'प्रतिवेदन र प्रस्तुतिले चर्चा कमाउँछ, इन्जिनियरिङले जीवन बचाउँछ' : सांसद न्यौपाने
विपद् व्यवस्थापन र विकास निर्माणमा विज्ञताको मूल्याङ्कन प्रतिवेदन र प्रस्तुतिबाट होइन, कार्यक्षेत्रको नतिजाबाट हुनुपर्ने धारणा
जलसरोकार
काठमाडौं : तनहुँ-२ का प्रतिनिधिसभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेले विपद् व्यवस्थापन तथा विकास निर्माणमा विज्ञताको मूल्याङ्कन प्रतिवेदन र प्रस्तुतिका आधारमा नभई कार्यक्षेत्रमा देखिने परिणामबाट हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै न्यौपानेले प्रतिवेदन र प्रस्तुतिले चर्चा कमाउन सक्ने भए पनि इन्जिनियरिङको वास्तविक धर्म जीवन बचाउनु, संरचना सुरक्षित बनाउनु र निर्धारित लागत, समय तथा गुणस्तरमा आयोजना सम्पन्न गर्नु रहेको उल्लेख गरेका छन्।
उनले कागजको कला र विपद्को मैदानमा समेटिएका प्रस्तुतिका माध्यमबाट चर्चा कमाउने प्रवृत्तिमाथि प्रश्न उठाउँदै विपद्को मैदानमा उभिएर जीवन बचाउनु, संरचना जोगाउनु र पुनर्निर्माण गर्नु वास्तविक इन्जिनियरिङ भएको बताएका छन्।
'विश्वमञ्चमा कहिलेकाहीँ फिल्डमा काम नगर्नेको विपद्को कथा सुनाउने र फिल्डमा काम गर्नेकै आलोचना गर्ने बढी चर्चा हुन्छन्,' उनले लेखेका छन्।
न्यौपानेले इन्जिनियरिङ पेसाको मूल धर्म नै जीवन बचाउनु र संरचनालाई सुरक्षित बनाउनु भएको उल्लेख गरेका छन्। उनका अनुसार इन्जिनियरिङको मूल्याङ्कन गर्दा आयोजनाको लागत, समय र गुणस्तरमा देखिने उपलब्धि तथा त्यसले जनतालाई दिएको प्रतिफललाई आधार बनाउनुपर्छ।

उनले इन्जिनियरिङको वास्तविक सफलता प्रतिवेदन तयार पार्नु वा आकर्षक प्रस्तुति दिनुमा नभई प्राविधिक ज्ञान र अनुभवलाई व्यवहारमा उतारेर जनताको जीवन तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुमा रहेको धारणा राखेका छन्।
'प्रचारले व्यक्तित्व चम्काउन सक्ला, तर वास्तविक प्रतिष्ठा कामको गुणस्तर र त्यसले दिएको प्रतिफलबाट स्थापित हुन्छ। त्यसैले मूल्याङ्कन प्रस्तुतिको होइन, नतिजाको गरौँ; प्रचारको होइन, जनताले प्राप्त गर्ने प्रतिफलको गरौँ,' न्यौपानेले आफ्नो सन्देशमा भनेका छन्।
उनको अभिव्यक्तिले विपद् व्यवस्थापन, पूर्वाधार विकास र सार्वजनिक आयोजना कार्यान्वयनमा विज्ञताको वास्तविक भूमिका तथा प्राविधिक जिम्मेवारीको विषयलाई पुनः बहसमा ल्याएको छ।
विशेषगरी विपद्का बेला प्रत्यक्ष प्राविधिक क्षमता, तत्काल निर्णय गर्ने दक्षता, संरचनागत सुरक्षाको ज्ञान र पुनर्निर्माणको अनुभवको महत्त्वलाई उनको अभिव्यक्तिले उजागर गरेको छ।
विकास निर्माणमा प्रतिवेदन र योजना आवश्यक भए पनि तिनको वास्तविक औचित्य कार्यान्वयनबाट प्राप्त हुने नतिजाले पुष्टि गर्नुपर्ने उनको सन्देशको मूल आशय देखिन्छ। राज्यले विज्ञताको उपयोग गर्दा सैद्धान्तिक ज्ञानसँगै सम्बन्धित क्षेत्रको व्यावहारिक अनुभव, प्राविधिक क्षमता र परिणाम दिन सक्ने योग्यतालाई पनि महत्त्व दिनुपर्ने बहस यसले अघि सारेको छ।
इन्जिनियरिङको सफलता कागजमा होइन, सुरक्षित संरचना र जनताले पाउने प्रतिफलमा देखिनुपर्छ भन्ने न्यौपानेको सन्देशले विकास निर्माणको उत्तरदायित्वमाथि महत्त्वपूर्ण प्रश्न उठाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
'प्रतिवेदन र प्रस्तुतिले चर्चा कमाउँछ, इन्जिनियरिङले जीवन बचाउँछ' : सांसद न्यौपाने
-
नेपालले विश्व जलवायु सम्मेलन (कोप-३१) मा क्षतिपूर्ति मात्र होइन, ऊर्जा साझेदारीको प्रस्ताव पनि लैजानुपर्छ
-
नेपाल गरिब होइन, गरिब बनाइएको हो !
-
प्राकृतिक विपद्का बीच लक्ष्मीपूजाको विद्युत् माग सफलतापूर्वक व्यवस्थापन, भारततर्फ ५८७ मेगावाट निर्यात
-
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
-
तिहारमा झिलिमिली बत्ती बाल्दा विद्युत् सुरक्षामा ध्यान दिन प्राधिकरणको आग्रह