर्ण छ। उत्पादन हुने विद्युत् भारतीय बजारमा प्रवेश गर्न पाउने वा नपाउने विषय उत्पादनकर्ता र नेपालको नियन्त्रणभन्दा बाहिरका निर्णयमा निर्भर रहन सक्छ।
प्रधानमन्त्रीले भारतसँग नेपालको विद्युत् निर्यातका लागि दीर्घकालीन, पारदर्शी र पूर्वानुमान गर्न सकिने बजार पहुँचको व्यवस्था माग गर्नुपर्थ्यो। निश्चित अवधिका लागि निर्यात स्वीकृतिको स्थिर व्यवस्था, स्वीकृतिमा राजनीतिक वा प्रशासनिक अनिश्चितता कम गर्ने संयन्त्र र विद्युत् व्यापारमा भेदभावरहित व्यवहार सुनिश्चित गर्ने विषय द्विपक्षीय वार्ताको प्राथमिकता हुनुपर्ने थियो।
नेपालले भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरिसकेको भए पनि बजार पहुँच, व्यापारिक प्रक्रिया र वास्तविक कारोबारको सहजता अझै महत्त्वपूर्ण छन्। दीर्घकालीन सम्झौताको अस्तित्वलाई मात्रै पर्याप्त उपलब्धि मान्न सकिँदैन; त्यसले नेपालको विद्युत् बजारमा वास्तविक अवसर कति सिर्जना गर्यो भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
भारतको बजारमा पहुँचलाई परियोजना वा उत्पादकविशेषको विषय नबनाई नेपाल र भारतबीचको ऊर्जा व्यापार प्रणालीकै विषय बनाइनुपर्थ्यो।
भारतीय बजारमा निर्भरता घटाउने र व्यापार विविधीकरण
नेपालको विद्युत् व्यापार अहिले भारतसँग अत्यधिक निर्भर छ। भारतीय बजार नेपालको विद्युत् निर्यातको मुख्य गन्तव्य भएकाले भारतको नीतिगत निर्णय, बजार मूल्य र व्यापारिक प्रक्रियाले नेपालको ऊर्जा क्षेत्रलाई प्रत्यक्ष असर गर्छ।
भारतसँग विद्युत् व्यापार विस्तार गर्नु नेपालको हितमा छ। तर एउटै बजारमा निर्भर रहनु जोखिमपूर्ण पनि हुन्छ। त्यसैले भारतसँगको सहकार्यलाई बंगलादेशसम्म विद्युत् व्यापार विस्तार गर्ने बाटो खोल्ने रणनीतिसँग जोड्न आवश्यक थियो।
नेपालबाट बंगलादेशमा विद्युत् निर्यात सुरु भइसकेको छ, तर भारतको प्रसारण प्रणाली प्रयोग नगरी यस्तो व्यापार सम्भव छैन। त्यसैले भारतसँग नेपाल–भारत–बंगलादेश त्रिपक्षीय विद्युत् व्यापारलाई नियमित, दीर्घकालीन र विस्तारयोग्य बनाउने विषयमा सहमति खोज्नुपर्थ्यो।
भारतले नेपालको विद्युत् व्यापारमा केवल द्विपक्षीय खरिदकर्ता मात्र नभई क्षेत्रीय विद्युत् व्यापारको सहजकर्ता भूमिका निर्वाह गर्ने व्यवस्था स्थापित गर्न सक्थ्यो। यसले नेपाललाई एउटै बजारमा सीमित हुनबाट जोगाउँथ्यो र भारतलाई पनि क्षेत्रीय ऊर्जा व्यापारको केन्द्रका रूपमा लाभ दिन्थ्यो।
प्रसारण लाइनमा लगानीसँगै व्यापारको अधिकार पनि
इनरुवा–न्यू पूर्णिया र दोधारा–बरेली प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठनमा भएको प्रगतिलाई स्वागत गर्नुपर्छ। यद्यपि यो विषय बालेन सरकार जन्मनुभन्दा अघिको हो। नेपालबाट भारतमा विद्युत् निर्यात बढाउन उच्च क्षमताका प्रसारण लाइन आवश्यक छन्। तर प्रसारण पूर्वाधार निर्माणमा सहमति हुनु र त्यसको उपयोगबाट नेपालले निश्चित व्यापारिक लाभ प्राप्त गर्नु अलग विषय हुन्।
नेपालले भारतसँग प्रसारण लाइन निर्माणको लागत, लगानीको ढाँचा, स्वामित्व, सञ्चालन, विद्युत् प्रवाहको प्राथमिकता, प्रसारण शुल्क र क्षमताको उपयोगबारे स्पष्ट व्यवस्था खोज्नुपर्थ्यो। नेपालले आफ्नो विद्युत् उत्पादन बढाउँदै जाँदा सीमापार प्रसारण लाइनमा पर्याप्त क्षमता उपलब्ध हुने सुनिश्चितता पनि आवश्यक छ। नेपाल र भारत मिलेर संयुक्त रुपमा सीमापार प्रसारण लाइन बनाउने तर त्यसको पूरै बुकिङ भने नेपालले गर्नुपर्छ। तथापि त्यसरी बनेको सीमापार प्रसारण लाइनबाट नेपालले बिजुली निर्यात गर्ने विषयको चाहिं ग्यारेन्टी छैन, उसले दिंदैन।
प्रसारण लाइन निर्माण भएपछि पनि नेपालले विद्युत् पठाउन नसक्ने, बजारमा पहुँच नपाउने वा प्रसारण क्षमता अन्य व्यापारले ओगट्ने अवस्था आयो भने पूर्वाधार निर्माणको उपलब्धता अपूर्ण हुनेछ।
त्यसैले नेपालले नयाँ प्रसारण लाइनलाई केवल भारतीय बजारमा बिजुली पुर्याउने भौतिक संरचनाका रूपमा होइन, नेपालको विद्युत् व्यापार अधिकार र बजार पहुँच सुनिश्चित गर्ने रणनीतिक पूर्वाधारका रूपमा वार्ता गर्नुपर्थ्यो।
माथिल्लो अरुण र दूधकोशीमा भारतीय सहमति किन महत्त्वपूर्ण?
नेपालले विश्व बैंक र एसियाली विकास बैंकजस्ता बहुपक्षीय संस्थाको लगानीमा अघि बढाउन खोजेका माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनाहरूमा भारतको चासो र सहमतिका विषय पनि ऊर्जा कूटनीतिका महत्त्वपूर्ण एजेन्डा हुन्। माथिल्लो अरुणमा भारतको सहमति र दूधकोशीमा भारतको चासोका विषयले आयोजना अघि बढाउने प्रक्रियालाई प्रभावित पारिरहेको थियो।
नेपालले आफ्नो जलविद्युत् आयोजना विकास गर्दा तल्लो तटीय देशको सरोकारलाई सम्मान गर्नुपर्छ। तर, त्यसका नाममा आयोजना विकासको प्रक्रिया अनिश्चितकालसम्म रोकिरहने अवस्था पनि स्वीकार्य हुँदैन। नेपालले आयोजनाबाट भारतलाई पर्ने सम्भावित प्रभावका विषयमा आवश्यक अध्ययन, तथ्य र प्राविधिक जानकारी उपलब्ध गराउँदै भारतसँग स्पष्ट समयसीमाभित्र सहमति वा असहमति टुंग्याउने व्यवस्था खोज्नुपर्थ्यो।
माथिल्लो अरुणजस्ता रणनीतिक आयोजनामा वित्तीय स्रोत जुटाउने, निर्माणको लागत घटाउने, आयोजना समयमै अघि बढाउने र नेपालले अधिकतम लाभ प्राप्त गर्ने विषयमा पनि द्विपक्षीय सहकार्यको प्रस्ताव गर्न सकिन्थ्यो। भारतसँग आयोजना विकासमा सहकार्य गर्ने तर नेपालको आयोजना विकास गर्ने अधिकार र प्रक्रिया अनिश्चिततामा नपर्ने व्यवस्था स्थापित गर्नु आवश्यक छ।
पञ्चेश्वरमा डीपीआरभन्दा पहिले लाभ बाँडफाँटको टुंगो
पञ्चेश्वर बहुउद्देश्यीय आयोजना नेपाल-भारत जलस्रोत सहकार्यको सबैभन्दा ठूलो सम्भावना बोकेको आयोजना हो। तर यो आयोजना वर्षौंदेखि विस्तृत परियोजना प्रतिवेदनमै अल्झिएको छ। यसको मूल समस्या प्राविधिक अध्ययन मात्रै नभई पानीको उपयोग, लाभको मूल्यांकन, लगानीको अनुपात र लाभ बाँडफाँटसम्बन्धी विषयमा दुई देशबीच सहमति नहुनु हो।
भारतको तल्लो तटीय क्षेत्रमा सिँचाइ, बाढी नियन्त्रण र पानीको उपयोगसँग सम्बन्धित हित छन्। नेपालका लागि विद्युत् उत्पादन, सिँचाइ, जलाशयको लाभ र बाढी व्यवस्थापन महत्त्वपूर्ण छन्। यी सबै लाभको मूल्यांकन गरेर लगानी र लाभ बाँडफाँटको न्यायोचित आधार तय गर्नुपर्ने हो।
प्रधानमन्त्रीले पञ्चेश्वरको डीपीआर चाँडो टुंग्याउने निर्देशनमा मात्रै सीमित नरही 'लाभ बाँडफाँटका विवादित विषयलाई राजनीतिक तहबाट समाधान गर्ने समयसीमा र कार्ययोजना' मा सहमति खोज्नुपर्थ्यो।
पञ्चेश्वरको उपलब्धि डीपीआर तयार हुनु होइन, दुवै देशले आफ्नो लाभ र दायित्व स्पष्ट रूपमा स्वीकार गरी आयोजना कार्यान्वयनमा प्रवेश गर्नु हो। नेपालले यसलाई फेरि अर्को अध्ययन, निर्देशन र बैठकको चक्रमा सीमित हुन दिनु हुँदैन। हरेक प्रधानमन्त्रीका भारत भ्रमणमा पञ्चेश्वर टुंग्याउन आ-आफना सरकारी कर्मचारीलाई निर्देशन दिने केवल परम्परा मात्र बन्दै आएको छ, कार्यान्वयन होइन।
बाढी नियन्त्रण र सिँचाइलाई विद्युत्सँगै जोड्नुपर्थ्यो
नेपाल र भारतबीचको ऊर्जा सहकार्यलाई विद्युत् उत्पादन र व्यापारमा मात्र सीमित गर्नु हुँदैन। दुई देशका नदी प्रणाली, बाढी, सिँचाइ र जलवायु परिवर्तनका जोखिम आपसमा जोडिएका छन्। नेपालका नदीमा आउने बाढीले सीमावर्ती भारतीय क्षेत्रलाई पनि प्रभावित पार्न सक्छ भने भारतमा नदी व्यवस्थापन र तटबन्ध निर्माणले नेपालको सीमावर्ती क्षेत्रमा असर पारेको छ। महलीसागर, लक्ष्मणपुर बाँध यसका उदाहरण हुन्।
सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर अघि बढाउने सहमति यसै कारण महत्त्वपूर्ण छ। संयुक्त वक्तव्यमा पञ्चेश्वरसहित सप्तकोशी र सुनकोशी आयोजनालाई अघि बढाउने तथा बाढीको असर न्यूनीकरणका लागि सहकार्य गर्ने उल्लेख छ। तर, यी आयोजनाको अध्ययन अघि बढाउने सहमति मात्र पर्याप्त छैन। नेपालले भारतसँग नदी बेसिनमा आधारित संयुक्त योजना, बाढी पूर्वानुमान प्रणाली, जलप्रवाहको वास्तविक समयको तथ्यांक आदानप्रदान, जलाशय सञ्चालनको समन्वय र बाढीबाट हुने क्षति न्यूनीकरणका लागि साझा संयन्त्र प्रस्ताव गर्नुपर्थ्यो।
दुवै देशका लागि बाढी नियन्त्रण, सिँचाइ र जलविद्युत् एउटै जलस्रोत व्यवस्थापनको हिस्सा हुन्। यसलाई छुट्टाछुट्टै आयोजना होइन, संयुक्त नदी व्यवस्थापनको रणनीतिमा लैजानुपर्ने थियो।
पेट्रोलियम पूर्वाधारभन्दा ऊर्जा सुरक्षाको व्यापक रणनीति
भारतसँग पेट्रोलियम पाइपलाइन विस्तारमा भएको सहकार्य पनि महत्त्वपूर्ण छ। मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण, झापा क्षेत्रमा पेट्रोलियम भण्डारण पूर्वाधार अघि बढाउने र सिलिगुडी–झापा पाइपलाइनलाई गति दिने सहमति नेपालका लागि सकारात्मक छन्। दुवै देशले ग्यास पाइपलाइन निर्माणमा सहकार्य खोज्ने विषय पनि संयुक्त वक्तव्यमा समेटेका छन्।
तर, पेट्रोलियम आपूर्तिमा भारतसँगको सहकार्यलाई नेपालले ऊर्जा सुरक्षाको व्यापक अवधारणामा जोड्नुपर्छ। आपूर्ति मार्गको विविधीकरण, भण्डारण क्षमता, आपत्कालीन आपूर्ति व्यवस्था, पूर्वाधारको सुरक्षा र लागतसम्बन्धी विषयमा दीर्घकालीन सहकार्य आवश्यक छ। पाइपलाइन विस्तारले आपूर्ति सहज बनाउन सक्छ, तर नेपालले पेट्रोलको पाइप मात्र होइन बिजुलीको तारले कनेक्टिभिटी बढाउनुपर्नेमा उल्टो भयो। आफ्नो ऊर्जा सुरक्षाका लागि एउटै मार्ग वा स्रोतमा अत्यधिक निर्भर नहुने नीति पनि अपनाउनुपर्छ।
नेपालले भारतसँग के माग्नुपर्थ्यो?
प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जा क्षेत्रका विषयलाई आयोजनाको सूचीभन्दा माथि उठाएर निम्न विषयमा ठोस समझदारी खोज्न सकिन्थ्यो।
- विद्युत् बजारको सुनिश्चितता: नेपाली विद्युत्लाई भारतीय बजारमा प्रवेश र बिक्रीका लागि स्थिर, पारदर्शी तथा पूर्वानुमानयोग्य व्यवस्था।
- दीर्घकालीन विद्युत् व्यापार: निश्चित अवधिका लागि विद्युत् खरिद, बिक्री र व्यापारका नियममा स्थिरता।
- बंगलादेशसम्मको व्यापार सहजीकरण: भारतीय प्रसारण प्रणालीमार्फत नेपालबाट बंगलादेशसम्म विद्युत् व्यापार विस्तार गर्न दीर्घकालीन व्यवस्था।
- सीमापार प्रसारण लाइनको सुनिश्चितता: निर्माण, सञ्चालन, लागत, प्रसारण क्षमता र व्यापारिक उपयोगका विषयमा स्पष्ट व्यवस्था।
- नेपालका रणनीतिक आयोजनाको अवरोध हटाउने: माथिल्लो अरुण, दूधकोशीजस्ता आयोजनामा आवश्यक प्राविधिक सहमति तथा वित्तीय प्रक्रिया टुंग्याउन समयसीमा।
- पञ्चेश्वरको लाभ बाँडफाँट: पानी, विद्युत्, सिँचाइ, बाढी नियन्त्रण र अन्य लाभको वैज्ञानिक मूल्यांकन गरी लगानी तथा लाभ बाँडफाँटको टुंगो।
- जलाशययुक्त आयोजनाको साझेदारी: नेपालका जलाशययुक्त आयोजनालाई भारतको विद्युत् मागसँग जोडेर लगानी, बजार र मूल्यको सुनिश्चितता।
- संयुक्त नदी व्यवस्थापन: बाढी पूर्वानुमान, जलप्रवाहको तथ्यांक आदानप्रदान, सिँचाइ र बाढी नियन्त्रणमा संस्थागत सहकार्य।
- ऊर्जा सुरक्षाको साझेदारी: पेट्रोलियम तथा ग्यास आपूर्ति, भण्डारण र वैकल्पिक आपूर्ति मार्गको विकास।
- नयाँ ऊर्जा प्रविधि: सौर्य ऊर्जा, ऊर्जा भण्डारण, हरित हाइड्रोजन र प्राविधिक क्षमता विकासमा संयुक्त लगानी तथा अनुसन्धान।
आयोजना घोषणा होइन, रणनीतिक उपलब्धि
नेपाल र भारतबीच ऊर्जा सहकार्यको सम्भावना विशाल छ। भारतलाई स्वच्छ ऊर्जा, विद्युत् व्यापार, जलाशययुक्त आयोजना र क्षेत्रीय ऊर्जा प्रणालीमा नेपालको योगदान आवश्यक पर्न सक्छ। नेपाललाई बजार, लगानी, प्रविधि र सीमापार प्रसारण पूर्वाधार चाहिन्छ। दुवै देशका आवश्यकता एकअर्काका पूरक बन्न सक्छन्।
तर यस्तो पूरकता स्वतः नेपालको हितमा परिणत हुँदैन। त्यसका लागि नेपालले स्पष्ट राष्ट्रिय ऊर्जा रणनीति, वार्ता गर्न सक्ने संस्थागत क्षमता र आफ्नो हितलाई प्राथमिकतामा राख्ने राजनीतिक नेतृत्व आवश्यक पर्छ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा केही आयोजना अघि बढाउने सहमति भए पनि नेपालले यही पारस्परिक निर्भरतालाई आफ्नो ऊर्जा हित सुनिश्चित गर्ने अवसरका रूपमा उपयोग गर्न सकेको देखिएन। भारतसँग विद्युत् व्यापार विस्तार, जलाशययुक्त आयोजनाको विकास, जलस्रोतको लाभ बाँडफाँट र बजारको सुनिश्चिततामा नयाँ राजनीतिक समझदारी स्थापित गर्ने अवसर थियो।
नेपालको ऊर्जा कूटनीति अब कति मेगावाटको आयोजना बनाउने वा कति किलोमिटर प्रसारण लाइन निर्माण गर्ने भन्नेमा मात्रै सीमित हुनु हुँदैन। नेपालले कति विद्युत् बेच्न पाउँछ, कस्तो मूल्य पाउँछ, बजारमा कति समयसम्म पहुँच पाउँछ र जलस्रोतबाट कति राष्ट्रिय लाभ प्राप्त गर्छ भन्ने सुनिश्चित गर्ने कूटनीति चाहिन्छ।
बालेन शाहको भारत भ्रमण ऊर्जा क्षेत्रमा यही स्तरको रणनीतिक छलफल र परिणाम ल्याउनुपर्ने थियो। त्यसैले केही आयोजना अघि बढेको उपलब्धिलाई स्वीकार गर्दा पनि समग्र ऊर्जा कूटनीतिक उपलब्धिको मूल्यांकनमा भ्रमण अपेक्षाअनुसार सफल हुन नसकेको निष्कर्ष निकाल्न सकिन्छ।
असफलताको पृष्ठभूमि
सामान्यतया भ्रमणअघि नै ऊर्जा क्षेत्रमा के कस्ता सहकार्य गर्ने, के के समझदारी गर्ने भनेर पहिले नै तय भइसकेको हुन्छ। जसरी आठवटा समझदारी भए, ती भ्रमणअघि नै तय भएर तयारी अवस्थामा राखिएका विषय हुन्। तर ऊर्जा क्षेत्रका लागि कुनै तयारी र गृहकार्य नै नभएको देखियो। जसरी अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट ल्याउनुअघि 'यसो गर्नु पर्यो, उसो गर्नु पर्यो, यस्तो नीति ल्याउनु पर्यो' भनेर बजेटअघि निकै छलफल, गोष्ठी भए तर बजेट आउँदा बिजुलीमा भ्याट, शिक्षा र स्वास्थ्यमा कर लगाएर असफल अर्थमन्त्रीका रुपमा दर्ज हुन पुगे, त्यसैगरी बालेनको भ्रमणअघि भारतसँगको ऊर्जा सहयात्रामा यसो हुनु पर्यो उसो हुनु पर्यो भनेर नेपालका विज्ञ र पूर्व प्रशासक, पूर्वमन्त्रीहरु कराएका थिए, त्यसको ठीक उल्टो अर्थात् केही भएन।
ऊर्जाका दृष्टिले यो भ्रमण असफल हुनुमा एउटा प्रमुख कारण छ— नेपालका प्रधानमन्त्री शाहलाई नेपालको ऊर्जा क्षेत्रप्रति अरुचि हुनु। उनले चाहेको भए भारतसँग पहिले नै गृहकार्य गर्न ऊर्जा र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिन्थे। त्यसअनुसार ऊर्जा मन्त्रालयले एजेण्डा बनाउँथ्यो। तर ऊर्जामा कुनै सहमति वा समझदारी नहुने भएकै कारण उनले आफ्नो भ्रमण दलमा ऊर्जा मन्त्री र ऊर्जा सचिवलाई सहभागी गराएनन्, बरु मन्त्रालयका सहसचिवलाई लिएर हिंडे, जसको भ्रमणमा कुनै सन्दर्भै देखापरेन।
यसअघि गत दशैतिर नेपाल र भारत जलस्रोत सचिव स्तरीय बैठक (जेसीडब्लूआर) बसेको थियो। बैठकको नेतृत्व नवनियुक्त ऊर्जा सचिवले गरेका थिए। उनी ऊर्जा सचिव हुन् तर ऊर्जा र जलस्रोतसम्बन्धी विषयका ज्ञाता होइनन्। बैठक भयो तर माइन्यूटिङ नै भएन। जेसीडब्लूआरको इतिहासमा माइन्यूट नै नगरी भारतीय जलस्रोत सचिव हिंडेको त्यो पहिलेपटक थियो। यो बैठकको असफलताको असर आगामी दिनमा पर्ने अनुमान त्यतिखेरै गरिएको थियो। त्यसैको फलस्वरुप ऊर्जा र जलस्रोतका मुद्दा प्रधानमन्त्रीको भारत भ्रमणमा ओझेलमा पर्न गयो। जलस्रोत र ऊर्जा बुझेको सचिव नभएकै कारण जेसीडब्लूआर असफल भयो जसले अन्तत: प्रधानमन्त्रीकै भ्रमण असफल गराइदियो।
यो विश्लेषण भ्रमणको संयुक्त वक्तव्यमा उल्लेख भएका सहमति र नेपालको ऊर्जा क्षेत्रका दीर्घकालीन रणनीतिक आवश्यकताबीच तुलना गरेर तयार गरिएको हो। भ्रमणमा सहमति भएका विषय र नेपालले वार्तामा थप उठाउनुपर्ने विषयलाई अलग राखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
यसकारण असफल भयो प्रधानमन्त्रीको भारत भ्रमण
-
विद्युत् चुहावट १२.२६ बाट १२.१६ प्रतिशतमा झर्यो
-
नेप्से ८.७० अंकले बढ्यो, कारोबार ६ अर्ब १४ करोड, जलविद्युत् समूहका कम्पनीमा आकर्षण
-
विपद्ले आयोजना ध्वस्त, ऋणले प्रवर्द्धकलाई कालोसूचीमा पार्ने जोखिम; राष्ट्र बैंकसँग तत्काल राहत माग
-
एनएमबी बैंकले भिसाबाट दुई अवार्ड पायो
-
नेपालको ऊर्जा क्षेत्र : वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावित परिदृश्य