ढोरपाटन उपत्यकामा राष्ट्रिय ग्रिडको विद्युत्, बागलुङको विद्युतीकरण अन्तिम चरणमा
बुर्तिवाङबाट नवी हुँदै छेन्तुङसम्म ११ केभी फिडर सञ्चालन, निसिलढोरमा चालु आर्थिक वर्षभित्र विद्युत् पुर्याउने तयारी
जलसरोकार
काठमाडौं : बागलुङको पश्चिममा अवस्थित पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकासम्म राष्ट्रिय ग्रिडको विद्युत् सेवा विस्तार गरेको हो।
कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौंदीअमराई हुँदै बागलुङको बुर्तिवाङसम्म निर्माण गरिएको १३२ केभी प्रसारण लाइन तथा बुर्तिवाङमा रहेको १३२ केभी सबस्टेसनमार्फत ढोरपाटन क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरिएको हो।
बुर्तिवाङ सबस्टेसनबाट ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी बुर्तिवाङ फिडर बिहीबारदेखि सञ्चालनमा आएको छ। फिडर सञ्चालनसँगै वोवाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा वितरण ट्रान्सफर्मर चार्ज भएका छन्। यससँगै ती क्षेत्रका उपभोक्ताले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् उपभोग गर्न पाउने भएका छन्।
यसअघि उक्त क्षेत्रमा स्थानीय लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् उपयोग हुँदै आएको थियो। राष्ट्रिय ग्रिडको विद्युत् पुगेपछि लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान हुने तथा विद्युत् आपूर्ति गुणस्तरीय, विश्वसनीय र नियमित हुने अपेक्षा गरिएको छ।
राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भएपछि ढोरपाटन उपत्यका तथा आसपासका क्षेत्रका बासिन्दा, पर्यटन व्यवसाय र समग्र सामाजिक-आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने प्राधिकरणले विश्वास लिएको छ।
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले विद्युत् जडान गर्न चाहने उपभोक्ताले जुनसुकै समयमा बुर्तिवाङ नो लाइटमार्फत आवेदन फाराम भरेर सेवा लिन सक्ने बताए।
निसिलढोरमा पनि चालु वर्षभित्र विद्युत् पुर्याइने
बागलुङ जिल्लामा अब निसीखोला गाउँपालिका-५ स्थित निसिलढोरमा मात्र राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुग्न बाँकी छ। उक्त क्षेत्रमा चालु आर्थिक वर्षभित्र विद्युतीकरण गर्न आवश्यक बजेट व्यवस्था भइसकेको वितरण केन्द्र प्रमुख मरासेनीले बताए।
उनका अनुसार अब ठेक्का प्रक्रिया अगाडि बढाएर विद्युतीकरणको काम सुरु गरिनेछ। निसिलढोरमा समेत राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् विस्तार भएपछि बागलुङ जिल्लाका सबै क्षेत्रमा राष्ट्रिय ग्रिडको पहुँच पुग्नेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन उपत्यकामा राष्ट्रिय ग्रिडको विद्युत्, बागलुङको विद्युतीकरण अन्तिम चरणमा
-
तराईमा तापक्रम ३२ डिग्रीसम्म, देशभर मौसमजन्य चेतावनी छैन
-
ऊर्जामन्त्रीको कार्यकाल समिति बनाएरै बित्ने भयो– नौवटा समिति बनाए, माखो मरेन; समिति गठनको क्रम जारी, अब ऊर्जा नीति बनाउन अर्को समिति
-
नेप्से १० अंकभन्दा बढीले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
तनहुँ जलविद्युत् आयोजना : दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान, ५० प्रतिशत काम सकियो
-
ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी गरिएको ऊर्जा मन्त्रालयको दाबी