सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भोटेकोशी बाढी : पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

जलसरोकार
शुक्रबार, मंसिर ११, २०८३ | १३:४८:२६ बजे

 

रसुवा : सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेसीबाट सुरु गरेको छ। बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उनकी नवजात छोरीलाई पहिलो महिनाको रु १७ हजार ५०० आर्थिक सहायता बैंक खातामा जम्मा गर्दै बिहीबारदेखि योजना कार्यान्वयनमा ल्याइएको हो।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले उच्च जोखिममा रहेका बालबालिकाको संरक्षणका लागि परिवारमै राखेर १८ वर्ष उमेर पूरा नहुँदासम्म मासिक रु १७ हजार ५०० सहायता उपलब्ध गराइने बताउनुभयो। आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका तथा विशेष संरक्षण आवश्यक पर्ने बालबालिकालाई समेत दीर्घकालीन भरणपोषण र संरक्षणको व्यवस्था गरिने उनले जानकारी दिइन्।

मन्त्री वादीले स्थानीय तहको सिफारिस तथा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय र सहमतिबिना कुनै व्यक्ति वा संस्थाले बालबालिकालाई बालगृह वा अस्थायी संरक्षण केन्द्रमा लैजान नपाउने स्पष्ट पारे। बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास र मनोसामाजिक अवस्थालाई समेत समेटेर पुनःस्थापनाको काम अघि बढाइने उनकाे भनाइ छ।

राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआइटिजीएफको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती र सुत्केरीका लागि विशेष सहायता कार्यक्रम सञ्चालन गरिएको छ। मध्यम तथा न्यून जोखिममा रहेका बालबालिकालाई एमआइटिजीएफ, एसओएस चिल्ड्रेन भिलेजलगायत साझेदार संस्थामार्फत संरक्षण तथा स्याहार सेवा दिइनेछ।

परिषद्का सदस्यसचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा पाँच टोलीले गत सातादेखि बाढी प्रभावित क्षेत्रमा बालबालिकाको अवस्था पहिचान, मूल्याङ्कन र दीर्घकालीन स्याहार योजना निर्माण गरिरहेका छन्। यही क्रममा गोल्जुङबेसीकी सुत्केरी र नवजात शिशु उच्च जोखिममा रहेको पहिचान भएपछि पहिलो सहायता प्रदान गरिएको हो।

सरकारका अनुसार साझेदार संस्थामार्फत हालसम्म ८१० बालबालिकाको दीर्घकालीन स्याहारको व्यवस्था मिलाइएको छ। एमआइटिजीएफमार्फत १५०, एसओएस चिल्ड्रेन भिलेजमार्फत ६५० र प्रविना फाउन्डेसनमार्फत १० बालबालिकालाई सहयोग गरिनेछ। मन्त्रालयको बालकोषमा रु ७ करोड रहेको तथा बाढी प्रभावित बालबालिकाको संरक्षण र स्याहारका लागि एमआइटिजीएफ र नेपाल सरकारबीच रु ५८ करोड बराबरको सम्झौता भइसकेको मन्त्री वादीले बताइन् । 

 

 

प्रकाशित मिति : शुक्रबार, मंसिर ११, २०८३ | १३:४८:२६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया