सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

प्राकृतिक विपद्का बीच लक्ष्मीपूजाको विद्युत् माग सफलतापूर्वक व्यवस्थापन, भारततर्फ ५८७ मेगावाट निर्यात

जलसरोकार
सोमबार, कात्तिक २४, २०८३ | ०९:२४:२६ बजे

 

काठमाडौं : प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युत्‌काे उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरेको छ। आन्तरिक माग धान्दै प्राधिकरणले एकै समयमा भारततर्फ ५८७ मेगावाटभन्दा बढी विद्युत् निर्यातसमेत गरेको छ।

आइतबार साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। सो समयमा प्रणालीको कुल पिक भार २ हजार ४००.३० मेगावाट पुगेको थियो। त्यसबाट ५८७.३० मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ। उक्त समयमा प्रणालीमा विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट रहेको थियो।

प्राकृतिक विपद्का कारण उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगेको अवस्थामा समेत लक्ष्मीपूजाजस्तो उच्च विद्युत् माग हुने दिन आपूर्ति व्यवस्थापन हुनु प्राधिकरणका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। विशेषगरी रसुवा क्षेत्रमा करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको अवस्थामा माग र आपूर्तिबीच सन्तुलन कायम गर्नु थप चुनौतीपूर्ण बनेको थियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विपद्का कारण प्रणालीमा ठूलो क्षति पुगे पनि विद्युत्‌काे उच्चतम माग व्यवस्थापन गर्न सफल भएकोमा प्राधिकरणका कर्मचारी, व्यवस्थापन र आम उपभोक्तालाई धन्यवाद दिएका छन् । 

मन्त्री श्रेष्ठ आइतबार साँझ ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापनका अधिकारीसहित प्राधिकरणको भार प्रेषण केन्द्र पुगेका थिए। उनले त्यहाँ विद्युत्‌काे माग र आपूर्तिको अवस्थाबारे जानकारी लिनुका साथै पछिल्ला तीन वर्षको लक्ष्मीपूजाको विद्युत् माग तथा आपूर्तिको तथ्यांकसमेत विश्लेषण गरेका थिए।

उनले चुनौतीपूर्ण परिस्थितिका बीच पनि विद्युत् माग व्यवस्थापन हुनु सकारात्मक उपलब्धि भएको बताउँदै सुरक्षित र मितव्ययी रूपमा विद्युत् प्रयोग गरेर उज्यालोको पर्व मनाएकोमा उपभोक्तालाई धन्यवाद दिए । नियमित र भरपर्दो विद्युत् आपूर्तिका लागि अहोरात्र खटिएका प्राधिकरणका कर्मचारीको योगदानको प्रशंसा गर्दै उनले आगामी दिनमा समेत विद्युत् आपूर्तिलाई सुरक्षित, भरपर्दो र नियमित बनाउन प्रतिबद्धताका साथ काम गर्न सम्बन्धित निकायलाई आग्रह गरे।

प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजाका लागि स्वतन्त्र ऊर्जा उत्पादकबाट १ हजार ५३६.५० मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, प्राधिकरणका नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध भएको थियो।

प्राकृतिक विपद्का कारण उत्पादन क्षमताको ठूलो हिस्सा प्रभावित भए पनि प्रणालीमा उपलब्ध स्रोतलाई अधिकतम उपयोग गर्दै माग व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ। उत्पादन, प्रसारण र वितरण प्रणालीमा हुन सक्ने प्राविधिक समस्या तत्काल समाधान गर्न देशभरका सम्बन्धित निकाय तथा प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार विद्युत् प्रणालीलाई अविच्छिन्न राख्न आवश्यक उपकरण र प्राविधिक जनशक्ति तयारी अवस्थामा राखिएको थियो। सम्भावित समस्या तत्काल समाधान गर्न ट्रान्सफर्मरसहितका आवश्यक उपकरण परिचालन गरिएको र कुनै स्थानमा समस्या देखिए १५ मिनेटभित्र समाधान गर्ने गरी प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको उनले बताए ।

प्राधिकरणको तथ्यांकअनुसार यस वर्ष लक्ष्मीपूजाको दिन विद्युत्को उच्चतम माग गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ। २०८२ सालको लक्ष्मीपूजामा उच्चतम माग १ हजार ७४५ मेगावाट पुगेको थियो भने २०८१ सालमा १ हजार ६०२ मेगावाट थियो। यस वर्षको उच्चतम माग गत वर्षको तुलनामा ६८ मेगावाट बढी हो।

काठमाडौं उपत्यकामा समेत विद्युत्को माग बढेको छ। यस वर्ष लक्ष्मीपूजाको समयमा उपत्यकाको विद्युत् माग ४८९ मेगावाट पुगेको थियो, जुन गत वर्षको ४०२ मेगावाटको तुलनामा ८७ मेगावाट बढी हो।

बढ्दो आन्तरिक माग, विपद्का कारण उत्पादन प्रणालीमा आएको क्षति र प्रसारण संरचनामा देखिएका चुनौतीका बीच पनि देशभित्र विद्युत् आपूर्ति अवरोध हुन नदिनुका साथै अतिरिक्त विद्युत् भारततर्फ निर्यात गर्न सक्नुले नेपालको विद्युत् प्रणालीको क्षमता र व्यवस्थापनमा आएको सुधारलाई देखाएको प्राधिकरणको दाबी छ।

 

 

प्रकाशित मिति : सोमबार, कात्तिक २४, २०८३ | ०९:२४:२६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया