सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सिक्टा सिँचाइ आयोजनाकाे चालु वर्षको चैत मसान्तसम्म ७८.३ प्रतिशत मात्रै भौतिक प्रगति

जलसरोकार
शुक्रबार, वैशाख १८, २०८३ | ११:१६:३८ बजे

 

काठमाडौँ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिक्टा सिँचाइ आयोजनाले चालु आर्थिक वर्षको चैत मसान्तसम्म उल्लेखनीय भौतिक र वित्तीय प्रगति भएकाे छ । उक्त आयाेजनाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार २०८२/८३ काे तेस्रो त्रैमासिकसम्ममा आयोजनाको समग्र भौतिक प्रगति ७८.३ प्रतिशत पुगेको छ । त्यस्तै वित्तीय प्रगति ७२.६९ प्रतिशत रहेको छ।

बाँके जिल्लाको कृषि विकासलाई रूपान्तरण गर्ने लक्ष्यसहित करिब दुई दशकअघि सुरु गरिएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। सरकारले आफ्नै स्रोतबाट अघि बढाएको यो आयोजनाले बाँके जिल्लाको ठूलो भूभागमा भरपर्दो सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखे पनि निर्माण प्रक्रिया अझै अन्तिम चरणमै सीमित छ।

उक्त आयोजना आर्थिक वर्ष २०६२/६३ देखि औपचारिक रूपमा सुरु गरिएको हो । 

यस आयोजनाले बाँके जिल्लाका हालका ६ वटा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिका सम्म गरी कुल करिब ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ। यसमध्ये पश्चिम मूल नहरमार्फत राप्ती नदीको पश्चिमी भेगका करिब ३३ हजार ७६६ हेक्टर जमिन र पूर्वी मूल नहरमार्फत पूर्वी भेगका करिब ९ हजार हेक्टर जमिन सिँचित गर्ने योजना रहेको छ।

चालु आर्थिक वर्षका लागि सरकारले १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँ विनियोजन गरेकाे मध्ये चैत मसान्तसम्म ११ अर्ब ४४ करोड ४८ लाख रुपैयाँ खर्च भइसकेको छ। प्रतिवेदन अनुसार आयोजना अन्तर्गत नहर निर्माण, पूर्वाधार विस्तार, जग्गा अधिग्रहण तथा संरचनागत सुधारका कामहरू निरन्तर अघि बढिरहेका छन्।

आयोजनाको प्रगतिको मुख्य उपलब्धि भनेको नहर प्रणालीको सुधार र मर्मत कार्य हो, जसअन्तर्गत बायाँ मूल नहर र विभिन्न शाखा नहरहरूको निर्माण कार्यलाई तीव्रता दिइएको छ। नहरको डिसिल्टिङ र सर्भिस रोड मर्मत कार्य भने शतप्रतिशत सम्पन्न भइसकेको छ, जसले सञ्चालनलाई सहज बनाएको छ। त्यस्तै आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जनाइएको छ।

पूर्वी नहरको नल्डापुर खण्डमा साइट अफिस निर्माण तथा केही भवन संरचनागत सुधारका काम सम्पन्न भएका छन् भने जलवायु परिवर्तनले कृषि उत्पादनमा पार्ने प्रभावबारे अध्ययनसमेत सुरु गरिएको छ। साथै कार्यालय तथा प्राविधिक क्षमताका लागि आवश्यक उपकरणहरू खरिद गरिएको छ। नहर संरक्षणका लागि बायो–इन्जिनियरिङ प्रविधि प्रयोग गरी विभिन्न संरक्षण कार्यक्रम पनि सञ्चालनमा छन्।

तर, प्रगति देखिए पनि आयोजना अझै पूर्णतामा पुग्न नसक्नुले यसको दीर्घ निर्माण प्रक्रिया र कार्यान्वयन गति बारे पुनः प्रश्न उठाएको छ। दायाँ र बायाँ मूल नहरका सबै शाखा तथा वितरण प्रणाली अझै पूर्ण रूपमा सम्पन्न हुन बाँकी छन्। केही स्थानमा जग्गा विवाद र निर्माण ढिलाइका कारण कामको गति प्रभावित हुँदै आएको पनि देखिन्छ।

लामो समयदेखि निर्माणाधीन यो आयोजना सम्पन्न भएमा बाँके जिल्लाको ठूलो कृषि भूभागमा वर्षभरि सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ। यसले कृषि उत्पादनमा उल्लेखनीय वृद्धि गर्दै स्थानीय अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ। तर करिब २० वर्ष बितिसक्दा पनि आयोजना अझै अन्तिम चरणमै सीमित रहनुले यसको समयमै सम्पन्नता र व्यवस्थापन क्षमतामाथि भने प्रश्न कायम नै छ।

 

प्रकाशित मिति : शुक्रबार, वैशाख १८, २०८३ | ११:१६:३८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया