सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भूमिगत लाइन बिछ्याउन १२ दिन विभिन्न क्षेत्रमा विद्युत् कटौती

जलसरोकार
शुक्रबार, मंसिर ११, २०८३ | ११:५५:५० बजे

बल्खु, नैकाप, बाफल, कोटेश्वर, इमाडोल, बत्तीसपुतलीलगायतका क्षेत्रमा फरक–फरक दिन विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । विद्युत् वितरण लाइन भूमिगत गर्ने कामका लागि काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार मंसिर ३ देखि १४ गतेसम्म विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा बिहान १०ः३० बजेदेखि साँझ ६ बजेसम्म विद्युत् कटौती गरिनेछ ।

प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युत् वितरण लाइन भूमिगत गर्ने कामका लागि निर्धारित क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्न लागेको जनाएको छ । उपभोक्तालाई आफ्नो क्षेत्रको विद्युत् कटौती हुने मिति र समयबारे जानकारी गराउँदै आवश्यक तयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

कुन दिन कहाँ विद्युत् बन्द हुन्छ ?

प्राधिकरणको सूचनाअनुसार मंसिर ३ गते बालाजु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् बन्द हुनेछ । मंसिर ४ गते धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनीदेखि शिखल ग्राउन्डसम्म विद्युत् आपूर्ति प्रभावित हुनेछ ।

मंसिर ५ गते कालिमाटी र बाफल क्षेत्रमा सुचाटार पुल आसपास विद्युत् बन्द गरिनेछ । मंसिर ६ गते पुनः बालाजु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् कटौती हुनेछ ।

मंसिर ७ गते कोटेश्वर/इमाडोल फिडरअन्तर्गत ईटिटिआर १ र ईटिटिआर १५ क्षेत्रमा विद्युत् बन्द हुनेछ । मंसिर ८ गते बालाजु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा पुनः कटौती हुनेछ ।

मंसिर ९ गते कोटेश्वर फिडरअन्तर्गत ईटिटिआर २६ र ईटिटिआर ४ क्षेत्रमा विद्युत् बन्द हुनेछ । मंसिर १० गते धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत शिखल ग्राउन्डदेखि कालोपुलसम्म विद्युत् आपूर्ति रोकिनेछ ।

मंसिर ११ गते बालाजु/थानकोट फिडरअन्तर्गत सतुङ्गलदेखि डुडुवा अड्डासम्म, मंसिर १२ गते कोटेश्वर फिडरअन्तर्गत ईटिटिआर ८ र ईटिटिआर ६ क्षेत्रमा विद्युत् कटौती हुनेछ ।

त्यस्तै, मंसिर १३ गते थानकोट फिडरअन्तर्गत बलम्बुदेखि सगरमाथा स्क्याटलाइट स्टेसनसम्म र मंसिर १४ गते धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत शिखल ग्राउन्डदेखि कालोपुलसम्म विद्युत् बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले मौसम प्रतिकूल भएमा उल्लिखित कार्यतालिका रद्द हुन सक्ने जनाएको छ ।

विद्युत् आपूर्ति बन्द हुने समयमा प्रभावित क्षेत्रका उपभोक्ताले विद्युतीय उपकरण प्रयोग, पानी तान्ने मोटर, कार्यालय तथा व्यवसाय सञ्चालनलगायतका कामका लागि पूर्वतयारी गर्नुपर्नेछ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ११, २०८३ | ११:५५:५० बजे

प्रतिक्रिया