जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बाढी, पहिरो र डुबानबाट हालसम्म देशभर ६६ जनाको मृत्यु, ६९ बेपत्ता, ६० घाइते

जलसरोकार
आइतबार, असोज १३, २०८१ | ०७:५८:०१ बजे

काठमाडौं : गत बिहीबारदेखि देशका अधिकांश स्थानमा परेको अबिरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाहरुबाट हालसम्म ६६ जनाको मृत्यु, ६९ बेपत्ता र ६० जना घाइते भएका छन् ।
गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सडक, पुल, सार्वजनिक सम्पत्ति र व्यक्तिका निजी घर तथा आवासहरुमा क्षति पुगेको छ । 
प्रतिकूल मौसमका कारण हेलिकप्टरमार्फत उद्धार गर्ने कार्यमा भएको कठिनाई हुँदाहुँदै काठमाडौं उपत्यका तथा देशका विभिन्न स्थानबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका जनशक्ति, स्थानीय स्वयंसेवक तथा गैरसरकारी संस्थासमेतको सहयोगमा जोखिममा रहेका मानिसहरुको उद्धार कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले असोज १० देखि १४ गतेसम्म चार दिन भारी एवं अति भारी मनुसनी वर्षा हुने पूर्वानुमान गरेको थियो । 
मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत असोज १० गते आम सर्वसाधरणलाई सतर्क रहन, अति जरुरी अवस्थामा मात्र याता गर्न, खोज तथा उद्धार र प्रतिकार्यको लागि सुरक्षा निकाय एवं स्वयंसेवकहरुलाई तयारी अवस्थामा रहन सूचित गरेको विज्ञप्तिमा छ । 
सम्भावित सडक दुर्घटनालाई न्यूनीकरण गर्न असोज ११ गतेदेखि नै सडकको अवस्था सहज नभएसम्म काठमाडौं उपत्यकाबाट बाहिरिने रात्रीकालीन सावरी साधनलाई रोक लगाइएको मन्त्रालयले उल्लेख गरेको छ ।
मन्त्रालयले विभिन्न सडक खण्डहरुको अवस्था अद्यावधिक गरी जानकारी गराउनुका साथै स्थानीय प्रशासनबाट मौसमको अवस्थालाई मध्यनजर गरी अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न अनुरोध गरिएको स्मरण गराएको छ । 
हिजो गृहमन्त्रीको उपस्थितिमा विपद् पूर्वतयारी तथा प्रतिकार्य कामण्ड पोष्टको बैठक बसेको थियो । उक्त बैठकले असोज १० गतेयता विपद्को घटनाबाट भएको क्षतिको समीक्षा गर्दै प्रभावितहरुको खोज तथा उद्धार र राहतमा सबै सुरक्षा निकायहरु समन्वयात्मक रुपमा परिचालन हुन, खोज तथा उद्धारमा नेपाली सेनाको हेलिकप्टरलगायत केन्द्र, प्रदेश, जिल्ला र स्थानीय स्तरमा उपलब्ध सबै उपकरा र साधन प्रयोग गर्न, अवरुद्ध सडक अविलम्ब सञ्चालनमा ल्याउन, घाइतेहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन र प्रभावितहरुको पुनःस्थापनाका लागि योजना बनाई कार्यान्वयन गर्न निर्देश गरेको मन्त्रालयले जनाएको छ । 
मन्त्रालयले आजसम्म देशका विभिन्न स्थानमा भारती वर्षा हुने पूर्वानुमान गरेकाले सबैलाई सतर्कता अपनाउन, जोखिमयुक्त अवस्थामा रहेकालाई सुरक्षित स्थानमा जान, सम्भावित जोखिममा रहेका लाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, विपद्को घटना घटेमा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति वा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन अनुरोध गरेको छ । 
 

प्रकाशित मिति : आइतबार, असोज १३, २०८१ | ०७:५८:०१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया