सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

जलविद्युत आयोजनाको सहयोगमा बालौटेमा सडक मर्मत सुरु, दीर्घकालीन समाधानका लागि दुई करोडभन्दा बढी बजेट दिने प्रतिबद्धता

जलसरोकार
बुधबार, कात्तिक २६, २०८३ | ०९:१६:१५ बजे

 

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ। पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत आयोजनाको साझेदारीमा सडक मर्मतको काम अघि बढाइएको हो।

गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले बालौटे क्षेत्रमा सडक कटान गरेपछि मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने मुख्य सडक अवरुद्ध भएको थियो। बाढीका कारण दुखुबेँसीको फेदीमा करिब एक सय मिटर सडक भत्किएको छ भने सडकसँगै नजिकैको बस्तीसमेत जोखिममा परेको छ।

म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका अनुसार सडक मर्मतका लागि म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत आयोजनाहरूले डोजर र टिप्पर परिचालन गरेका छन्।

मालिका गाउँपालिकाले उपलब्ध गराएको ढुङ्गा प्रयोग गरेर पूर्वाधार विकास कार्यालयले ग्याबियन जाली भर्ने र तत्कालका लागि अस्थायी रूपमा सडक सञ्चालनमा ल्याउने काम गरिरहेको उनले बताए। उनका अनुसार सडकको स्थायी मर्मतसँगै दुखुबेँसी बस्ती संरक्षणका लागि प्रदेश सरकारले थप बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

“मालिका गाउँपालिकाले उपलब्ध गराएको ढुङ्गा प्रयोग गरी पूर्वाधार विकास कार्यालयले ग्याबियन जाली भरेर तत्कालका लागि अस्थायी रूपमा सडक सञ्चालन गर्ने प्रयास गरिरहेको छ,” जुग्जालीले भने, “सडकको स्थायी मर्मत र दुखुबेँसी बस्ती संरक्षणका लागि गण्डकी प्रदेश सरकारले थप बजेट उपलब्ध गराउने प्रतिबद्धता भौतिक पूर्वाधारमन्त्री नन्दप्रसाद न्यौपानेले गत साता बालौटे पहिरोको निरीक्षणका क्रममा जनाएका छन्।”

प्रदेश सरकारले तत्काल सडक मर्मतका लागि रु २५ लाख उपलब्ध गराएको छ। दीर्घकालीन समस्या समाधानका लागि भने रु दुई करोडभन्दा बढी बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रदेशसभा सदस्य जुग्जालीले बताए।

सडक मर्मतमा म्याग्दीखोला, अपर म्याग्दी, अपर म्याग्दी–१, दरवाङ म्याग्दीखोला र मुदीखोला जलविद्युत आयोजनाले आफ्ना उपकरण परिचालन गरेर सहयोग गरिरहेका छन्। जलविद्युत आयोजनाका निर्माण सामग्री तथा उपकरण ओसारपसारमा समेत यही सडक प्रयोग हुँदै आएको अवस्थामा सडक मर्मतका लागि आयोजनाहरूले उपकरण उपलब्ध गराएका हुन्।

अर्मनखोलामा आएको बाढीले म्याग्दी नदीको धार परिवर्तन गरेपछि बालौटे क्षेत्रमा नदी कटान बढेर सडक भत्किएको हो। सडक क्षतिग्रस्त भएपछि बेनी–दरवाङ सडकमा नियमित यातायात सेवा प्रभावित भएको छ।

मुख्य सडकको तत्कालीन समस्या समाधान गर्न दुखुखोलामा ह्युमपाइप राखेर दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको मालिका गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले बताउनुभयो। उहाँका अनुसार वैकल्पिक सडक सञ्चालन भए पनि यसको दीर्घकालीन समाधानका लागि सडक मर्मतसँगै दुखुबेँसी बस्तीको संरक्षण गर्नुपर्ने आवश्यकता छ।

हाल सञ्चालनमा ल्याइएको वैकल्पिक सडक साँघुरो, कच्ची र उपयुक्त ग्रेड नमिलेको भएकाले ठूला सवारीसाधनलाई एकअर्कासँग सहज रूपमा आवतजावत गर्नसमेत समस्या छ। बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्ने उक्त सडकमा म्याग्दीखोला बेसिनमा निर्माणाधीन छवटा जलविद्युत आयोजनाका निर्माण सामग्री र उपकरण ढुवानी गर्ने सवारीसाधनको चापसमेत बढेको छ।

यसले वैकल्पिक सडकमा यातायात व्यवस्थापन थप चुनौतीपूर्ण बनाएको छ। त्यसैले बालौटेमा क्षतिग्रस्त मुख्य सडकको स्थायी पुनर्निर्माणसँगै नदी कटान नियन्त्रण र दुखुबेँसी बस्ती संरक्षणलाई समेत एकीकृत रूपमा अघि बढाउनुपर्ने स्थानीयको माग छ।

 

 

प्रकाशित मिति : बुधबार, कात्तिक २६, २०८३ | ०९:१६:१५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया