सिक्टा सिँचाइ आयोजनाबाट २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
जलसरोकार
बाँके : सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसान वर्षमा तीन बाली खेतीतर्फ आकर्षित हुन थालेका छन्। विगतमा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेकोमा अहिले सिँचाइको पहुँच बढेपछि किसानले धानपछि आलु वा तोरी र त्यसपछि वसन्ते मकै खेती गर्दै वार्षिक तीन बाली उत्पादन गर्न थालेका हुन्।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकका अनुसार सिँचाइको व्यवस्था भएसँगै किसानको रुचि तीन बाली खेतीतर्फ बढ्दै गएको छ। “आलु र वसन्ते मकैबाट किसानले राम्रो नगद आम्दानी गरिरहेका छन्,” उनले भने, “पहिले धानपछि गहुँ खेती गर्ने किसान दुई बालीमा सीमित थिए भने अहिले गहुँको सट्टा आलु वा तोरी खेती गर्ने किसानले त्यसपछि मकै पनि लगाउन थालेका छन्।”
गहुँको तुलनामा आलु र तोरी छिटो तयार हुने भएकाले त्यसपछि मकै खेती गर्न समय मिल्ने हुँदा तीन बाली सम्भव भएको पाठकले बताए । कृषि ज्ञान केन्द्रले पनि ‘सिँचाइ क्षेत्र लक्षित बाली सघनता वृद्धि कार्यक्रम’ अन्तर्गत वसन्ते मकै खेतीका लागि बीउ तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ।
जिल्लामा हाल बर्खेधान ३३ हजार ७८० हेक्टर, गहुँ २० हजार ८९५ हेक्टर, वसन्ते मकै तीन हजार ५०० हेक्टर, आलु तीन हजार २५० हेक्टर, तोरी छ हजार ५३० हेक्टर र हिउँदे मकै १३५ हेक्टर क्षेत्रमा खेती हुँदै आएको छ।
सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी आपूर्ति भएपछि किसानलाई खेती गर्न सहज भएको छ। आयोजनाका निर्देशक राजु आचार्यका अनुसार राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य राखेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म २४ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भइसकेको छ।
त्यसैगरी, सिँचाइ सुविधा नपुगेका क्षेत्रमा कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा बोरिङ वितरण गर्दै आएको छ।
अखिल नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीका अनुसार नियमित सिँचाइ सुविधा सुनिश्चित भएमा किसानले तीन बाली खेतीमार्फत उत्पादन वृद्धि गरी आर्थिक समृद्धि हासिल गर्न सक्नेछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नौ महिनामा करिब ३ अर्ब ९८ करोड राजस्व सङ्कलन, लक्ष्यभन्दा कम
-
गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा
-
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४० अर्ब तान्दै
-
सिक्टा सिँचाइ आयोजनाबाट २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
-
सुन र चाँदी दुवैको मूल्य घट्यो
-
झोलामा खोला: सरकारी कब्जामा अड्किएका जलाशय आयोजना र नेपालको विकास संकट