प्रधानमन्त्री दाहालले गरे अरूण ३ जलविद्युतको सुरूङ ब्रेक थ्रू
कमल धिताल
संखुवासभा, आम्राङ : संखुवासभामा निमार्णाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरूङ मार्ग ब्रेक थ्रु भएको छ ।
संखुवासभास्थित मकालु गाउँपालिका-५ आम्राङमा आयोजित एक कार्यक्रममा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले सुरूङमार्गको ब्रेक थ्रु गरेका हुन् ।
फ्याक्सिन्दास्थित बाँधस्थलदेखि दिङमा निर्माण हुने विद्युत् गृहसम्म पानी पुर्याउन ९.५ मिटर परिधिको ११.७८ किमि सुरुङ मार्ग निर्माण गरिएको हो ।
सन् २००८ मा भारत सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत् निगमले प्रतिस्पर्धाका आधारमा यसको लाइसेन्स लिएको थियो । सन् २०१४ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।
सन् २०१८ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजनाको शिलान्यास गरेका थिए ।
प्रवर्द्धक कम्पनी सतलजले सन् २०१८ देखि आयोजना निर्माणको काम सुरू गरेको थियो । आगामी सन् २०२५ मार्चसम्म यो आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य छ । हालसम्म निर्माणतर्फ ७५ प्रतिशत काम सकिएको छ भने प्रसारण लाइनतर्फ २० प्रतिशत मात्रै प्रगति भएको आयोजनाले जनाएको छ । आयोजनाको कुल अनमानित लागत ९२ अर्ब हाराहारी छ । हालसम्म ६४ अर्ब खर्च भएको आयोजनाले जनाएको छ ।

करिब ६० प्रतिशत वित्तीय र ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । सन् २०२४ मा सक्ने लक्ष्य रहे पनि कोशी राजमार्गको दुरवस्था, सरकारले समयमा सहजीकरण नगर्दा र स्थानीय समस्यालगायतले ढिलाइ भएकाे आयोजनाले जनाएको छ ।
आयोजनाबाट नेपाललाई २१.९ प्रतिशत अर्थात् १ सय ९७ मेगावाट निःशुल्क बिजुली प्राप्त हुनेछ । आयोजनाले उत्पादन सुरू भएको १५ वर्षसम्म ७.५ प्रतिशत र त्यसपछिका १० वर्ष १२ प्रतिशत ऊर्जा रोयल्टी नेपाल सरकारलाई बुझाउनु पर्नेछ ।
यस्तै उत्पादन सुरूपछिको १५ वर्षसम्म ४०० रूपैयाँ प्रतिमेगावाट र त्यसपछिका १० वर्ष प्रतिमेगावाट १८ सय रूपैयाँ जडान क्षमता रोयल्टी सरकारलाई बुझाउनु पर्नेछ ।
निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने पीडीएमा उल्लेख छ । आयोजनाबाट वार्षिक उर्जा उत्पादन ४ अर्ब १ करोड ८० लाख युनिट हुनेछ
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्