सिद्धबाबा सुरुङमार्ग निर्माण ६५ प्रतिशत सकियो, समयमै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
जलसरोकार
पाल्पा : सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको ६५ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत पुगेको छ । आयोजनाअन्तर्गत १ हजार १२६ मिटर लामो मुख्य सुरुङ निर्माण सम्पन्न भइसकेको छ ।
त्यसैगरी १५१, १६१ र १३० मिटर लम्बाइका तीन वटा पाइपास सुरुङको निर्माण पनि सकिएको छ । हाल सुरुङमार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण, रिटेनिङ वाललगायत संरचना निर्माणाधीन अवस्थामा छन् । समग्रमा २ हजार ३९८ मिटर सडक स्तरोन्नति गर्नुपर्ने आयोजनाले जनाएको छ ।
पहिरो र ढुंगा खस्ने जोखिमबाट सडक सुरक्षित बनाउन ७८० मिटर लम्बाइ, ३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइको रक सेड निर्माण बाँकी छ । मुख्य सुरुङमार्गबाट सवारी सञ्चालन सुरु भएपछि मात्र रक सेड निर्माण कार्य अघि बढाइने बताइएको छ ।
आइतबार आयोजना स्थलको अनुगमन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले निर्माण कार्यलाई तीव्रता दिँदै तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मासहित आयोजना स्थल पुग्नुभएका मन्त्री घिसिङले आयोजना, परामर्शदाता र निर्माण व्यवसायीबीच निरुपण हुन बाँकी विषय तत्काल टुंग्याउन आग्रह गरे ।
“समयमै साइट उपलब्ध नगरिनु, वन कटानमा ढिलाइ, अग्रिम भुक्तानी ढिलो भएको जस्ता कारण देखाउँदै निर्माण व्यवसायीले १९ महिनाको म्याद थप माग गरेको रहेछ,” मन्त्री घिसिङले भने, “यी विषयमा तत्काल निर्णय गरेर टुंगो लगाउनुहोस् । निर्णय नगरेर आयोजनाको निर्माण कुनै पनि हालतमा प्रभावित हुन दिनु हुँदैन ।”
इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सुरुङमार्ग निर्माणका लागि २०७८ फागुन २५ गते चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग करसहित रु सात अर्ब ३४ करोड २१ लाखमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८३ चैतभित्र सुरुङ निर्माण सम्पन्न गर्नुपर्नेछ । त्यसपछि निर्माण कम्पनीले १ हजार ८२५ दिनसम्म सुरुङ सञ्चालन तथा मर्मतसम्भारको जिम्मा लिनेछ । सुरुङमार्ग निर्माण नेपाल सरकारको आफ्नै स्रोतबाट भइरहेको हो ।
सिद्धबाबा क्षेत्रमा वर्षायाम तथा हिउँदमा ढुंगा खस्ने, माटो बग्ने र सुख्खा पहिरो जाने समस्या बारम्बार देखिँदै आएको छ । यसका कारण दुर्घटना, मानवीय क्षति र घण्टौँसम्म ट्राफिक अवरोध हुने गरेको छ । यी समस्या समाधान गर्न सिद्धबाबामा सुरुङमार्ग निर्माण गरिएको हो ।
सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित, भरपर्दो र सहज यात्रा सम्भव हुने, समय तथा दूरी घट्ने र सवारी सञ्चालन खर्च तथा दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा