वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर
जलसरोकार
बाँके: बाँके जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तु अकालमै मर्ने घटनामा वृद्धि भएको छ ।
गर्मीयाम सुरु भएसँगै प्यास मेटाउन नहरमा पुग्ने चित्तल, मृग, नीलगाई र बँदेलजस्ता वन्यजन्तु नहरमा फसेर मर्ने क्रम बढेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । सूचना अधिकारी टङ्क गुरुङका अनुसार हरेक दिनजसो यस्ता घटना भइरहेका छन् ।
पछिल्लोपटक शनिबार हरलाफाँटा सामुदायिक वन क्षेत्रमा नहरमा फसेका चार वटा चित्तललाई स्थानीय, वन कर्मचारी तथा बाँके राष्ट्रिय निकुञ्ज का कर्मचारीको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको थियो ।
यसअघि राप्तीसोनारी गाउँपालिका–२ खोरियास्थित नहरमा फसेको मृग मारेर मासु भागबण्डा गर्दै घर फर्कँदै गरेका तीन जना स्थानीयलाई निकुञ्ज र वनका कर्मचारीले पक्राउ गरेका छन् ।
वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार वन्यजन्तु पानीको खोजीमा नहरमा पुग्ने गर्छन् । पछिल्लो समय वन डढेलोका कारण वन्यजन्तु भाग्ने क्रममा नहरमा खस्ने घटना अझै बढेको छ ।
“नहरको अधिकांश भाग वन क्षेत्रभित्र पर्छ, जहाँ विभिन्न वन्यजन्तुको बासस्थान छ । तर नहर वन्यजन्तुमैत्री छैन,” उनले भने, “हालसम्म सयौँ वन्यजन्तु नहरमा फसेका छन् । कतिपयलाई उद्धार गरिए पनि धेरै घटना जानकारीमै आउँदैनन्, चोरी सिकारीसमेत हुने गरेका छन् ।”
वन क्षेत्रमा वन्यजन्तुका लागि बनाइएका पोखरी पर्याप्त नहुँदा समस्या झन् गम्भीर बनेको छ । त्रिशक्ति र भगवती सामुदायिक वनमा पानीसहितका पोखरी भए पनि पर्याप्त नभएको स्थानीयको भनाइ छ ।
राप्तीसोनारी–२ का स्थानीय अगुवा मदन वलीका अनुसार सिक्टा सिँचाइ आयोजनाले केही स्थानमा पानी पिउने घाट निर्माण गरे पनि ती सुरक्षित र भरपर्दा छैनन् । “गुणस्तरीय घाट निर्माण र नहरको दुवैतर्फ तारजाली लगाइए मात्रै दीर्घकालीन समाधान सम्भव हुन्छ,” उनले बताए ।
स्थानीय तथा सरोकारवालाले वन्यजन्तुको सुरक्षाका लागि तत्काल प्रभावकारी उपाय अवलम्बन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार