सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना, तराईमा हुस्सु–कुहिरोको जोखिम

जलसरोकार
बुधबार, कात्तिक २६, २०८३ | ०९:१०:३१ बजे

 

काठमाडौँ : देशका हिमाली क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसममा आंशिक बदलीसँगै केही हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपात हुनसक्ने भएकाले चिसो बढ्ने अनुमान गरिएको छ।

नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ । त्यस्तै, अन्य हिमाली तथा पहाडी भूभाग र मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने तराईका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ।

यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा पनि छिटपुट वर्षा हुनसक्ने मौसमविद् ढकालले बताउनुभयो।

राति पनि देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्नेछ।

यसैबीच, राति तराईका भूभाग, काठमाडौँ उपत्यका तथा विभिन्न खोंचमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ। हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा चिसो बढ्नुका साथै सडक तथा हवाई यातायातमा समेत सामान्य असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

प्रकाशित मिति : बुधबार, कात्तिक २६, २०८३ | ०९:१०:३१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया