बागमती नदीको पुनर्जीविकरणः एक अनन्त अभियान


बागमती नदीको सफाइ र यस नदीको पुनर्जीविकरण वा बागमती सभ्यताको संरक्षण वा यसको पुनरुत्थान आदि आदि नाममा व्यवसाय चलाउने व्यक्ति, संस्था वा निकायहरू नेपालमा प्रशस्त देखिन्छन्। समाज कल्याण परिषद्मा दर्ता भएका वा अन्य सरकारी निकायमा दर्ता भई वा कतै पनि दर्ता नभई चलेका फेसबुके झुण्डहरू पनि प्रशस्त देखिन्छन्। काठमाडौँ उपत्यकाका पालिकाहरू पनि “हराभरा काठमाडौँ” जस्ता नाराहरूमा मात्र सीमित भएका होइनन् होला, बागमती सफाइका नाममा बागमती र बागमतीका सहायक नदीका फोहोर बटुल्ने र सामाजिक सञ्जालमा तस्वीरहरू पोस्ट गर्नेहरूको पनि ठूलो सञ्जाल देखिन्छ काठमाडौँमा। तर, बिचरी आफ्ना सबै सहायक नदीसहितको बागमती नदी दिनानुदिन प्रदूषित हुँदैछ, दुर्गन्धित हुँदैछ।
यसमा सबैभन्दा प्रभावकारी त निशब्द बाढी हो, जसले यो नदीलाई सालाना सफा गर्ने कार्य कुनै प्रचारबिना नै गरिरहेको छ। यसैको निरन्तरता मात्र देखिन्छ वास्तविक रूपमा बागमती सफाइ अभियानहरूमा।
सरकारी दस्तावेजहरू तथा सहरका पाँचतारे होटलमा सीमित रहेका कार्यपत्रहरूले नेपाली जनताले तिरेको करबाट संकलित ठूलो धनराशि खर्च गरिसके होलान् बागमतीको बाढी र सफाइका नाममा। नागमती बाँधजस्ता फितला यस्ता सरकारी बजेट सिध्याउने खेलका लागि रचिएका नाटकहरूमा पनि धेरै रकम खर्च भएको होला नै। सरकारी आँकडाहरूले नदी सफा भएका प्रमाणहरू देखाएका नै होलान् दस्तावेजहरूमा। तर, बिचरी बागमती वर्षातको अन्त्यसँगै पुनः शनै शनै आफ्नो स्वाभाविक जस्तो भइसकेको दुर्गन्धित अवस्थातिर फर्कन बाध्य बनाइन्छ। यो निरन्तर चलिरहेको छ र निकट भविष्यमा यसको अन्त्य हुने कुनै लक्षण देखिएको छैन।
यसको दोषी को हो त?
सबैभन्दा सजिलो उत्तर त “बागमती आफै दोषी हो” किनभने यो अमूक छ, यसले ‘होइन’ भन्न सक्दैन। आफ्नो बचाउ गर्न सक्दैन। बागमती आफै दोषी हो भने यसलाई कारबाही गरौँ, यसका नजिक अवस्थित हाम्रा सांस्कृतिक धरोहरहरूलाई कारबाही गरौँ, दुर्गन्ध फैलाउने वायुलाई कारबाही गरौँ, यस्तो दुर्गन्धित हावा सेवन गर्न बाध्य काठमाडौँबासीलाई कारबाही गरौँ, सबै मूक दोषीहरूलाई कारबाही गरौँ र नदी प्रदूषण गर्ने यो खेललाई जसरी भए पनि कायम राखौँ। किनभने यसै व्यवसायबाट त हामी धेरैको गुजारा चलेको छ नि। होइन भने, यो नाटक बन्द गरौँ र वास्तविकता खोजौँ, अनुसन्धान गरौँ, पत्ता लगाऔँ अनि वास्तविक रूपमा देखिने गरी प्रभावकारी रूपमा नदीहरू सफा गरौँ। नत्र कति बेरसम्म हामी मूकदर्शक बनेर यस दुर्गन्धित बास्नाको सेवन गर्ने?
बागमती सफाइका उद्देश्यहरू
बागमती नदी तथा यसका सहायक नदीहरूको भौतिक, रासायनिक तथा जैविक सफाइका साथै यो नदी बागमती सभ्यतासँग एकदमै अनन्याश्रित सम्बन्ध भएको हुँदा बागमती नदी सफाइ र पुनर्जीविकरणका निम्न प्रमुख उद्देश्यहरू हुनुपर्दछ:
१. नदीको भौतिक, रासायनिक तथा जैविक सफाइ: यसमार्फत चरणबद्ध रूपमा यो नदीलाई दुर्गन्धरहित तथा जलचरका लागि बस्नयोग्य नदीमा परिणत गर्ने।
२. बागमतीलगायत सबै सहायक नदीहरूको उचित व्यवस्थापन: यसअन्तर्गत नदीहरूलाई कम्तीमा पनि दश हजार वर्षमा एकपटक आउन सक्ने बाढीको पानी सुरक्षित हिसाबले बग्न आवश्यक वहाव क्षेत्रको व्यवस्था गर्ने। त्यसका लागि मिचिएका जमिन पुनः प्राप्त गरी नदी व्यवस्थापन गर्ने। छोपिएका नदीखण्डहरूलाई निजहरूको अधिकार सुनिश्चित हुने गरी व्यवस्थापन गर्ने।
३. सांस्कृतिक निधिहरूको संरक्षण र प्रवर्द्धन: नदी किनारमा अवस्थित निधिहरूको संरक्षण, संवर्द्धन गरी उचित व्यवस्थापन गर्ने।
४. शिक्षामा समावेशीकरण: बागमती तथा सहायक नदीहरू, सम्बन्धित संस्कृति तथा मठमन्दिरबारे जानकारी प्राथमिक तहदेखि उच्च तहसम्मको पाठ्यक्रममा समावेश गरी सांस्कृतिक चेतना र प्रदूषणबारे चेतना दिने।
५. अनुसन्धान र सहकार्य प्रवर्द्धन: नेपाली तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग समन्वय गरी अध्ययन-अनुसन्धान गर्ने वातावरण सिर्जना गर्ने।
६. स्वस्थ्य वातावरण निर्माण: हराभरा काठमाडौँ तथा बासिन्दालाई स्वच्छ वातावरणमा बाँच्ने अधिकार सुनिश्चित गर्ने।
७. जलचरमैत्री नदी प्रवाह सुनिश्चित गर्ने: नदीहरूलाई जलचरको लागि उपयुक्त जीवनवास स्थल बनाउने।
यसको समाधान के त?
धेरै विद्वानहरूले यस विषयमा चिन्तन-मनन नगरेका होइनन्। एकजना उच्च पदस्थ सरकारी व्यक्तित्वले आफ्ना सेनामेनासहित बागमतीका विभिन्न स्थानबाट विभिन्न किसिमका फोहोर बटुलेर नदी किनारमै विसर्जन गर्ने अभियान नै चलाए। तर, कानुन बनाएर समाधान खोज्नुपर्ने ठाउँमा उल्टै चाकडीबाजहरूका लागि नयाँ शैली र नयाँ चाकडीस्थल सिर्जना गरिएको देखियो। बागमतीको स्वास्थ्यमा भने कुनै सुधार आएन। उद्देश्य नै थिएन सुधार गर्ने, कसरी सुध्रियोस् पनि। यस्ता नाटकीय नौटंकीहरू देखिए बागमती किनारमा। तर समाधानतर्फ एक पाइला पनि अघि बढेको देखिएन।
मेरो विचारमा यस्तो सफाइ कार्य अनन्तकालसम्म अभियान चलाइराख्न सकियोस् भन्ने लक्ष्यले प्रेरित भएको हो। चाँडै सफाइ भएमा अभियान तुहिने डर हुने नै भयो।
झन् सरकारी निकायहरूले त “नदीको पानी प्रशोधन गर्ने योजना” तर्जुमा गरेर कार्यान्वयन पनि गरे। त्यसले बागमतीको अनन्तकालसम्म फोहोर हुने सुनिश्चित भयो, भाषणको विषय पनि चिरकालसम्म कायम रह्यो, अनि त्यसमाथि केही कमिशन पनि आउन सक्ने भयो।
तर म उल्टो कुरा गर्छु। मैले देखेको विकल्प यस्ता छन्:
क. भौतिक रूपमा गनाउने फोहोर
१. कुन मितिमा, कुन स्थानमा कति फोहोर छ भन्ने डेटाबेस तयार गर्नुपर्ने।
२. फोहोरका स्रोत तथा प्रकारहरूको पहिचान।
३. पहिचान भएका स्रोतहरू बन्द गर्ने, सफा गर्ने, नयाँ स्रोत निर्माणमा कानुनी रोक।
ख. भौतिक रूपमा नगनाउने फोहोर
१. नदी किनारका जमिन हडप्ने, भूमिगत गर्नेजस्ता फोहरी कार्यहरू।
२. सांस्कृतिक धरोहरको विकृति वा दुरुपयोग।
३. अध्ययन अनुसन्धानमा उदासीनता।
अब के गर्ने त?
१. बागमती नदीलाई प्रभावकारी रूपमा सफा गर्ने।
२. नदी र सहायक नदीहरूको ऐतिहासिक, सांस्कृतिक र भौतिक महत्त्व जोगाउनः
क. सबै संघ-संस्थालाई एउटै संरचनाभित्र ल्याउने र समन्वयकारी कार्यक्रम सञ्चालन गर्ने।
ख. नदी, समुदाय र संस्कृति बीचको सम्बन्ध पहिचान गरी अझ प्रगाढ बनाउने।
ग. नदीको पूर्व र वर्तमान वहाव क्षेत्र नक्साङ्कन गरी सीमा निर्धारण गर्ने।
घ. संस्कृति-सम्पदाको संरक्षण र संवर्द्धनमा बहुपक्षीय समन्वय गर्ने।
ङ. अध्ययन अनुसन्धानमा नेपाली तथा विदेशी विश्वविद्यालयलाई आह्वान गर्ने।
च. नदीको संकुचन, प्रदूषण तथा दोहनबाट परेको असर अध्ययन गर्ने।
छ. पुनर्जीविकरणका लागि योजनाहरू तयार पार्ने।
ज. जलचर र वातावरणीय प्रभावलाई पाठ्यक्रममा समावेश गर्ने।
३. आवश्यक कानुन बनाउने र कार्यान्वयन गर्ने।
४. सफाइका तथ्याङ्क संकलन, मूल्याङ्कन र प्रभावकारी कार्य योजना तयार गर्ने।
अस्तु…
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
यी हुन् विद्युत् विकास विभागबाट सम्मानित हुने जलविद्युत् र सौर्य आयोजनाहरु
-
हालसम्म ४७ हजार मेगावाटका जलविद्युत् ‘पहिचान’
-
आइएमई पे र खल्ती मर्ज भई ‘खल्ती बाइ आइएमई’ सेवा सञ्चालनमा, देशकै सबैभन्दा ठूलो डिजिटल वालेटको रूपमा सुरुआत
-
नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजार उत्साहजनक रूपमा वृद्धि, नेप्से २८७० मा
-
बागमती नदीको पुनर्जीविकरणः एक अनन्त अभियान
-
सिँचाइ विस्तारबाट ५२ हेक्टर जमिन लाभान्वित, नदी नियन्त्रणले ११० परिवारलाई राहत