‘सिक्टा सिँचाइले २४ हजार हेक्टरमा पुर्यायो पानी, बाँकेका किसान समयमै धान खेतीमा’
सिक्टा सिँचाइले किसानमा उत्साह, २४ हजार हेक्टरमा नियमित पानी पुग्दा समयमै धान रोपाइँको तयारी
जलसरोकार
बाँके : निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमार्फत नियमित रूपमा पानी उपलब्ध गराउन थालेपछि बाँकेका किसान उत्साहित बनेका छन्। राप्तीसोनारी गाउँपालिका-२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालनमा रहेको आयोजनाले मर्मतसम्भारको अवधिबाहेक किसानको मागअनुसार वर्षभरि नै नहरमा पानी छोड्दै आएको छ।
सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहका अनुसार किसानलाई सिँचाइ अभाव हुन नदिन आयोजना निरन्तर सक्रिय छ। उनले किसानको आवश्यकतालाई प्राथमिकतामा राखेर बाह्रै महिना पानी उपलब्ध गराउँदै आएको बताउँदै यसबाट धान र गहुँबाली मात्र नभई बेमौसमी तरकारी खेतीसमेत विस्तार हुन थालेको जानकारी दिए ।
आयोजनाले जिल्लाका ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ। हालसम्म भने २४ हजार हेक्टर क्षेत्रफलमा नियमित सिँचाइ सेवा पुगेको छ। यसबाट राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका किसान प्रत्यक्ष लाभान्वित भएका छन्।
विगतमा आकाशे पानीको भरमा खेती गर्न बाध्य किसानहरू अहिले समयमै धानको बीउ राख्न सफल भएका छन्। पर्याप्त वर्षा नभए पनि सिक्टा सिँचाइ पुगेका क्षेत्रमा धानको ब्याड हरियाली भइसकेको छ। राप्तीसोनारी गाउँपालिका-७ का वडाध्यक्ष रामलखन थारुले वडा नं. ६ र ७ अन्तर्गत फत्तेपुर क्षेत्रका किसानले समयमै धानको बीउ राखिसकेको उल्लेख गर्दै सिक्टा आयोजना किसानका लागि वरदान साबित भएको बताए ।
सिँचाइ सुविधा पुगेको २४ हजार हेक्टर क्षेत्रमा किसानले धान खेतीको तयारी तीव्र बनाएका छन्। यता सिँचाइ सुविधा नपुगेका स्थानमा भने किसानले मोटर तथा खानेपानीका धाराबाट पानी प्रयोग गरेर धानको ब्याड राख्ने प्रयास गरिरहेका छन्।
कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माका अनुसार जिल्लामा हालसम्म करिब ४५ प्रतिशत किसानले धानको बीउ ब्याड राखिसकेका छन्। सिँचाइ सुविधा प्राप्त क्षेत्रका साथै वैकल्पिक उपाय अपनाइएका स्थानमा पनि धान खेतीको तयारी भइरहेको उनले बताए ।
बाँकेमा प्रत्येक वर्ष करिब ३३ हजार ७८० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुँदै आएको छ। नियमित सिँचाइ सुविधाले खेतीपातीको समय व्यवस्थापनसँगै उत्पादन वृद्धि र किसानको आम्दानी बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्थानीयलाई जलविद्युत् सेयर अंकित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह
-
माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि सुझाव माग
-
पञ्चेश्वर : कसको हितको आयोजना?
-
साहस ऊर्जाको नाफा ५२ प्रतिशतले बढ्यो, एक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ खुद आम्दानी
-
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
नीतिगत तथा प्रक्रियागत अवरोध ऊर्जा क्षेत्रको मुख्य चुनौती : मन्त्री श्रेष्ठ